मोडलिङ क्षेत्रमा अगाडि बढ्छु : सर्मिला अधिकारी

पोखरा । कास्की जिल्ला माछापुच्छे« गाउँपालिका वडा नम्बर ४ लाहाचोककी सर्मिला अधिकारीको सानैदेखि नृत्यमा रुचि थियो । सोही कारण उहाँले कक्षा ५ अध्ययन गर्दाको समयबाट नृत्य प्रतियोगितामा भाग लिन थाल्नुभयो । यसरी भाग लिदाँ उहाँले गरेको नृत्यले धेरैलाई लोभ्याउथ्यो । प्रतियोगितामा सहभागी बनेर पाएको सफलता र सबैको सर्पोटले उहाँमा थप हौसला बढ्थ्यो ।

‘मलाई सानैदेखि नृत्यमा धेरै रुचि थियो । ५ कक्षा पढ्दाबाट नृत्यमा भाग लिन थाले । गाउँमा कार्यक्रम हुँदा सहभागी बन्थे । कयौ पटक पुरस्कार जिते । पहिलोचोटी भाग लिदा तृतीय भएको थिए । पुरस्कार स्वरुप कपी र कलम पाएको थिए । यसले मलाई हौसायो’ पोखरा न्यूजसँग कुराकानी गर्दै सर्मिलाले भन्नुभयो ।

गायनको कारण उहाँको बहिनी समीक्षा अधिकारी छोटो समयमा चर्चामा आउनुभयो । बहिनी चर्चामा आएपछि बहिनीकै प्रयासमा सर्मिलाले म्युजिक भिडियोमा डेब्यु गर्ने मौका पाउनुभयो । हुनत बहिनी समीक्षाले गीत गाउन सुरु गर्नुभन्दा अगाडिबाटनै सर्मिला नृत्यका कारण गाउँघरमा चर्चामा हुनुहुन्थ्यो । नृत्य प्रतिभा हुँदाहुँदै अवसरबाट वञ्चित हुनुभएकी सर्मिलालाई बहिनीको कारण अवसर पाउन सहजता बन्यो । तर, आफूसँग प्रतिभा भएकै कारण सर्मिलालाई अगाडि बढ्न सहज हुँदै गएको छ ।

सर्मिला भन्नुहुन्छ–‘बहिनी समीक्षाले धुव्र हिमालीसँग मेरो दिदीले राम्रो नृत्य गर्नुहुन्छ भनेर प्रस्ताब गरेपछि अवसर दिनुभयो । तीज सम्बन्धी गीत थियो, मैले अभिनय गरेको यो पहिलो भिडियोलाई दर्शकले रुचाउनुभयो । धेरैले तारिफ गर्नुभयो । धुव्र जी ले नै दोस्रो गीतमा अवसर दिनुभयो । त्यो भिडियो समेत राम्रो भयो । त्यसपछि विस्तारै अफर आउन थाले ।’

सर्मिलाले हालसम्म ८ वटा म्युजिक भिडियोमा काम गरिसक्नुभयो । अहिले १२ को परीक्षाका तयारीका कारण नयाँ भिडियोमा काम गर्न जान पाउनुभएको छैन । उहाँलाई अफर भने आइरहेको छ । उहाँ कास्की लाहाचोककै महेन्द्र सेकेन्डरी स्कुलमा कक्षा १२ मा अध्ययनरत हुनुहुन्छ । १२ कक्षाको परीक्षा पछि काठमाण्डौ जाने र मोडलिङ क्षेत्रमा क्रियाशील बन्ने उहाँको तयारी छ ।

‘अहिले म महेन्द्र सेकेन्डरी स्कुल लाहाचोकामा कक्षा १२ मा पढ्छु, १२ को परीक्षा दिएपछि काठमाण्डौमा गएर नृत्य तथा मोडलिङ क्षेत्रमा अगाडि बढ्छु’ सर्मिलाले भन्नुभयो । ठूलो मानिस बनेर आफ्नो बाबा आमालाई खुसी राख्ने उहाँको सपना हो । यसको लागि निकै मेहनत गर्नुपर्छ भन्ने उहाँले बुझिसक्नुभएको छ ।

त्यसैले, हालसम्म नृत्य सम्बन्धी कुनै प्रशिक्षण बिनानै अगाडि बढेको भएपनि अब भने सिक्दै, बुझ्दै, निखारता थप्दै झनै अब्बल बन्ने उहाँले योजना बनाउनुभएको छ । ‘मैले अहिलेसम्म नृत्य सिकेको छैन । समय र पाएक पर्ने ठाउँ नभएकोले । हुनत मैले सानैदेखि एकदम मनपथ्र्यो । गाउँघरमा कार्यक्रम हुँदा जहिल्यै भाग लिन्थे । कहिल्यै पछि हटिन । अब राम्रो डान्स प्रशिक्षक खोजेर सिक्नुपर्ला’ उहाँले सुनाउनुभयो ।

धेरैले बहिनीको कारण सर्मिला चर्चामा आई भनेकोमा भने उहाँ असन्तुष्ट हुनुहन्छ । ‘म भित्र कुनै प्रतिभा दिएन भने कसरी सम्भव थियो र ? मसँग प्रतिभा थियो, अवसर पाए, कला देखाउन पाए । यदि मेरो प्रतिभा नहुँदो हो त बहिनीको पछाडि लागेर मात्र हुने थिएन’ आफ्नो मनको गुनासो उहाँले पोख्नुभयो ।

हुनपनि बहिनीले गीत गाउन सुरु नगर्दै सर्मिलाले नृत्य प्रतियोग्गितामा भाग लिई पुरस्कार जित्न थाल्नुभएको थियो । बहिनीको कारण अवसर पाएको भन्नेमा उहाँ सहमत हुनुहुन्छ । यसरी पाएको अवसरलाई सदुपयोग गर्दै आफ्नो प्रतिभालाई सबैमाझ पस्कन उहाँले अब मेहनत गर्न खोज्दै हुनुहुन्छ ।

बहिनी समीक्षा र उहाँको उमेरमा दूई वर्षको फरक छ । उहाँको परिवारमा बाबा, आमा, हजुरआमा, दाई र बहिनी हुनुहुन्छ । आफूमा भएको कला सबैमाझ देखाउन पाउँदा उहाँलाई आनन्द लाग्छ । नृत्य गर्ने मानिसलाई गलत सोच्न नहुने उहाँ बताउनुहुन्छ । राम्रो नराम्रो भन्ने कुरा नजरमा भर पर्ने सर्मिलाको बुझाइ छ । दर्शकको मन जित्दै दर्शककै सल्लाह सुझाब अनुसार अगाडि बढ्ने तयारी उहाँको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button