टिकट बुकिङ गर्ने यात्रु नहुँदा बसपार्क सुनसान

पोखरा न्यूज /धनगढी । नेपालीहरूको महान् पर्व बडादशैं आउन अब दुई साता बाँकी छ । एक सातापछि घटस्थापाना शुरु हुन्छ । विगतमा दशैं नजिकिएसँगै घरजानेहरुको चहलपहल बढी हुन्थ्यो । बसपार्कमा टिकट बुकिङ गर्न लामो लाइन बस्नुपथ्र्यो । तर यस वर्ष कोभिड १९ संक्रमणका कारण देशभरका बसपार्क सुनसान छन् । यात्रु नभएपछि धनगढी बसपार्क पनि सुनसान छ ।

कोभिड १९ संक्रमण जोखिमको कारण यस वर्ष दशैंका लागि आफ्नो घर जाने यात्रुहरु निकै कम छन् । विगतमा दशैं शुरु नहुँदै कैलालीको धनगढी बसपार्कमा चहलपहल शुरु भइसक्थ्यो । तर यसवर्ष कोरोना संक्रमणको जोखिमका कारण बसपार्क क्षेत्र सुनसान छ । यात्रा गर्नेहरु दशैंका लागि भन्दापनि काम विशेषले मात्रै यात्रा गर्नुपरेको बताउँछन् ।

धनगढी बसपार्क व्यवस्थापनले यात्रुहरुको चाप नभएको भन्दै दशैं लक्षित टिकट बुकिङ पनि नखोल्ने भएको छ । अघिल्लो वर्षहरुमा दशैं शुरु हुनु भन्दा करिब एक महिना अघि देखि नै टिकट बुकिङ खुला भइसक्थ्यो । तर यस वर्ष यात्रु नै नभएका कारण अग्रिम टिकट बुकिङ खुल्न नसकेको धनगढी बसपार्कका कार्यालय प्रमुख देविलाल जोशी बताउनुहुन्छ ।

काम विशेष बाहेक यात्रा गर्ने यात्रु नहुँदा अहिले सञ्चालनमा आएका सवारीसाधनले पनि प्रयाप्त यात्रु पाउन सकेका छैनन् । दशैंको समयमा यात्रु बढ्ने अपेक्षामा रहेका यातायात व्यवसायीहरु यात्रु नै नहुने स्थिति आएपछि भने निराश देखिन्छन् । त्यसैले यातायात क्षेत्र खुलेपनि अधिकांश सवारीसाधन बसपार्कमै थन्किएको देखिन्छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button