पर्वत–बागलुङ सडक अवरुद्ध

पर्वत।पर्वत भारी वर्षा भैरहेका कारण मध्यपहाडी लोकमार्गको पर्वत– बागलुङ सडक पुनः अवरुद्ध भएको छ । पर्वतको कुस्मा नगरपालिका– १ सहस्रधारामा निरन्तर पहिरो झर्ने क्रम नरोकिएपछि दैनिक सडक अवरुद्ध हुँदै आएको छ ।

गत मङ्गलबार रातिदेखि अवरुद्ध भएको सडक बुधबार दिउँसो ४ बजेपछि एकतर्फी चलेपनि रातिदेखि पुनः अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी निरिक्षक बुद्धिप्रसाद सुवेदीले जानकारी दिनुभयो । वर्षा नरोकिएकाले पहिरो खुलाउन सकिएको छैन ।

सामान्य वर्षा हुने वित्तिकै पहिरो ठूलो भएकाले ढुङ्गा र लेदो बगेर आउँछ । वर्षा हुँदा स्काभेटर प्रयोग गरेर हटाउन समेत कठिन भएकाले २० घण्टादेखि बाटो अवरुद्ध बनिरहेको उहाँले बताउनुभयो । पाङ जोड्न सहस्रधारा – पाङ सडक निर्माण गरिएपछि सहस्रधाराका विभिन्न ठाउँमा पहिरो खसेको छ । सडक अवरुद्ध हुँदा यातायातका साधन घण्टौ रोकिने गरेका छन । अहिले लामो दुरीका सवारी साधन खुलेपछि यात्रुको चाप बढेपनि अवरुद्ध हुँदा त्यसले यातयात ब्यवसायी र यात्रु प्रभावित हुन पुगेका छन ।

सडक खुलाउन स्काभेटर तयारी अवस्थामा छ । दैनिक चारपाँच घण्टा स्काभेटर चलाएर सडक खुलाउँदा सडक निर्माणको जिम्मा लिएको लामा कन्ट्रक्सनले पनि थप आर्थिक भार बेहोर्न बाध्य छ । लामा कन्ट्रक्सनका प्रोजेक्ट म्यानेजर गोविन्द भुसालका अनुसार डोजर परिचालनमा दैनिक पाँच हजार खर्च भैरहेको छ भने सडकमा खाल्डाखुल्डी पुर्ने काम पनि गर्न कठिन भएको छ । भएका स्काभेटर त्यही पहिरो हटाउन प्रयोग हुँदा अन्य काम पनि प्रभावित हुँदै आएको भुसाल बताउनुहुन्छ । मुख्य राजमार्गबाट जथाभावी रुपमा शाखा सडकहरु निर्माण हुँदा जताततै राजमार्ग ध्वस्त बनाउने काम भएको मध्यपहाडी लोकमार्ग आयोजना कार्यालय पर्वतका प्रमुख आशिष थापा मगर बताउनुहुन्छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button