अर्घौ अर्चलेमा २ करोडको लगानीमा ‘थुम्को रिसोर्ट’ सञ्चालनमा आउँदै

पोखरा । कवि शिरोमणि लेखनाथ पौड्यालको जन्मथलो अर्घौ अर्चले सुन्दरताले भरिएको ठाउँ हो । पोखरा महानगरपालिका वडा नम्बर २७ मा पर्ने यो ठाउँबाट रमणीय दृष्य नियाल्न पाइन्छ ।

सोही ठाउँबाट देखिने प्राकृतिक छटालाई स्पर्श गर्दै कवि शिरोमणिले धेरै सिर्जना गर्नुभएको छ । सुन्दर ठाउँ भएपनि त्यहाँ नबसी शहर झर्ने एक समय लहड आयो । सो लहडका कारण गाउँनै रित्तिन थाल्यो । युवाहरु शहरतिर झरे । कोही विदेशतिर हानिए । यसरी गाउँ छोडेर शहर झर्नेको भीडमा लेखनाथ अर्चलेका प्रकाश रानाभाट समेत हुनुहुन्थ्यो । शहर बसाईमा खर्च धान्न सानो किराना व्यवसाय गर्न उहाँले थाल्नुभयो ।

गाउँ रित्तिने क्रम बढ्दै गएको र गाउँको जमीन बाझो देख्दा प्रकाशको मन कुडियो । शहरमा बसेर हैन अब गाउँमानै फर्केर केही गर्नुपर्छ भन्ने सोँच पलायो । अनि रेष्टुरेन्ट सञ्चालन गर्ने निर्णयमा पुग्नुभयो । विस्तारै ठाउँको महत्वको बारेमा बुझ्दै गएपछि उहाँलाई रेष्टुरेन्ट मात्र नभएर रिसोर्ट नै सञ्चालन गर्ने जोश बढ्यो । निर्माण कार्य शुरु भयो । अहिले रिसोर्ट निर्माणको काम पुराभई सञ्चालनको अवस्थामा पुगेको छ । सञ्चालक रानाभाटले अर्चलेको थुम्कोमा रहेकोे कारण रिसोर्टको नाम नै ‘थुम्को रिसोर्ट’ राख्नु भएको छ ।

‘गएको मंसिरबाट काम सुरु भएको थियो । बाटो खन्ने सम्याउने काम हुँदै रुख झाडी हटाउदै रिसोर्टको लागि उपयुक्त जग्गा तयार पारियो’ उहाँले भन्नुभयो । पुरानो संस्करणको गोलो घरको कन्सेप्टलाई अत्याधुनिक तवरले निर्माण गरेर दुई तलामा बस्न र माथिल्लो तल्लामा भ्यु हेर्नका लागि निर्माण गरिएको छ । ग्राहकहरुका लागि बसेर खानका लागि खरका कटेजहरु बन्दै छन् । यहाँ पुग्ने ग्राहकले पुरानो ग्रामिण परिवशेलाई पुनः महशुस गर्न पाउनेछन् ।

रिसोर्ट निर्माणमा कोरोना महामारीका कारण केही प्रभाव प¥यो । सोही कारण रिसोर्टको कामलाई पहिलो, दोश्रो, तेश्रो र अन्तिम चरणमा विभाजन गरेर गरिएको सञ्चालक रानाभाटको भनाई छ । रानाभाटले आफ्नै पूख्र्यौली सम्पत्तिमा रिसोर्ट बनाउनु भएको हो । रिसोर्टमा उहाँका एकल लगानी रहेको छ । करिब ७ रोपनी क्षेत्रफलमा फैलिएको रिसोर्टको प्रारम्भिक लगानी झण्डै २ करोड रुपैयाँ रहेको संचालक रानाभाटले बताउनुभयो ।

