यस्तो छ ४५ करोड लागतमा पोखरामा बन्दै गरेको नेपालकै ठुलो फन पार्क

प्रभु अधिकारी, पोखरा न्यूज । पोखरामा नेपाली नयाँ वर्षको शुरुबाट संचालन हुने गरी फिस्टेल ड्रिम पार्क सञ्चालनमा आउने भएको छ । आयु इन्टरटेन्मेन्टस प्रालिले पोखरा १७ सीतापाइला ( महतगौंडा ) नजिकै ६५ रोपनी क्षेत्रफलमा ४५ करोडको लागतमा ड्रिम पार्क सञ्चालनमा ल्याउन लागेको हो ।

नयाँ वर्ष २०७८ को बैशाखमा पूर्ण रुपमा सञ्चालन हुने गरी पार्क निर्माणको कार्यलाई तिब्रता दिइएको प्रालिका निर्देशक भरत गौतमले जानकारी दिनुभयो। पार्कमा हाल मेजर स्टक्चरको ७० प्रतिशत निर्माण कार्य सम्पन्न भएको बताउदै उहाँले कोरोना प्रभावका कारण काममा ढिलाई भएकोले छिटोमा आगामी चैत्र महिना र ढिलोमा आगामी बैशाखमा पार्क संचालनमा ल्याइने बताउनुभयो ।

बच्चादेखि बृद्ध सम्म सबैलाई समेट्ने गरी पार्क भित्र इभेन्टहरु संचालन गर्न लागिएको उल्लेख गर्दै निर्देशक गौतमले पार्क भित्र २० रोपनी क्षेत्रफलमा वाटर पार्क, ३० रोपनी क्षेत्रफलमा ड्राई पार्क तथा बाँकी १५ रोपनी क्षेत्रफलमा इन्डोर गेम, रेष्टुरेन्ट तथा पार्कमा पुग्नेहरुका लागि पार्किङ निर्माणका कार्यहरु भैरहेको जानकारी दिनुभयो।

वाटर पार्कभित्र ६ देखि ७ वटा इभेन्ट रहने र त्यसमा १ सय ५० देखि २ सय जना सम्म एकैपटक खेल्न मिल्ने ०.४ मिटर गहिराइको बच्चाको पुल, लेजी रिभर, ३ सय जना एकैपटक खेल्न मिल्ने सामुन्द्रिक छालको झल्को दिने खालको वेभ पुल, सोफा टाइपको स्लाइड पुल, फेमिली स्लाइड पुल, भुमरी युक्त टोर्नाडो पुल आदिको निर्माण कार्य जारी रहेको निर्देशक गौतमले बताउनुभयो ।

गौतमले ड्राई पार्क भित्र नेपालकै पहिलो तीब्र गतियुक्त फेमिली रोलर कोस्टर, २० मिटर अग्लो फ्रिफल टावर तथा इन्डोर गेममा १ सय ५० देखि २ सय बच्चा एकैपटक खेल्न मिल्ने सेटको कक्ष, स्केटिङ कक्ष लगायतका संरचना तयार भैरहेको जनाउनुभयो । उहाँले पार्कमा स्कुलका बच्चा देखि सबैलाई समेट्ने गरी ३० देखि ३५ सिट क्षमताको ३ डि सिनेमा घर तथा सुविधा सम्पन्न रेष्टुरेन्ट बनाइँदै गरेको जानकारी दिनुभयो । पार्कमा प्रशस्त पार्किङ, गार्डेन, एटिएम बुथ आदि रहनेछन् ।

गण्डकी प्रदेशमा चर्चित मानिने ढुंगेसाँघु मेला लाग्ने ठाउँ नजिकै निर्माणाधीन ड्रिमपार्कमा १५ जना युवा व्यवसायीको लगानी रहेको छ । पर्यटकलाइ एकदिनभर लाई पुग्ने खालका गतिविधि संचालन रहने ड्रिमपार्कमा स्थानीय ५० प्रतिशत र बाह्य ५० प्रतिशत पर्यटक भित्रिने अपेक्षा कम्पनिले लिएको छ । फिस्टेल ड्रिम पार्क फनपार्कमा हुनुपर्ने सम्पूर्ण गतिविधि समेटिएको नेपालकै सबैभन्दा ठुलो र सुबिधासम्पन्न पार्क हुने दावी कम्पनीको रहेको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button