पोखरामा उत्पादित प्राङ्गारिक मलले बजार पाएन, रासायनिक मलको पछाडि दौडिँदै किसान

पोखरा न्यूज । कोरोनाका कारण सिर्जना भएको लकडाउनका कारण पोखरा लगायत देशैभर रासायनिक मलको अभाव रहेको छ । सरकारले टेन्डर प्रकृयाबाट मल खरिद गरेको भए पनि लकडाउनका कारण समयमा यथेष्ट मात्रामा मल आयात हुन नसक्दा रासायनिक मलको अभाव भएको हो ।

यतिबेला रासायनिक मल बिक्री गर्ने सहकारीमा किसानको लाइन रहेको छ भने किसान रासायनिक मलको खोजीमा भौतारिरहेका छन् । तर टनका टन स्टक रहेको नेपालमै उत्पादित प्राङ्गारिक मल तर्फ भने किसान तथा सरकार दुबैको ध्यान गएको छैन । ‘फोहोरलाई मोहर’मा परिणत गर्ने उद्देश्यका साथ पोखरा ३२ मा स्थापना भएको गण्डकी ऊर्जा प्रालिले पर्याप्त मात्रामा बायोग्यास र प्राङगारिक मल उत्पादन गरेपनि बजार अभावको समस्या भोगिरहेको छ ।

झण्डै एक वर्ष अघिदेखि महानगर भित्र र अन्य क्षेत्रबाट कुहिने फोहोर ल्याएर मल र बायोग्याँस उत्पादन गरिरहेको कम्पनीले उत्पादित मल र बायोग्याँस बिक्री नहुँदा सबै स्टकमा थुप्रिएको कम्पनी सञ्चालक कुशल गुरुङले बताउनुभयो । उहाँले मूल्य, वातावरण तथा स्वास्थ्यका दृष्टिले प्राङ्गारिक मलको प्रयोग लाभदायी हुँदा हुँदै सरकारले स्थानीय स्तरमा उत्पादित मललाई प्रथामिकता दिन नसक्दा प्राङ्गारिक मल उत्पादक स्थानीय उद्योग समस्यामा परेको भन्दै गुनासो व्यक्त गर्नुभयो ।

कम्पनीले निरन्तर खेर गएको फोहोरलाई प्रयोग गरि अग्र्यानिक मल उत्पादन गर्दै आइरहेको छ । दैनिक ४५ टन फोहोरलाई प्रशोधन गरि दिनको ५ देखि ७ टनसम्म उत्पादन गर्ने क्षमता भएको कम्पनीको दाबी छ । अग्र्यानिक फार्मका कृषकहरु र अनुदानमा टनेल खेति गर्ने कृषक नै यस कम्पनीका ग्राहक हुन । कास्कीमा अहिले ३ वटा प्राङग्रारिक मल उत्पादन गर्ने कम्पनी रहेका छन् । गण्डकी प्रदेश सरकारले प्रत्येक प्रदेशको निर्वाचन क्षेत्रमा मुख्यमन्त्री नमुना वातावरण मैत्री गाउँलाई पुर्ण प्राङग्रारिक गाउँ बनाउने लक्ष्य लिएको छ ।

यता पोखरामा लामो समय देखि एग्रो पसल संचालन गर्दै आउनुभएका खगेश्वर पन्तले सरकारले उचित व्यवस्थापन र सम्बोधन गर्न नसक्दा नै किसान रासायनिक मलको पछाडि दौडिएको बताउनुहुन्छ । पोखराको सभागृह चोकमा विगत १२ वर्षदेखि हराभरा एग्रो कन्सर्न संचालन गर्दै आउनुभएका उहाँले केहि घरायसी प्रयोग गर्ने स-साना किसान तथा अग्र्यानिक फार्मका कृषकहरुले प्राङ्गारिक मल खरिद गर्ने गरेको भएपनि अधिकांश व्यवसायिक कृषकहरुले रासायनिक मलको पछाडि दौडिरहेको बताउनुभयो ।

“सरकारले अग्र्यानिक फार्मका कृषकहरुले उत्पादन गरेको कृषि उत्पादनको छुट्टै मूल्य निर्धारण गरेर कृषकलाई उत्प्रेरित गर्ने र उपभोक्तालाई सचेत बनाउने खालका कुनै पनि कार्य गर्न नसकेका कारण अग्र्यानिक कृषक, मल तथा जैविक पदार्थ उत्पादक समेत  मारमा परेका छन्,” उहाँले  पोखरा न्यूजसँग  भन्नुभयो ।  रासायनिक मल तथा विषादीको प्रयोग गरेर गरिने उत्पादन र प्राङ्गारिक मल र जैविक पदार्थको प्रयोग गरेर गरिने उत्पादनको फरक मूल्य कायम गर्न सकेको खण्डमा प्राङ्गारिक मल र जैविक पदार्थ उत्पादन गर्ने उद्योग व्यवसायी, अग्र्यानिक कृषि उत्पादक कृषक लाई फाइदा पुग्ने, उपभोक्ता स्वास्थ रहने तथा नेपाली पैसा समेत बिदेशिनबाट समेत जोगिने उहाँको भनाई छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button