गाउँमा जस्तो रमाइलो दशैं सहरमा हुँदैन : गायक न्यौपाने

पोखरा । सुमधुर आवाजका धनी लोकदोहोरी गायक पुरुषोत्तम न्यौपाने दशैंको रमाइलो गाउँमा हुने बताउनुहुन्छ । ‘दशैंको रमाइलो गाउँमा हुन्छ, गाउँको जस्तो दशैंको रौनकता सहरमा हुँदैन, तर बाध्यतावस यसपाली पोखरामानै दशैंमनाउने सम्भावना छ’ पोखरा न्यूजसँग कुरागर्दै गायक न्यौपानेले भन्नुभयो ।

वलाम वेलटारी स्याङ्गजामा जन्मिनुभएका गायक न्यौपानेको गाउँमा सामुहिक रुपमा दशैं मनाउने चलन छ । तर यसपाली कोरोना महामारीका कारण सामुहिक रुपमा दशैं मनाउने अवस्था छैन । सोही कारण न्यौपानेले यसपालीको दशैं पोखरामा मनाउने योजना बनाउनुभएको हो ।

यसपाली कलाकार लगायत सबै नेपालीलाई दशैं मनाउन समस्या परेको उहाँको बुझाई छ । विभिन्न स्थानीय निकायले पीसीआर लिएर मात्र गाउँ आउ भनेका छन् । त्यो सम्भव हुँदैन । यसपाली कोरोनाका कारण दशैंको हर्षोउल्लास छैन । गाउँमा गइहाल्दा एक देखि अर्को तसर्नु पर्ने हुन्छ । मन्दिरमा जमघट हुने सम्भावना हुँदैन । गाउँमा आफ्नै घरमा ढोका थुनेर दशैं मान्नु भन्दा यही पोखराको घरमा मनाउछु ।

गाउँमा बुबा हुनुहुन्छ। बुबालाई कन्भिन्स गर्नुपर्नेछ । नआउने सम्भावना धेरै छ भनेर पूर्व तयारी भने गराईसकेको छु । त्यसैले यसपाली गाउँ जाने सम्भावना निकै कम छ । गाउँमा गइहालेको खण्डमा सोही दिन गएर बुबाको हातबाट टिका लाएर फर्कन सक्छु तर कसरी सम्भव होला, त्यतिबेला पिसिआर टेष्ट पाइन्छ पाइन्न । बाटामा हिड्न पाइन्छ कि पाइन्न । डराएर कसरी गाउँमा जाने ।

‘मेरो छोरा रवीन न्यौपाने, छोरी रन्जिता न्यौपाने र ज्वाई राजीव लम्साल अष्ट्रेलियाको मेलबर्नमा हुनुहुन्छ । उनीहरुले त्यही मनाउनछन् । म र श्रीमती भगवती न्यौपाने पोखरामा रहन्छौ, गाउँमा बुबालाई सम्झाउछु’ गायक न्यौपानेले भन्नुभयो ।

उहाँको गाउँमा गाउँभरका मानिस क्षेत्रपाल र कालिकाको मन्दिरमा जम्मा भएर सबै परिवारले एकै ठाउँमा टिका लगाउने चलन छ । ‘अन्य वर्षमा सबैजना दशैं मनाउने गाउँ पुग्ने चलन थियो, यसरी जाँदा सबैजना आफन्त साथीभाई भेटघाट हुन पाइथ्यो । मन्दिरमा गएर पूजा गथ्र्यौ । नवरात्री भरी क्षेत्रपाल र कालिका मन्दिरमा जम्मा भएर खैजरी मुजुरा बजाएर भजन किर्तन गाउने नाच्दै रमाउथ्यौ । नवमीमा पाठा पूजा गरेर झनै रमाइलो गरिन्थ्यो । दशैंको दिनमा गाउँका सबै एकैठाउँमा टिका थाप्दा मज्जा झनै बेग्लै’ गायक न्यौपानेले भन्नुभयो ।

टिकालगाइसकेपछि घर–घरबाट लिएर गएका रोटी प्रसादहरु सबैले खाने चलन त्यहाँ रहेको उहाँले खुलाउनुभयो । प्रसाद खाएपछि सबै मिलेर नाचगान गर्दाको रौनकता छुट्टै खालको हुने गायक न्यौपाने स्मरण गर्नुहुन्छ । मन्दिरमा सामुहिक टिका लगाउँदा दक्षिणा आदान प्रदान भने गरिदैन । छोरीलाई, ज्वाईचेलीलाई आफ्नै घरमानै दिने हो । मन्दिरमा प्रसादमा बाहेक केही खर्च हुदैन । यो वर्ष त्यस्तो हुन नपाउने भएपछि न्यौपानेलाई खल्लो लागिरहेको छ ।

‘अघिल्ला वर्ष कार्यक्रममा हिड्थे, सांगीतिक कार्यक्रममा व्यस्त हुन्थे, क्लबका कार्यक्रम, मेला महोत्सवमा बोलाउथे, त्यसले गर्दा आर्थिक रुपमा सम्पन्नता थियो भने यो वर्ष सबैतिर चपेटा परेको छ । न आर्थिक अवस्था राम्रो छ । अहिलेसम्मका दशैं मध्ये सबैभन्दा नरमाइलो दशैं यसपटक हुने भयो । मेरो मात्र नभएर सबैकौ यस्तै हुँदैछ’ उहाँले सुनाउनुभयो ।

न्यौपानेको मानसपटलमा बाल्यकालको दशैं सधै स्मरणमा आउँछ । अरु समयमा भन्दा दशैंको रमाइलो बाल्यकालमा हुने अनुभव उहाँसँग छ । उहाँ भन्नुहुन्छ–‘वास्तवमा दशैं बाल्यकालमा जति रमाइलो हुन्छ, त्यति रमाइलो त्यसपछि हुने रहेनछ । बाल्यकालमा लठ्ठो बाट्ने, पिङ हाल्ने, खेल्ने, दशंै आउँदैछ भनेपछि वरपर बाटो खन्न हिड्ने, रातो माटो, कमेरे माटो लिन जाने, घर पोत्ने, घर अगाडि सरसफाइ गर्ने त्यसपछि टिका लगाउने गरिन्थ्यो ।’

टिका लगाउनेसेलरोटी अर्सा, झिलिङ्गा लगायतका मिठा परिकार खादा साह्रै आनन्द आउथ्यो । विशेषगरी मलाई मासको फुरौला मनपथ्र्यो । यि परिकार खादै टिका जमरा लगाउदै छुट्टै उत्साह हुन्थ्यो । बाल्यकालको दशैं जस्तो अब उमेर अवस्थाले गर्दा समेत त्यस्तो नहुने न्यौपाने बताउनुहुन्छ ।

वि.स. २०४६ सालमा रेडियो नेपालमा स्वर परीक्षा दिई उत्रिर्ण भए पश्चात ‘वलाम देवी थान’ बोलको गीत रेकर्ड गरी नेपाली साँगीतिक फाँटमा डेब्यु गरेका न्यौपानेले एक हजार भन्दा बढी गीतमा आफ्नो सुमुधुर आवाज भरिसक्नुभएको छ । लोकदोहोरी गीत प्रतिष्ठान नेपालको केन्द्रीय अध्यक्ष भैसक्नुभएका न्यौपाने रेडियो नेपाल गण्डकी प्रदेश कार्यालय पोखराको कार्यक्रम अधिकृत हुनुहुन्छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button