पोखरामा ल्यावबाट पनि शुरु गरियो कोरोनाको पीसीआर परीक्षण

पोखरा । पोखरा न्यूरोड स्थित एक ल्यावले कोरोनाको पीसीआर परीक्षण शुरु गरेको छ । लाइफकेयर डाइग्नोष्टिक प्रालि न्यूरोड पोखराले नेपाल सरकारबाट स्वीकृति लिएर त्यस्तो परीक्षण शुरु गरेको हो ।

कोभिड-१९ परीक्षणका लागि मात्रै एक करोड रुपैयाँबढी थप लगानी गरी प्रयोगशाला स्थापना गरिएको उक्त ल्यावका सञ्चालक डा. अमर नागिलाले जानकारी दिनुभयो । कोरोना परीक्षणका लागि अमेरिकी ब्राण्डको उच्च प्रविधिको ९६ वेलप्लेट आरटी पीसीआर मेसिन (एक पटकमा ९६ वटा टेष्ट गर्न सकिने) ल्याबमा राखिएको छ ।

पीसीआर परीक्षणका लागि १५ जना दक्ष जनशक्तिको व्यवस्था गरिएको नागिलाले बताउनुभयो ।मेडिकल माइक्रोबायोलोजिष्ट डा. सञ्जीवमणि रेग्मीको पनि ल्याबमा संलग्नता छ । २४ घण्टाभित्रै सेवाग्राहीले पीसीआर रिपोर्ट प्राप्त गर्न सक्ने बताइएको छ ।

प्रवन्ध निर्देशक शुक्रराज कँडेलका अनुसार अत्यावश्यक परेमा ३ घन्टाभित्र रिपोर्ट उपलब्ध गराउन सकिने छ । विहान सात देखि साँझ सात बजेसम्म ल्याव खुला हुने बताइएको छ । ‘गण्डकी प्रदेशमा निजी क्षेत्रबाट कोरोना परीक्षण गर्ने पहिलो ल्याब लाइफकेयर बनेको छ,’ कँडेलले भन्नुभयो ।

सरकारको निर्णय अनुसार पीसीआर परीक्षण शुल्क २ हजार रुपैयाँमात्रै लिइने र अन्य शुल्क नजोडिने कँडेलले जानकारी दिनुभयो । पोखरासहित गण्डकी प्रदेशको आवश्यकतालाई मध्यनजर गरी कोभिड परीक्षण सुरु गरिएको बताइएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button