‘पहिलो चरणको निर्माणको करिब ६० प्रतिशत काम सम्पन्न भैसकेको छ, बाँकी काम धमाधम भैरहेको छ, अंग्रेजÞी नयाँ वर्ष अगावै ग्राहकलाई सेवा दिने सोच बनाएका छौँ’संचालक रानाभाटले भन्नुभयो ।हाल २ वटा स्विट रुम तथा गुप्रमा ५० जना सम्मको लागि क्याम्पिङ टेन्ट रहनेछ । निर्माणको क्रममा रहेको हुनाले शुल्क निर्धारण भइसकेको छैन । तर सर्वसुलभ मूल्यमा सेवा उपलब्ध गराइ ग्राहकको सेवामा सर्मपित बन्ने रानाभाटको भनाई छ ।

रिसोर्टबाट अन्नपूर्ण हिमश्रृङ्खला अन्तर्गत माछापुच्छ्रे, अन्नपूर्ण, धौलागिरि, मर्दी हिमालको सुन्दर दृष्य नियाल्न पाइन्छ । पोखरा उपत्यका अन्तर्गत, पोखरा बजार, पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल, फेवा ताल, वेगनासताल, खास्टे तथा न्यूरेनी ताल, सराङ्कोट, काँहु, रुपाकोट, पुम्दीभुम्दी, कास्कीको चर्चित ठुलाकोट सहित भरतपोखरी डाँडा नियाल्न सकिन्छ ।

झण्डै ४० वर्षको उमेर पुगेका प्रकाशलाई गाउँमानै केही गर्नुपर्छ भन्ने हुटहुटी बढ्दा रिसोर्ट तर्फ आर्कषित गराएको हो । रानाभाट भन्नुहुन्छ –‘गाँउका प्रायः मानिस बजारमा छन्, हाम्रो उपल्लो भेग लगभग शुन्य जस्तै थियो । विकासका कारण होस् या पूर्वाधारका कारण, राजमार्गबाट नजिकै हुँदाहुदै अर्चले विकट जस्तो देखिन्थ्यो । लेखनाथ जन्मेको ठाउँकै नामबाट यस अगाडि नगरपालिकाको नाम राखियो, धेरै योजना आयोजना बनाइए, त्यसको लागि संघसंस्था खुले, तर कविको जन्मघरमा जानेबाटो अझै राम्रो छैन । कविको घर सम्झेर जांदा बाटोको दुखले बीचमै फर्किने चलन छ ।’

अब यो रिसोर्टको स्थापनाले उक्त गन्तब्यसम्म पुगेर फर्किने हरुका लागी विश्राम गर्ने स्थल, पोखरा अवलोकन गर्ने मौका दुवै एकै साथ दिनेछ । यसले कवि शिरोमणिको जन्म ठाउँलाई प्रचार प्रसार गर्न सघाउने उहाँको विश्वास छ । रिसोर्टले कविको जन्मस्थलको प्रर्वद्धन गर्नको लागि विभिन्न स्किम ल्याउने उहाँले बताउनुभयो । पछिल्लो समयमा घुम्ने संस्कारको विकास हुँदै गएको र अधिकांशको रोजाई ग्रामिण परिवेश र सुन्दर प्राकृतिक छटा नियाल्ने तर्फ हुने हुँदा उनीहरुको रोजाईमा रिसोर्ट पर्ने सञ्चाललको विश्वास छ ।

पोखराको मुख्य बजारबाट नजिकको दुरीमा रहेको यो ठाउँको प्रचार प्रसार गर्न सक्ने हो भने पर्यटकको मन जित्ने अर्घौ अर्चलेका स्थानीय सचिन रानाभाटको विश्वास छ । ‘यो ठाउँको प्रचार प्रसार गर्न, यहाँ आउनुभएका अतिथिको स्वागत सत्कार गर्ने ठाउँको रुपमा अब रिसोर्टलाई प्रयोग गर्न पाएपछि पक्कै थुम्की रिसोर्ट मात्र नभएर समग्र रुपमा कवि शिरोमणिको जन्मथलोको प्रचारमा सघाउने छ’ उहाँले भन्नुभयो । आफ्नै ठाउँमा फर्किएर प्रकाश रानाभाट व्यवसायिक क्षेत्रमा अगाडि बढ्नु अरुको लागि प्रेरणाको श्रोत हुनसक्ने सञ्चारकर्मी समेत रहनुभएका रानाभाट बताउनुहुन्छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button