यस वर्षको दशैंमा बैंकहरुले नयाँ नोट नसाट्ने

पोखरा न्यूज संवाददाता । नेपाल राष्ट्र बैंकले यस वर्षको दशैंमा नयाँ नोट सटही नगर्ने भएको छ ।

कोभिड-१९ संक्रमणको जोखिमका कारण दशैं लक्षित नयाँ नोट सटही नगर्ने निर्णय भएको नेपाल राष्ट्र बैंकले बताएको छ । राष्ट्र बैंकका प्रवक्ता डा. गुणाकर भट्टले दशैंमा नयाँ नोट सटहीको व्यवस्था गर्दा लामो लाइन बस्ने र भीड हुन गई संक्रमणको जोखिम झनै बढ्ने भएकाले यस वर्षको दशैं लक्षित नयाँ नोट सटही नगर्ने निर्णय भएको बताउनुभयो ।

यस्तै अन्य बैंकहरुमा समेत संक्रमणको जोखिम उच्च भएकोले दशैंका लागि लक्षित गरी नयाँ नोट सटहीको व्यवस्था कुनैपनि बैंकमा नगरिएको उहाँले बताउनुभयो । यद्दपी आफ्नो खातामा भएको रकम बैंकबाट निकाल्दा केही सुकिला र नयाँ नोट पाउन सक्ने अवस्था भने रहेको प्रवक्ता भट्टले बताउनुभयो ।

यस अघिका वर्षहरुमा दशैंमा लामो लाइनमा बसेर नयाँ नोटको सटही गर्ने व्यवस्था राष्ट्र बैंकले मिलाउँदै आएको थियो । जुन एक किसिमले प्रचलनको रुपमा पनि स्थापित भइसकेको छ । राष्ट्र बैंकले ५ रुपैयाँ, १० रुपैयाँ, २० रुपैयाँ, ५० रुपैयाँ र १ सय रुपैयाँ दरका नयाँ नोटहरु दशैंको बेलामा सटही गर्दै आएको थियो । यस वर्ष भने राष्ट्र बैंकसँग नयाँ नोट मौज्दात भएपनि कोभिड संक्रमणको जोखिमका कारण नोट सटही असम्भव भएको हो ।

 

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button