भर्चुअल माध्यमबाट ट्राफिक सचेतना सम्बन्धि कार्यक्रम

पोखरा । विश्वव्यापी महामारीका रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड-१९) को महामारी रोकथामका लागि बन्दाबन्दी खुकुलो भएसँगै गण्डकी प्रदेश ट्राफिक प्रहरी कार्यालय गगनगौडाले ट्राफिक सचेतना सम्बन्धि भर्चुअल माध्यमबाट कार्यक्रम सञ्चालन गरेको छ ।

सवारी दुर्घटनाको जोखिमलाई मध्यनजर गरी शुरु गरिएको ट्राफिक सचेतनामूलक कार्यक्रम कास्की जिल्लाका चार वटा विद्यालयमा सम्पन्न भएको गण्डकी प्रदेश ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीले बताउनुभयो ।

यही असोज दुई गतेदेखि सञ्चालन भएको भर्चुअल माध्यमबाट ट्राफिक सचेतना सम्बन्धी कार्यक्रममा पोखरा महानगरपालिका– ७ मासवारस्थित मदरल्याणड उच्च मावि, पोखरा –१७ स्थित शिशुु निकेतन उच्च मावि, पोखरा –२७ स्थित त्रिवेणी पब्लिक उच्च मावि र पोखरा–१४ चाउथेस्थित कास्की मोर्डनाईज्ड एकेडेमीका कक्षा १० र १२ मा अध्यनरत ४७२ विद्यार्थीलाई सडक अनुशासन, सवारी दुर्घटना न्यूनीकरण, स्कटुर तथा मोटर साइकलजस्ता साना सवारी चलाउँदा ध्यान दिनुपर्ने कुराहरु, विद्यमान मुख्य-मुख्य ऐन नियमहरु र कोरोना भाइरसबाट बच्नका लागि अपनाउनु पर्ने स्वास्थ्य सुरक्षा मापदण्डलगायत विषयमा प्रशिक्षण दिएको उहाँले जानकारी दिनुभयो ।

आगामी दिनहरुमा पनि अन्य विद्यालयहरुमा प्रशिक्षण कार्यलाई निरन्तरता दिइने उहाँले बताउनुभयो । विशेष गरेर दुई पाङ्ग्रे सवारी साधनहरूले ट्राफिक नियम उल्लंघन गरी लापरबाहीपूर्ण तरिकाले सवारी चलाउने हुँदा त्यस्ता साधनलाई लक्षित गरेर सचेतनामूलक कार्यक्रम सञ्चालनमा आएको बताइएको छ । गण्डकी प्रदेश ट्राफिक प्रहरी कार्यालय कार्यालयका प्रमुख प्रहरी उपरीक्षक प्रभुप्रसाद ढकाल र प्रहरी नायव उपरीक्षक टेक बहादुर कार्कीले प्रशिक्षण दिनुभएको थियो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button