सौराहका होटल तथा रेष्टुरेण्ट संचालनमा ल्याउने तयारी

पोखरा न्यूज । कोरोना संक्रमणका कारण ६ महिनादेखि बन्द रहेका सौराहका होटल तथा रेष्टुरेण्ट संचालनमा ल्याउने तयारी गरिएको छ ।

चितवन जिल्लाको सौराहामा संचालित होटल तथा रेष्टुरेन्ट व्यवसायीले कोरोना संक्रमणको जोखिमलाई न्यूनीकरण गरी होटल सञ्चालन गर्न आन्तरिक तयारी गरेका हुन् । नेपालमा कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि सरकारले चैत ११ गतेदेखि लकडाउन गर्दै आएको थियो ।

केहीदिनयता लकडाउन हटाइएपछि आन्तरिक उडान र बाह्य उडान समेत सूचारु भएका छन् । जसका कारण फेरिपनि पर्यटन क्षेत्र सूचारु हुने तरखरमा छ । चितवनको सौराहा पनि देशको प्रमुख पर्यटकीय गन्तव्य मध्ये एक हो । त्यसैले यहाँका होटल व्यवसायीहरुले कोभिड १९ संक्रमणको स्वास्थ्य सुरक्षा मापदण्ड अपनउदै होटल सञ्चालन गर्ने तयारी गरिरहेका छौ, क्षेत्रीय होटल संघ नेपाल सौराहाका अध्यक्ष दिपक भट्टराईले भन्नभयो ।

लामो समय बन्द भएकाले सरसफाइ र मर्मत गरेर होटल तथा रेष्टुरेन्ट सञ्चालनमा ल्याउन ५-२० लाख रुपैयाँ थप लगानी गर्नुपर्ने अवस्था रहेको अध्यक्ष भट्टराईले बताउनुभयो । तत्काल पर्यटकहरु आउने सम्भावना नभएपनि सबै मापदण्ड पुरा गरेर होटल सुचारु गर्न लागिएको उहाँले बताउनुभयो । चितवनको पर्यटन व्यवसाय पुरानै अवस्थामा फर्कन अझै दुईवर्ष लाग्ने समेत भट्टराईको भनाई छ ।

बाह्य पर्यटक तत्काल आउने सम्भावना नरहेको र चाडपर्व नजिकदै गरेकोले केही आन्तरिक पर्यटक आउने आशमा सौराहाका व्यवसायी रहेका छन् । व्यवसायीलाई सरकारले उपेक्षा गरेको उनीहरुको बुझाई छ । सरकारले पुनरकर्जा दिने बताए पनि त्यसको कार्यान्वयन नहुँदा होटल सञ्चालन गर्न चालु पूँजीको अभाव भएको पनि व्यवासयीहरुले बताए ।
होटल व्यवसायी ध्रुव गिरीले लामो समय बन्द भएका होटलको सरसफाइ गर्ने, मर्मत गर्ने काममा आफूहरु व्यस्त रहेको बताउनुभयो । उहाँले होटल सूचारु गर्नका लागि कर्मचारीहरुलाई १५/१५ दिन गरी मासिक दुई सिफ्टमा काम लगाउने योजना बनाएको समेत बताउनुभयो ।

यस अघि चितवनको सौराहामा करिब २ सयको संख्यामा होटल तथा रेष्टुरेन्टहरु संचालित थिए । त्यस्तै ५ हजार ५ सय जनाले प्रत्यक्ष रोजगारी पाएका थिए । सौराहा क्षेत्रका होटल तथा रेष्टुरेन्टहरु पूर्ण रुपमा पर्यटनमा आधारित छन् । कोभिडका कारण तत्काल बाह्य पर्यटक आउन सक्ने सम्भावना छैन, आन्तरिक पर्यटक आउने झिनो आशाले होटल तथा रेष्टुरेन्ट सूचारु गर्न लागिएको व्यवसायी बताउँछन् ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button