पोखरेली रंगमञ्च पुनः जगाउने तयारी

पोखरा । कोरोना महामारीका कारण थला परेको पोखरेली रंगमञ्लाई पुनः जगाउन तयारी थालिएको छ । यसको लागि रंगकर्मी सरकारको निर्णय कुरेर बसेका छन् ।

सरकारले नाट्य गतिविधि गर्न दिनेबित्तिकै काम गर्दै दर्शकको नाटकप्रतिको तिर्खा मेटाउन रंगकर्मी तयारी अवस्थामा बसेका छन् । वरिष्ठ रंगकर्मी प्रकाश घिमिरे वातावरण खुकुलो बन्ने हो भने पोखरेली रंगमञ्चलाई कोरोना कहर अगाडिकै अवस्था फर्काउन सकिने बताउनुहुन्छ । ‘पोखराको रंगक्षेत्रलाई कोरोनाले तहसनहस पा¥यो, अब विस्तारै सहज अवस्था हुने आशा जागेको छ, नाट्यकर्मी नाट्य कर्मको एक्सिलेटर दबाउन तयार अवस्थामा छन्’ पोखरा न्युजसँग कुरा गर्दै घिमिरेले भन्नुभयो ।

पोखरा थिएटरका अध्यक्ष परिवर्तन पोखराको रंगमञ्चलाई पुनः जगाउन सरकारको निर्णय कुरेर बसिरहेको बताउनुहुन्छ । ‘सरकारको निर्णय कुरेर बसिरहेका छौ, साथमा भर्चुअल अभिनय तथा निर्देशन सम्बन्धी कक्षा पनि संचालन गरिरहेका छौ’ उहाँले भन्नुभयो ।

कोरोनाले बन्द भएको नाटक घरको चापी कसरी खोल्न सकिएला भन्ने बारेमा बिभिन्न विकल्पहरूमा छलफल तथा योजना निर्माणको काम भहिरहेको पोखरा थिएटरको क्रियटिभ डाइरेक्टर समेत रहनुभएका परिवर्तनले भन्नुभयो । ‘तत्काल केहि गरिहाल्ने परिस्थिति निर्माण त भैसकेको छैन, तर पनि सकभर छिटो पुराना दिनहरुमा फर्कन प्रयास भने गरिरहेका छौ, छठ पर्व लगतै केहि गर्ने कि भनेर सोचिरहेका छौ’ पोखरा न्युजसँग कुरा गर्दै उहाँले भन्नुभयो ।

उहाँ भन्नुहुन्छ–‘अहिलेको परिस्थिति अरु बेलाको जस्तो सहज छैन । यो विश्वव्यापी महामारी हो । यस्तो परिस्थितिबाट बाहिर आउन कुनै एक पक्षको प्रयासले मात्र संभव छैन । सामूहिक प्रयासको खाँचो छ । राज्य, रंगकर्मी र रंगप्रेमी एक जुट भएर लाग्ने हो भने छिट्टै नै हामीले केहि गर्न सक्छौ ।’

सँधै अभावमा बाच्न सिकेका थिएटर कर्मीहरू कोरोनाको महामारीमा अभावको अर्को परकाष्टा भोग्दै जीवन अगाडि बढाइरहेका छन् । केही कलाकारहरु भने सर्ट मुभी, म्युजिक भिडियो लगायतमा व्यस्त हुँदै क्रियाशील हुने प्रयास गरिरहेका छन् ।

कलाकार प्रमिला तुलाचन रगंमञ्चलाई क्रियाशील बनाउन तयारी थाल्न लागिएको बताउनुहुन्छ । ‘तिहार पछाडि १०, १५ जनाको टिम बनाएर सिमितले नाटक मञ्चन गर्ने तयारी गरेका छौँ । विस्तारै अगाडि बढ्नेबारे छलफल भइरहेको छ । कोरोनाको कारण कती कलाकार डिप्रेसनमा गइसके । केही सर्ट मुभी खेलेर व्यस्त भए त्यसैले अब सक्रिय बन्नुपर्ने भएको छ’ पोखरा न्यूजसँग तुलाचनले भन्नुभयो ।

