संगीत स्कूल खोल्ने सपना छ : गायक रोहनजंग कार्की

पोखरा । गायक रोहनजंग कार्कीको जन्म पोखरा १३ काहुँखोलामा भएको हो । उहाँलाई सानैदेखि गीत संगीततर्फ रुचि थियो । पोखराको ग्लोबल कलिजियट स्कुलमा कक्षा ६ मा अध्ययनरत हुँदाको समयबाट उहाँले गीत गाउन थाल्नुभयो । उहाँलाई लोकपप गीत गाउन मनपर्छ । लोकपप विधा मार्फत नै गायन क्षेत्रमा स्थापित बन्ने उहाँको धोको छ ।

उहाँले भविष्यमा सांगीतिक क्षेत्रमा केही गर्ने उहाँको लक्ष्य बनाउनुभएको छ । ‘भविष्यमा सांगीतिक क्षेत्रमा नै केही गर्ने लक्ष्य छ, संगीत स्कूल खोल्ने मेरो सपना छ’ पोखरा न्यूजसँग उहाँले भन्नुभयो । यसका अलावा आफूमा थप निखारता थप्न काठमाण्डौमा जाने उहाँका सोच छ । ‘काठमाण्डौ गएर अझ थप ज्ञान आर्जन गर्ने सोच बनाएको छुँ’ कार्कीले थप्नुभयो ।

‘कहिले आउ’ बोलको गीत रेर्कड गराई उहाँले २०७३ सालमा सांगीतिक क्षेत्रमा औपचारिक यात्रा प्रारम्भ गुर्नभयो । पहिलो गीतबाट दर्शक श्रोता राम्रो सर्पोट मिलेको उहाँ बताउनुहुन्छ ।

घरपरिवारबाट साथ भएको कारण सांगीतिक क्षेत्रमा अगाडि बढ्न सहज भएको उहाँ सुनाउनुहुन्छ । केही समय उहाँले ‘द न्यू विगिनिङ’ व्याण्ड मार्फत समेत आफ्नो सांगीतिक यात्रालाई अगाडि बढाउनुभयो । यो व्याण्ड लामो समयसम्म निरन्तर अगाडि बढ्न भने सकेन । व्याण्डका साथीहरु एकै ठाउँमा नहुँदा व्याण्डलाई निरन्तरता दिन नसकेको उहाँले बताउनुभयो । अहिले उहाँ सोलो गायकको रुपमा नै अगाडि बढ्न खोज्नुभएको छ ।

पोखरामा आयोजना हुने महोत्सवमा आफ्नो प्रतिभा सुनाउदै दर्शकको साथ पाउनुभएका उहाँले बंगलादेशमा पुगेर समेत प्रस्तुति राखीसक्नुभएको छ । गायक कार्की २०७० मा आयोजित गोल्डेन आइडल प्रतियोगीतामा विजेता समेत बन्नुभएको थियो ।

उहाँले पोखराको तराना म्युजिक सेन्टरमा तीन वर्षसम्म सांगीतिक ज्ञान लिएर आफूमा निखारता थप्नुभयो । अहिले आफूले जानेको संगीतको ज्ञान नयाँ पुस्तालाई सिकाउन क्रियाशील बन्नु भएको छ । भविष्यमा संगीत स्कुल खोल्ने लक्ष्य बनाउनुभएका उहाँले विगत ५ महिनादेखि आफ्नै घरमान सप्तरंगी म्युजिक सेन्टर स्थापना गरेर संगीत सिकाइरहनुभएको छ । म्युजिक सेन्टर पोखरा १३ काहुँखोलामा रहेको छ ।

यतिबेला उहाँको दोस्रो गीत ‘कान्छी ओ कान्छी’ तयार भएको छ । गीत नेपालीहरूको महान्पर्व विजयादशमीको अवसर पारेर कार्तिक १ साँझ ५ बजे दर्शकमाझ सार्वजनिक गर्ने तयारी गरेको उहाँले बताउनुभयो । रोहनजंग कार्कीको आवाजमा रहेको गीतलाई विराज गौतमले रचना र कम्पोज गर्नुभएको हो । एरेन्जको जिम्मा शैलेश श्रेष्ठले पुरा गर्नु भएको छ । गीतलाई आकर्षक बनाउन भिडियो झनै महत्वपूर्ण बनेको छ । भिडियोमा सौरभ थापा र सुस्मिता गौचनको अभिनय हेर्न पाइन्छ । भिडियोको छायाकंन पोखरामानै गरिएको हो । एसटु प्रोडक्सनका सुरज श्रेष्ठको निर्देशनमा भिडियो तयार भएको हो ।

श्रेष्ठले सिनेमेट्रोग्राफी, सम्पादन र कलर ग्रेडिङ जिम्मेवारी समेत आफैले निभाउनु भएको छ । गीतलाई एसटु प्रोडक्सनको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गरिनेछ । गीत तथा भिडियोको लागि निकै मेहनत सबैबाट भएकोले यो गीतले आफूलाई स्थापित हुन सघाउने गायक कार्कीको विश्वास छ ।

‘गीत राम्रो बनेको छ, यो लोकपप फ्लेबरको गीत हो, पक्कै दर्शक श्रोताको माया पाउनेछ’ गायक कार्कीले भन्नुभयो । गीत रिलिज भइसकेपछाडि हेरेर प्रतिक्रिया दिन कार्की आग्रह गर्नुहुन्छ । अब निरन्तर सांगीतिक कोसेली पस्कने कार्कीको योजना छ । थप दूईवटा गीत रेर्कड भएर सार्वजनिक गर्ने प्रक्रियामा आफू रहेको उहाँले खुलाउनुभयो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button