फुटसल क्रेज पुरानै अवस्थामा फर्कने आशा

पोखरा। फुटबलको सानो रुप हो फुटसल । सन् १९३० मा दक्षिण अमेरिकी देशबाट यसको सुरुवात भएको हो । उरुग्वेका जुहान कार्लोस सेरियानीलाई प्रारम्भकर्ता मानिन्छ । उरुग्वेले पहिलो विश्वकपको उपाधि जितिसकेपछि तहाँ फुटसल खेल्न सुरु गरेको थियो ।

विस्तारै यो खेल अन्य देशमा पनि विस्तार भयो । फुटसल सुरु भएको ३ वर्षपछि सन् १९३३ मा यस्को नियम बन्यो । फिफाले सन् १९८९ बाट फिफा विश्वकप फुटसल सुरु ग¥यो । नेदरल्याण्डस् आयोजक रहेको पहिलो फिफा विश्वकप फुटसल प्रतियोगीताको उपाधि ब्राजिलले चुमेको थियो । विस्तारै फुटसल खेलको लोकप्रियता बढ्न थाल्यो ।

नेपालमा फुटसल सन् २०११ मा भित्रिएको हो । काठमाण्डौको ठमेलमा एरेना फुटसल मार्फत यो खेल भित्रियो । जसलाई नवाङ निमा लामाले सुरु गर्नुभएको हो । केही समय काठमाण्डौमा सीमित रहेको फुटसल विस्तारै नेपालका मुख्य शहरमा विस्तार भयो । पोखरा, हेटौडा, विराटनगर, वनेपा, धरान, चितवन आदि नेपालका प्रमुख शहरमा यस्को विस्तार भइसकेको छ । शहरमा खुल्ला ठाउँको अभाव हुँदा खेल खेल्न र शारीरिक व्यायम गर्न खोज्नेहरुको रोजाईका कारण यसको क्रेज बढ्दै छ ।

पोखरामा २०७० सालमा यो खेल भित्रियो । पोखरा ब्याटलफिल्ट प्रालिले पोखराको लेकसाइडमा फुटसल सञ्चालन गरेको हो । त्यसपछि पोखरामा समेत यसप्रतिको आर्कषण बढ्यो । एकपछि अर्को फुटसल खेलाउने ठाउँ सञ्चालनमा आउन थाले । जुन निरन्तर जारी छ ।

शहरी जीवन स्वास्थ्यका लागि समेत फुटसल धेरैको रोजाइमा पर्न थालेको छ । फुटसलले खेलाडीमा खेलको स्किल बढाउँदछ । शारीरिक व्यायमको रुपमा समेत फुटसलको प्रयोग गर्न थालिएको छ । फुटसलले फुटबल सम्बन्धी ज्ञान बढ्छ । खेलाडीमा निखारता थप्छ । बिहानदेखि रातिसम्म, घाम, पानी, झरी बादलको प्रवाह नगरी इन्डोर भित्र खेल्न पाउने हुँदा समय व्यवस्थापन गरी खेल्न सहज हुन्छ ।

पोखरामा खोले चल्छ, सेन्टर ठाउँमा खोल्नुपर्छ भनेर फुटसल खेलाउन थालिएको पोखरा फुटसल एरिना ग्रैहापाटनका सञ्चालक अभिषेक कोइराला बताउनुहुन्छ । ‘पहिला काठमाण्डौमा फुटसल सुरु भएपछि काठमाण्डौ जाँदा फुटसल खेल्ने गरिन्थ्यो । त्यही बेलामा पोखरामा समेत यसलाई सञ्चालन गर्न सकिन्छ भन्ने सोच मनमा पलायो । फलस्वरुप पोखरा फुटसल एरिना सञ्चालन गरे’ कोइरालाले भन्नुभयो । यो एरिना वि.स. २०७० माघबाट पोखराको ग्रैहापाटनमा सञ्चालनमा आएको हो । फुटसल सुरुवातमा लगानी ठूलो हुने हुँदा अनुदान दिने भने सजिलोे हुने पोखरा फुटसल एरिनाका सञ्चालक कोइराला बताउनुहुन्छ ।

पोखराका सौरभ थापाले फुटसल खेल्न थालेको ४ वर्ष भयो । फुटबल मैदानमा भन्दा ग्राउण्ड राम्रो हुँदा उनलाई खेल्न मज्जा लाग्छ । ‘धुलो मैलो घाम नहुने, पानि पर्दा पनि खेल्न पाइने’ उनले भने । कोरोना कहर अगाडि उहाँले हप्ताको तीन चार पटक फुटसल खेल्नुहुन्थ्यो । खाली ठाउँ नहुँदा खेल्न समस्या हुने गरेको थियो तर फुटसल खेल्ने ठाउँ खुल्दै जाँदा धेरै सहज भएको छ ।

पोखरा दीपका प्रदीप रानाले पोखरामा फुटसल खेल भित्रिएदेखि खेल्न सुरु गरेको बताउनुहुन्छ । ग्राउण्डमा खेल्न भन्दा राम्रो हुने गरेको उनको अनुभव छ । मनपर्ने खेल फुटबल बताउने उहाँ कलेज मार्फत फुटसल खेल्न साथीहरुको साथमा एरिनामा पुग्ने गरेको सुनाउनुभयो ।

