वैकल्पीक ऊर्जा मार्फत बाढी प्रभावित क्षेत्रमा टेलिकमको सेवा 

थम्मन थापा /बागलुङ । अविरल वर्षासँगै गत भदौ १७ गते राति ढोरपाटन नगरपालिकाको वडा नं ९, ८ र ७ बोबाङ स्थित भुजीखोलामा बाढी आयो । बाढीले अकल्पनीय मानवीय तथा भौतिक क्षति भयो । बाढीले भूजीखोलामा संचालित लघु जलविद्युत गृहहरु बगायो । विद्युत सेवा बन्द भएपछि त्यस क्षेत्रमा मोवाइल सेवा अवरुद्ध भयो ।

सडकमा बाढीले क्षति पुराएको हुँदा तत्काल त्यहाँ मोवाइल सेवा सञ्चालनमा आउन सकेन । ढोरपाटन नगरपालिकाको पहलमा केही दिन पहिले सडक मर्मत पश्चात अहिले सडक सञ्चालनमा आएको छ । सडक सुचारु भएसँगै नेपाल टेलिकमले अवरुद्ध मोवाइल सेवा पुन सञ्चालनमा ल्याएको छ । तत्काल त्यहाँ रहेका लघु जलविद्युत सञ्चालनमा आउने सम्भावना नरहेपछि टेलिकमले वैकल्पीक ऊर्जा सोलार जडान गरी सेवा सुचारु गरेको नेपाल टेलिकम बागलुङका प्रमुख तथा वरिष्ठ इन्जिनयर केशव शर्माले जानकारी दिनुभयो ।

ढोरपाटन नगरपालिका वडा नं ८ बोवाङ बिजौरेमा रहेको टावरमा १३५ वाटको २४ थान सोलार जडान गरेर अवरुद्ध सञ्चार सेवा सञ्चालन गरिएको वरिष्ठ इन्जिनियर शर्माले बताउनुभयो । सेवा सुचारु गर्न नेपाल टेलिकमले पोखराबाट प्राविधिक टिम सहित सोलार सेट व्यवस्थापन गरेको थियो । विद्युत आपूर्ति बन्दहुँदा बाढी प्रभावित क्षेत्रमा सञ्चार सेवाबाट सेवाग्राही वञ्चित भएका थिए । सालझण्डी ढोरपाटन सडकबाट टावरसम्म सामाग्री पु¥याउन स्थानीय बासिन्दा, विपत व्यवस्थापनमा खटिएको नेपाल प्रहरीको टिम र जनप्रतिनिधिले सहजीकरण गरेको ढोरपाटन नगरपालिकाका नगर प्रमुख देव कुमार नेपालीले जानकारी दिनुभयो ।

कोरोना कहर र प्रतिकूल मौसमका बावजुत जनताको सञ्चार सुविधालाई मध्यनजर गर्दै टावर सञ्चालनमा ल्याइएको नेपाल टेलिकम पोखराका इन्जिनियर कुमोद कुमार महतोले बताउनु भयो । बोबाङको विजौरेको टावर अवरुद्ध हुँदा त्यस आसपास र ढोरपाटन नेपानेमा रहेको टावरमा रेडियो लिंक बन्द रहेको थियो । लिंक बन्द हुँदा ढोरपाटन शिकार आरक्ष क्षेत्रमा मोवाइल सेवा अवरुद्ध रहेको नेपाल टेलिकम पोखराका इन्जिनियर शिवप्रसाद पौडेलले जानकारी दिनुभयो ।

टावरमा सोलार जडान गर्न प्राविधिक कटकबहादुर गुरुङ सहितको टिम बोवाङ पुगेको थियो । नेपाल टेलिकमको नमस्ते मोवाइल सेवा अवरुद्ध हुँदा ढोरपाटन नगरपालिकाको वडा नं ८ र ९ का बासिन्दा सञ्चार सेवाबाट वञ्चित हुनुका साथै बाढी प्रभावित क्षेत्रमा उद्धार र राहत वितरणमा समस्या भएको थियो । आज देखि मोवाइल सेवा सञ्चालनमा आए सँगै स्थानीयहरू खुसी भएको ढोरपाटन नगरपालिका वडा नं ९ का वडा अध्यक्ष हरिबहादुर घर्तीले जानकारी दिनुभयो । ढोरपाटन नगरपालिका र नेपाल विद्युत प्राधिकरण बागलुङ वितरण केन्द्रको समन्वयमा यस वर्ष भित्र नगरपालिका भर केन्द्रिय विद्युत पुराउने गृहकार्य भइरहेको ढोरपाटन नगरपालिकाले जनाएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button