राहत नदिए आन्दोलन गर्ने पर्यटन मजदुरको चेतावनी

पोखरा न्यूज । कोरोना संक्रमणकै कारण रोजगारी गुमाएका पर्यटन मजदुरहरुले तत्काल राहत उपलब्ध नगराए सरकार विरुद्ध आन्दोलन गर्ने चेतावनी दिएका छन् ।

पर्यटन सेवा समाज नेपाल र पर्यटन मजदुर संघर्ष समितिले मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन आयोजना गरी त्यस्तो चेतावनी दिएका हुन् । केही दिन भित्रमा पर्यटन मजदुरका लागि राहत उपलब्ध नगराए कडा आन्दोलन गर्ने संघर्ष समितिका संयोजक प्रकाश घायल राईले बताउनुभयो ।

लकडाउनका कारण लामो समय देखि श्रम गर्न नपाउँदा भौकै मर्ने स्थिति आएकाले सरकारसँग सहयोग मागेको तर अहिले सम्म सुनुवाई नभएकाले आन्दोलन गर्नुपर्ने स्थितिमा आफुहरु पुगेको राईले बताउनुभयो । उहाँले तत्काल ‘मजदुर कल्याणकारी कोष’को रकमबाट आफुहरुलाई राहत दिनुपर्ने माग समेत गर्नुभयो ।

धेरैपटक पर्यटन बोर्ड, पर्यटन विभाग र टानसँग आफ्ना समस्या राख्दा समेत सुनुवाई नभएको उहाँले बताउनुभयो । आफुहरुले ५ वर्ष यता मजदुर कल्याणकारी कोषमा जम्मा गर्दै आएको रकम १५ करोड रुपैयाँ पुगेको तर त्यही रकम मजदुरको हितमा खर्च गर्न समेत सरकारी निकायहरुले नमानेको उहाँले बताउनुभयो । आफैले जम्मा गरेको रकम ऋणको रुपमा समेत पाउन नसक्दा मजदुरहरु समस्यामा परेको उहाँको गुनासो छ ।

सरकारबाट लाइसेन्स प्राप्त २५ हजार मजदुरहरु अहिले समस्यामा परेकोले तत्काल राहत दिन माग गर्नुभयो । अबको केही दिन भित्रमा राहत नपाए सबै मजदुर सडकमा उत्रने स्थिति आउने उहाँले बताउनुभयो ।

विपद्को बेलामा भोक लाग्यो भन्दा सरकारी निकायबाट सुनुवाई हुँदैन भने आफुहरु बैचारिक र भौतिक रुपमा आन्दोलनमा उत्रने र त्यसबाट दुर्घटना भए जिम्मेवारी सरकारले लिनुपर्ने राईको भनाई छ । गत वर्षको चैत महिना यता कोभिड १९ रोकथाम तथा नियन्त्रणका लागि सरकारले लकडाउन गर्दा पर्यटन क्षेत्र ठप्प छ । जसका कारण हजारौंको संख्यामा रहेका पर्यटन मजदुरहरुको रोजगारी गुमेको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button