इश्वर गुरुङ (चन्द्र) राष्ट्रिय टिमबाट फुटबल खेलिसकेका खेलाडी हुनुहुन्छ । उहाँले विभिन्न क्लबबाट फुटबल खेल्नुभयोे । उहाँलाई फुटसलले आर्कषित ग¥यो । उहाँले साथीहरुसँग मिलेर पोखराको गणेशटोलमा स्पोर्टस क्यासल सञ्चालनमा ल्याउनुभएको छ । सानैबाट फुटबल खेलियो । यही सर्कलसँग चिनजान छ । स्वास्थ्यका लागि समेत फुटसल उपयुक्त बन्छ । उहाले सञ्चालनमा ल्याएको क्यासलमा ६–६ जना एकैचोटी खेल्न मिल्छ ।

खेल राम्रो गराउनका लागि, स्किल चाडै सिकिन्छ भनेर युवादेखि ६५ वर्षीय भेट्रान खेलाडी समेत यहाँ पुग्ने गरेका छन् । साढे ६ रोपनी जग्गामा सञ्चालमा आएको यहाँ फुटसलसँगै जीम हल, जुम्बा, साउना स्टिम वाथ समेत सञ्चालन गरेको उहाँले बताउनुभयो । पोखरामा डेढ दर्जनको हाराहारीमा फुटसल छन् । खुल्ने क्रम रोकिएको छैन ।

विशेषगरी विद्यार्थी, डाक्टर, बैकंर, व्यवसायी, फुटबलका वर्तमान तथा पूर्व खेलाडी, फुटबल मन पराउने, खेल्न रुचाउनेहरु यस्ता ठाउँमा पुग्छन् । विभिन्न प्रतियोगिता हुन्छन् । यसले उनीहरुमा निखारता थपिन्छ । फुटसल खेलाउने ठाउँमा नियमित खेल्नेलाई मासिक प्याकेज समेत उपलब्ध हुन्छ । यसले गर्दा नियमित फुटसल खेल्न खोज्नेलाई सहजता मिल्दछ । पुरुषको तुलनामा फुटसल खेल्ने महिलाको संख्या न्यून हुने गरेको छ ।

नियममा खेल्दा ५–५ जना खेल्न मिल्ने फुटसलमा पछिल्लो क्रममा ६–६ जना खेल्न मिल्ने गरी संरचना बनाइ खेलाउन समेत पोखरामा भइसकेको छ । अन्तरािष्ट्रय मापदण्ड अनुसार फुटसल मैदान कम्तिमा २५ बाई १६ मिटरदेखि अधिकतम् ४२ बाई २५ मिटर राख्न सकिन्छ । यो सामान्यतः ४० मिनेट खेलाइन्छ । २० मिनेटमा १५ मिनेटको विश्राम हुन्छ । फाउल, फ्रिकिक, पेनाल्टी, रातो र पहेँलो कार्ड लगायत फुटबलका नियमसँगनै मिल्छन् । फुटसलमा ६ मिटर टाढाबाट पेनाल्टी हानिन्छ । गोलरक्षकलाई ब्याक पास दिन पाइँदैन । बल नियन्त्रणमा लिएपछि गोलरक्षकले पाँच सेकेण्डभन्दा बढी समय बल ‘होल्ड’ गर्न पाउँदैन । खेलाडीले रातो कार्ड पाएको दुई मिनेटपछि अर्को खेलाडी मैदान प्रवेश गर्न पाउँछ । फुटसल पीच र फुटसल बलबाट खेल खेलिन्छ ।

फुटसलमा खेल खेल्न जानु अघि फोनबाट ‘बुक’ गर्दा सजिलो हुन्छ । खाजा, जुस, कफी आदि खानेकुरा खान तहाँ नै पाइन्छ । एकपछि अर्को गरेर फुटसल खेलाउने ठाउँ सञ्चालनमा आउने क्रम बढेको छ । व्यवस्थित तरिकाले मापदण्ड बनाउन सके राम्रो हुने फुटसल खेल्ने खेलाडी र फुटसलका सञ्चालकको बुझाइ छ । फिजिकल फिटनेस र मनोरञ्जका लागि बढी मात्रामा युवाहरु फुटसलतर्फ आर्कषित भएका छन् ।

शहरमा बढ्दै गएको जनघनत्वका कारण खुल्ला ठाउँको अभाव भइरहेको बजारमा फुटसल खेल्ने ठाउँ सञ्चालनमा आउन थालेपछि राम्रो विकल्प बनेको छ । त्यसैले त युवामाझ फुटबलको विकल्पको रुपमा फुटसलले आफ्नो अस्तित्व कायम गरिसकेको छ । यसका अलावा बालबालिकादेखि युवा हुदै वृद्धवृद्धासम्मकाको ध्यान फुटसलले तान्दा यसको लोकप्रियता चुलिदै छ । फुटसलका स्थानीय, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजना हुनेक्रम बढेकाले यसप्रतिको क्रेज झनै बढ्दै गएको थियो । तर कोरोना महामारीका कारण फुटसल खेलमा समेत असर परेको छ । पुनः सहज हुने र फुटसलको क्रेज पुरानै अवस्थामा फर्कने आशा फुटसलप्रेमीले गरिरहेका छन् ।

 

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button