सीमित व्यक्ति सम्लग्न भएर नाटक तयार पार्ने र माहोल कस्तो हुन्छ त्यसलाई हेरेर नाटक मञ्चन गर्ने सोच आफुहरुको रहेको उहाँको भनाई छ । उहाँ भन्नुहुन्छ–‘पहिला नाटक तयार पार्ने । माहोल कस्तो हुन्छ सीमितलाई बोलाएर नाटक देखाउने की भन्ने छ । कोरोना कहर अगाडि पोखराको रंगमञ्च साह्रै राम्रो थियो । नाटक निरन्तर देखाइरहेका थियौँ । भविष्य राम्रो हुन्छ भन्ने लागेको थियो । पुराना कलाकार रंगमञ्चमा फर्किएका थियौँ, नयाँको पनि भविष्य सुमधुर बन्दै थियो ।’

अहिले के गर्ने कसो गर्ने भन्ने चिन्ता थपेपनि कालान्तरमा पोखराको रंगमञ्च फेरि अगाडि बढ्नेमा उहाँको विश्वास छ । अहिले आफुहरू चुनौतीबाट गुज्रिएको पोखरा थिएटरका सञ्चालक मध्येका एक दिलप्रसाद गुरुङले भन्नुभयो । ‘हामी चुनौतिको पहाडमा छौ । पहिलो चुनौति भनेको यो अवस्था कहिलसम्म यस्तै रहने हो । दोस्रो आर्थिक हिसाबले हामी अत्यन्तै बिकराल अवस्थामा पुगेका छौ । तेस्रो, एउटा उत्साह र उमंग लिएर रंगकर्म गरिरहेका रंगकर्मीहरुको पलायन । चौथो राज्यको उदासीनता छ’ गुरुङले भन्नुभयो ।

पुरानै अवस्थामा फर्कने आशा जीवितै भएपनि यति नै समयमा फर्कला भनेर अनुमान लगाउन भने कठिन भएको उहाँको भनाई छ ।कलाकार नवराज गिरी कोरोना महामारीको अवस्था नियन्त्रणमा नआउँदासम्म रंगमञ्चलाई पुरानै अवस्थामा फर्काउन सजिलो नहुने बताउनुहुन्छ । ‘कोरोना साम्य नभएसम्म पहिलाकै अवस्थामा फर्काउन गाह्रो छ, हामीले नाटक तयार गरेपनि दर्शकको आगमन हुने अवस्था हुँदैन, भर्खरै बामे सर्दै गरेको पोखराको पोखरा थिएटर र कलाकारलाई अप्ठ्यारो महशुस भइरहेको छ’ पोखरा न्यूजसँग कुरा गर्दै कलाकार गिरीले भन्नुभयो ।

हाम्रो लागि दर्शक आवश्यक पर्नुहुन्छ । अहिले दर्शक जम्मा हुने अवस्था बनिसकेको छैन । कोरोनाको समयमा आफू सर्ट मुभी र म्युजिक भिडियोमा व्यस्त भएको बताउने गिरी नाटक नै तयार गरेर पहिला कै माहोल बनाउन तुरुन्तै गाह्रो हुने बताउनुहुन्छ । पोखरामा पोखरा थिएटर सञ्चालनमा आएपछि रंगमञ्चप्रतिको माहोल बढ्दै गएको थियो । नियमित रूपमा नाटक मञ्चन मात्र नभएर अभिनय सिक्ने, सिकाउने क्रम सुरु हुँदा माहोल बढ्दै थियो ।

दुई बर्षको अवधिमा मात्र पोखरा थिएटरमा ४८ वटा नाटक मञ्चन भए । विभिन्न रंगकर्मी, नाट्य क्षेत्रका संस्थाको क्रियाशिलताले पोखराको रंगमञ्च कोरोना कहर अगाडि जागेको थियो । कोरोनाको कारण शिथिल बनेको रंगमञ्चलाई व्युँताउन रंगकर्मी र नाट्य संस्था क्रियाशिल बन्न खोजिरहेका छन् । यसले पोखरेली रंगमञ्चको भविष्य सुखद हुने आशा थपेको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button