मासिक शुल्क बढाएर लिएको भन्दै विद्यालयका अभिभावकहरु आन्दोलित

पोखरा न्यूज संवाददाता । काठमाडौंको बुद्धनगरस्थित काठमाडौं मोडल स्कुलले लकडाउनको अवस्थामा पनि मासिक शुल्क बढाएर लिएको भन्दै अभिभावकहरुले विद्यालय घेराउ गरेका छन् ।
अभिभावकहरुले कोभिड १९ का कारण पठनपाठन बन्द भएको अवस्थामा पनि बढी शुल्क लिएको भन्दै शुक्रबार बिहान विद्यालय घेराउ गरेका हुन् । महामारीको अवस्थामा विद्यालय पनि बाँचनुपर्ने र अभिभावक पनि सहज अवस्थामा रहनुपर्ने गरी अनलाइन कक्षाको शुल्क निर्धारण गर्न आफूहरुले पटक पटका आग्रह गर्दा समेत सुनुवाई नभएको अभिभावकहरुले बताएका छन् ।

अभिभावकहरुले वार्षिक शुल्क तिर्न नसक्ने, अनलाइन शिक्षाको छुट्टै शुल्क निर्धारण हुनुपर्ने र विद्यालयमा अभिभावकको प्रतिनिधि हुनुपर्ने माग गरेका छन् । उनीहरुले कोभिडको अवस्थामा अनलाइन शिक्षाको शुल्क निर्धारण गरि लिनुपर्ने ठाउँमा मासिक शुल्कमै ५ सय रुपैयाँ बढाएर लिएको बताएका छन् । अभिभावक संघका संयोजक शुभप्रभावत घिमिरेले सरकारले अनलाइन शिक्षाको शुल्क निर्धारण नगरिदिदा विद्यालयहरुले आफूखुशि उठाउने गरेको बताउनुभयो ।

अभिभावकहरुको पेशा, रोजगारी गुमेको अवस्थामा सरकारले सहयोग गर्नुपर्ने ठाउँमा द्वन्द्व सिर्जना गरेको बताउनुभयो । सरकारले निजी लगानीका संस्थागत विद्यालयमा अनलाइन शिक्षाको शुल्क निर्धारणको जिम्मा स्थानीय तहलाई दिएको थियो । असोज दोस्रो साता भित्र शुल्क निर्धारण गरी कार्यान्वयनमा ल्याउनुपर्ने व्यवस्था गरिएपनि अहिले सम्म अधिकांश स्थानीय सरकारले शुल्क निर्धारण गर्न सकेका छैनन् । जसको फाइदा उठाउँदै केही विद्यालयहरुले आफूखुशि शुल्क निर्धारण गर्न थालेका छन् । यससँगै अधिकांश विद्यालयहरुमा अभिभावक र निजी विद्यालयका सञ्चालकहरुबीच विवाद बढेको देखिन्छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button