पोखरा १७ पावर हाउसमा ३ करोड ५० लाखको लागतमा रंगशाला वन्दै, डिपीआर तयार

पोखरा न्यूज । पोखरा महानगरपालिका वडा नं १७ पावर हाउसको पश्चिमतर्फको खाली भुभागमा ३ करोड ५० लाखको लागतमा रंगशाला निर्माण हुने भएको छ ।

पोखरा महानगरपालिका वडा नं १७ ले रंगशाला निर्माणका डिपीआर समेत तयार गरीे गण्डकी प्रदेश सरकार र संघिय सरकारलाई बजेट व्यवस्था गर्नका लागि आग्रह गरीएको वडा सदस्य राधिका शाही योगीले बताउनुभएको छ । पोखरा महानगरपालिका १७ को कार्यालयले रंगशालाका लागि विस्तृत परियोजना निर्माण (डिपिआर) समेत तयार गरि प्रदेश सरकार र संघिय सरकारलाई समेत पठाइसकिएको उहाँले बताउनुभयो ।

विस्तृत परियोजनामा पावर हाउस रहेको भन्दा पश्चिम तर्फको करिव १७७ रोपनी प्रती जग्गा मध्ये १५४ रोपनी जग्गामा रंगशाला निर्माण गर्न लागेको हो । “अहिले हामीले तयार गरेको डिपिआरमा करिव ३ करोड ५० लाख खर्च देखिन्छ”, योगीले भन्नुभयो–“तर सवै खाली ठाउँ खेलकुदका लागि उपयोग गर्ने सोच रहेकोले यो खर्च ७ देखि ८ करोड सम्म पुग्न सक्छ ।” हालका लागि उक्त स्थानमा प्यारापिट सहितको फुटबल रंगशाला सँगै वास्केटल र भलिवल कोर्ट पनि निर्माण गर्ने योजना रहेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो–“हामीले यो ठाउँमा फुटबलको मात्रै नभई खेलकुदका सवै कार्यक्रमहरु आयोजना हुने गरि वहुउद्धेश्यिय रंगशालाको रुपमा निर्माण गर्ने योजनाका लागि पुरै १७७ रोपनी जग्गा उपयोगमा ल्याउने तयारीमा छौं ।”

खाली भुभागको दक्षिण तर्फ फुर्से खोला समेत रहेको र पर्यटकिय गन्तव्यका लागि पनि उक्त ठाउँ निकै चर्चित तथा प्राकृतिकरुपमा रमणिय समेत रहेकोले रंगशाला निर्माणका लागि पहल शुरु गरिएको योगीको भनाई छ । उहाँले भन्नुभयो–“यो रंगशाला कास्की निर्वाचन क्षेत्र प्रदेश २ (क)को रंगशालाको रुपमा निर्माण गर्न लागेका हौं ।” उक्त स्थान सम्म यातायतको पुग्ने सडक नभएकोले वडाले सडक निर्माण कार्यलाई प्राथमिकताका राखेको छ । सडक निर्माणका लागि करिव ५० लाख खर्च लाग्ने अनुमान भएको उहाँले जानकारी दिनुभयो ।

 

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button