अनुचित दवाब र प्रभावमा नपरी नागरिक सुरक्षामा लाग्नुहोस – मुख्यमन्त्री गुरुङ

पोखरा न्यूज । गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले नेपाल प्रहरी कुनैपनि अनुचित दवाब र प्रभावमा नपरी नागरिक सुरक्षालाई केन्द्रबिन्दुमा राखी अगाडि वढ्नु पर्नेमा जोड दिनुभएको छ ।

६५ औं प्रहरी दिवसको अवसर पारेर गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराद्वारा आयोजित श्रद्धाञ्जली तथा सम्मान कार्यक्रमलाई शुक्रबार सम्वोधन गर्दै मुख्यमन्त्री गुरुङले भन्नुभयो “भौतिक स्रोत साधन तथा जनशक्तिको अभावमा पनि देश र जनताको सेवा एवं हितमा निरन्त तल्लीन नेपाल प्रहरीले व्यवसायिक मर्यादालाई पालना गरी कार्यसम्पादन गर्दै आइरहेको प्रति उच्चसम्मान छ ।”

समय र प्रविधिको विकाससंगै अपराध र अपराधिक कार्यविधिमा समेत परिवर्तन भईरहेकाले अपराध रोकथाम गरी समाजमा शान्ति सुव्यवस्था कायम गर्न नेपाल प्रहरीलाई आधुनिक प्रविधिमैत्री क्षमतायुक्त साथै दक्ष जनशक्ति उत्पादन गरी अनुसन्धान मैत्री वातावरण निर्माण गर्नुपर्नेमा उहाँले जोड थियो ।

गण्डकी प्रदेश सरकारका आन्तरिक मामिला तथा कानून मन्त्री हरिबहादुर चुमानले अमर प्रहरी प्रति श्रद्धा सुमन व्यक्त गर्दै सहिदहरुले देखाएका सपनालाई साकार पार्न र उनीहरुको योगदानलाई स्मरण गरी सजग, सचेत र कर्तव्यनिष्ठ भई राष्ट्रसेवा गर्नु पर्ने कुरामा जोड दिनुभयो ।

गण्डकी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक घनश्याम अर्यालले अनेकन आरोह–अवरोहका बीच नेपाल प्रहरीको शीर सदैव उच्च र अटल बनाई राख्न आफ्नो कर्तव्य पथमा सदा कर्मशील रही संगठनका खातिर देश र जनताको पक्षमा आफ्नो अमूल्य जीवन उत्सर्ग गर्ने अमर तथा शहिद प्रहरीहरु प्रति हार्दिक श्रद्धासुमन व्यक्त गर्नुभयो ।

विश्वव्यापी रुपमा रहेको कोरोना सक्रंमण रोकथाम तथा नियन्त्रणका लागि अग्रपंक्तिमा खटिएका प्रहरी कर्मचारीहरु समेत प्रभावित भएकाले विशेष सतर्कता अपनाई, उच्च मनोबलका साथ अत्यन्त व्यवसायिक ढँगले प्रस्तुत भई, नागरिकहरुको स्वास्थ्य र सुरक्षालाई ध्यानमा राखि प्रहरी सेवा प्रवाह गर्न हरप्रहर कटिबद्ध रहेको उहाँले बताउनुभयो ।

साथै नेपाल प्रहरीको पूर्वाधार विकास, भौतिक संरचना निर्माण र प्रविधियुक्त अनुसन्धान पद्धतिको विकास अहिलेको अहम आवश्यकता र अपरिहार्यता बनेको बताउँदै नेपाल प्रहरी संगठनमा प्रादेशिक संरचना स्थापित भईसकेको अवस्थाले यस्ता पूर्वाधार विकासमा प्रदेश सरकारको निरन्तर साथ र सहयोग प्राप्त भईरहने विश्वास व्यक्त गर्नुभयो ।

कार्यक्रममा अमर प्रहरीका आश्रित परिवारलाई कदरपत्र तथा नगद रकम प्रदान गरिएको थियो । उक्त अवसरमा प्रदेश प्रहरीको वार्षिक कार्ययोजना अनुसार त्रैमासिक कार्य सम्पादनको आधारमा उत्कृष्ट जिल्लाको रुपमा छनौट भएको जिल्ला प्रहरी कार्यालय तनहुँ, उत्कृष्ट कार्यालय व्यवस्थापन तर्फ गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रहरी वरिष्ठ उपरीक्षक किरण राणा, जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी उपरीक्षक जीवन कुमार श्रेष्ठ, उत्कृष्ट ट्राफिक व्यवस्थापन तर्फ गण्डकी प्रदेश ट्राफिक प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक टेक बहादुर कार्की, उत्कृष्ट प्रहरी कार्य तर्फ जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी नायव उपरीक्षक किरणजंग कुँवर, उत्कृष्ट कार्यालय व्यवस्थापन तर्फ प्रहरी नायव निरीक्षक टिकाराम पनेरु, उत्कृष्ट विपद उद्दार कार्य तर्फ प्रहरी हवल्दार श्यामकान्त श्रीवास्तव, उत्कृष्ट कार्यालय सहयोगी तर्फ प्रहरी कार्यालय सहयोगी बुधराम बि.क.लाई नगद पुरस्कार एवं सम्मान पत्र समेत प्रदान गरिएको थियो ।
सोही अवसरमा ६५ औं प्रहरी दिवस २०७७ को अवसरमा संगठन प्रमुख प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीको सन्देश गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रहरी वरिष्ठ उपरीक्षक किरण राणाले वाचन गर्नुभएको थियो ।

कार्यक्रममा गण्डकी प्रदेश सरकारका प्रमुख सचिव विष्णु प्रसाद नेपाल, गण्डकी प्रदेशका मुख्य न्यायाधिवक्ता डा. राजेन्द्र घिमिरे, प्रदेश अन्तर्गतका विभिन्न मन्त्रालयका सचिवहरु, प्रदेश स्तरीय सुरक्षा निकायका प्रमुखहरु, अमर प्रहरी परिवारहरु, पूर्व प्रहरी संगठनका पदाधिकारीहरु, नेपाल प्रहरी श्रीमती संघका पदाधिकारी, पत्रकार लगायत विभिन्न कार्यालयका प्रहरी कर्मचारीहरुको सहभागीता रहेको थियो ।

 

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button