टेनिस खेललाई व्यवसायिक बनाउन राखेप सदस्य श्रेष्ठको आग्रह

पोखरा न्यूज। कास्की जिल्ला टेनिस संघको छैटौ साधारण सभामा वोल्दै राष्ट्रिय खेलकुद परिषद (राखेप)का सदस्य सम्पन्न श्रेष्ठले टेनिस खेललाई व्यवसायिक बनाउन आग्रह गर्नु भएको छ ।

सो अवसरमा वोल्दै राखेप सदस्य श्रेष्ठले कास्की जिल्लामा टेनिस खेलले गति लिए सँगै अव यसको व्यवसायिकता हुनुपर्ने कुरामा जोड दिनुभएको हो । उहाँले भन्नुभयो–“जसरी छोटो समयमा टेनिसका खेलाडीले राष्ट्रिय तथा अन्तर्राष्ट्रिस्तरमा उभ्याउन सफल भएका छन त्यो सवैका लागि उदाहरणिय रहे पनि अव संघले खेलाडीको व्यवसायिकताका लागि उत्तिकै ध्यान दिनुपर्ने खाँचो छ ।”

टेनिस खेललाई गण्डकी प्रदेशका सवै जिल्लामा फैलाउन आवश्यक्ता रहेको बताउँदै राखेप सदस्य श्रेष्ठले कास्कीको छुमरुङमा देशकै हाई अल्टिच्युडमा टेनिस कोर्ट निर्माण सम्पन्न हुने अवस्थामा रहेकोले पनि कास्कीको टेनिस खेलले अझै गतिलिने उहाँले विश्वास व्यक्त गर्नुभयो । “आफु टेनिस खेलको दुत भएर यस क्षेत्रको टेनिस खेलको विकासमा सँधै समर्पित रहनेछु”, उहाँले भन्नुभयो ।

कार्यक्रममा वोल्दै टेनिस संघका केन्द्रिय उपाध्यक्ष विनोद कायस्थले टेनिस खेलको विकासका लागि जसरी हिजो काम भएको थियो त्यो लक्ष्य अझै पुरा नभइसकेको बताउनुभयो । कास्की जिल्ला टेनिस संघले सुशासन कायम गरेको हुनाले नै आज केन्द्रमा समेत कास्की जिल्ला टेनिस संघको चर्चा हुने गरेको प्रशङ्ग राख्दै पोखरा टेनिस खेलको हव हुने कुरामा आफु विश्वस्त रहेको उहाँले बताउनुभयो ।

सो अवसरमा कास्की जिल्ला खेलकुद विकास समितीका कार्यालय प्रमुख प्रकाश वरालले कास्की जिल्ला टेनिस संघले छोटो अवधीमा निकै प्रशंसनिय काम गरेको बताउँदै संघले खेलाडी उत्पादनमा उल्लेखनिय कार्य गरेको धारणा राख्नुभयो ।

कास्की जिल्ला टेनिस संघका अध्यक्ष दोर्जे लामाको अध्यक्षतामा भएको कार्यक्रमा टेनिसका वरिष्ठ प्रशिक्षक कृष्ण घले, नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीका अध्यक्ष एकराज गिरी, संघका उपाध्यक्ष लोक गुरुङ, सचिब नविन चालिसे लगाएतले आ–आफ्ना धारणा राख्नुभएको थियो ।

कास्की जिल्ला टेनिस संघले आफ्नो छैटौ साधारण सभाका अवसरमा डा.देव थापा, खेलकुद पत्रकार मञ्च गण्डकीका निवर्तमान अध्यक्ष केशव पाठक, १३ औं दक्षिण एशियाली खेलकुद (साग)मा टेनिस टिम इभेन्ट तर्फ कास्य पदक जित्न सफल खेलाडीद्वय नविन मगर र प्रदिप खडकालाई सम्मान गरेको थियो ।

सोही कार्यक्रममा छैटौ साधारण सभाका अवसरमा आयोजित जुनियर तथा सिनियर खुल्ला टेनिस प्रतियोगितामा विजेता खेलाडीलाई मेडल, ट्रफी तथा नगदद्वारा सम्मान गरिएको थियो । कार्यक्रममा गत वर्ष विभिन्न प्रतियोगितामा विजेता सिनियर तथा जुनियर खेलाडी समेत सम्मान गरिएको थियो ।

साधारण सभामा संघका कोषाध्यक्ष राजु गुरुङले आर्थिक वर्ष २०७६/०७७ को आय व्यय प्रस्तुत गर्नुभएको थियो ।

यसै विच कास्की जिल्ला टेनिस संघले आइतवारवाट पोखरामा १० दिनका लागि जेटिआई टेनिस ट्रेनिङ सुरुवात गर्ने भएको संघका सचिब नविन चालिसेले जानकारी दिनुभएको छ । उक्त कार्यक्रमका लागि काठमाडौवाट वरिष्ठ प्रशिक्षक कृष्ण घले र नेपालका नम्वर वान टेनिस खेलाडी जितेन्द्र परियार पोखरा आइसक्नुभएको सचिव चालिसेले जानकारी दिनुभयो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button