रानीपोखरीको बालगोपालेश्वर मन्दिरमा गजुर प्रतिस्थापन

पोखरा न्यूज । काठमाण्डौ स्थित रानीपोखरीको बीचमा रहेको बालगोपालेश्वर मन्दिरमा आज (बिहीबार) गजुर प्रतिस्थापन गरिएको छ ।

२०७२ सालको भूकम्पमा क्षतिग्रस्त भएको बालगोपालेश्वर मन्दिरको पुननिर्माणको काम अन्तिम चरणमा पुगेपछि बिहीबार सुनको लेपन भएको गजुर राखिएको छ । यस अघि गुम्बज शैलीमा निर्माण गरिएको बालगोपालेश्वरको मन्दिर विज्ञहरुको प्रतिवेदन अनुसार प्रताप मल्लको पालामा बनाइको ग्रन्थकुट (शिखर) शैलीमा पूननिर्माण गरिएको छ । १८९० को भूकम्पमा मन्दिरमा क्षति भएपछि गुम्बज शैलीमा पुननिर्माण गरिएको थियो । तर यसपटक फेरी पुरानै शैलीमा पूननिर्माण गरिएको हो । मन्दिरको शिरमा रहेको गजुरको कुल उचाई ६ फुट १० इन्च रहेको छ ।

ताम्रपत्रमा सुनको लेपन लगाएर गजुरको निर्माण गरिएको हो । राष्ट्रिय पुननिर्माण प्राधिकरणका सहसचिव भरत प्रसाद आर्यालले मन्दिरमा राखिएका सबै गजुरमा करिब २८ तोला सुनको जलप लगाइएको बताउनुभयो । मन्दिरको गजुर १ सय २३ दशमलव ७५ किलो ग्राम ताम्रपत्र प्रयोग गरिर निर्माण गरिएको छ । मुख्य गजुरमा मात्रै २५.७३ तोला सुनको प्रयोग भएको छ । गजुर निर्माणमा करिब ३३ लाख रुपैयाँ खर्च भएको उहाँले बताउनुभयो ।

२०७२ साल माघ ३ गते राष्ट्रपति विद्यादेवी भण्डारीले रानीपोखरी पुननिर्माणको शिलान्यास गर्नुभएपछि पुननिर्माणको काम सुरु भएको थियो । तर बीचमा आधुनिक शैलीबाट बनाउन लागिएको भन्दै सर्वत्र विरोध भएपछि पुनः पुरानै शैलीबाट निर्माण गरिएको हो । त्यसैले शिलान्यास भएको करिब ५ वर्षपछि मात्रै रानीपोखरी पुननिर्माणको काम सकिने चरणमा छ । प्राधिकरणका सहसचिव अर्यालले यसपटकको भाइटिकाको दिन मन्दिर खुला गर्नेगरी पुननिर्माणका सबै प्रक्रियालाई सम्पन्न गर्ने योजना अनुसार काम भइरहेको बताउनुभयो । अव मन्दिर भित्र रहने मूर्तिहरुको प्राण प्रतिष्ठान गरि प्रतिस्थापन गरेपछि औपचारिक रुपमा उद्घाटन गरिने पनि उहाँले बताउनुभयो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button