बागलुङका बाढी प्रभावितका लागि डेढ करोड जुट्यो राहत

बागलुङ । ढोरपाटनका बाढी प्रभावितको राहतका लागि खडा गरिएको कोषमा हालसम्म एक करोड ६५ लाख सहयोग जुटेको छ । राहत वितरणमा एकद्वार प्रणाली कायम गर्न ढोरपाटन नगरपालिकाले कोष स्थापना गरेको थियो ।

कोषको रकम बाढीले उठिबास भएका परिवारको घर पुनःनिर्माणमा खर्च गर्ने नगरपालिकाको योजना छ । सहयोग आउने क्रम जारी नै रहेको नगरप्रमुख देवकुमार नेपालीले बताउनुभयो । “राहत कोषमा जम्मा भएको रकमले दाताकै नाममा घर बनाइदिन्छौँ”, उहाँले भन्नुभयो, “सङ्घ र प्रदेश सरकारबाट पनि सहयोगको प्रतिबद्धता आएको छ, अपुग भएमा नगरपालिकाले बजेट थप्छ ।”

उहाँका अनुसार अहिलेसम्म सबैभन्दा बढी गलकोट समाज जापानमार्फ २७ लाख ८० हजार सहयोग प्राप्त भएको छ । यस्तै सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बागलुङले पनि १९ लाखबढी राहत रकम प्रदान गरेको थियो ।

बिहीबार मात्र प्रभु बैङ्कले पाँच लाख सहयोग गरेको नगरपालिकाले जनाएको छ । बैङ्कका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले नगरप्रमुख नेपालीलाई पाँच लाखको चेक हस्तान्तरण गर्नुभएको थियो । बाढी प्रभावित परिवारको पुनःस्थापनाका लागि देश–विदेशमा राहत अभियान चलाइएको छ । कतिपय व्यक्ति, संस्थाले नगरपालिकाको कोषमा जम्मा नगरी बाढीग्रस्त ठाउँमै पुगेर राहत बाँडिरहेका छन् ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button