साहित्यिक पर्यटनको गन्तव्य पोखरा २७ स्थित कवि शिरोमणि जन्मस्थल

पोखरा न्यूज । नेपाली साहित्य जगतका आधुनिक कालका प्रतिभा कविशिरोमणि लेखनाथ पौडेलको पोखरा महानगरपालिका – २७ अर्चले स्थित जन्म घरलाई साहित्यिक पर्यटकीय तीर्थस्थलको गन्तब्यका रुपमा स्थापित गर्न लागिएको छ । कवि शिरोमणि लेखनाथ जन्मस्थल विकास समितिले लेखनाथको जन्मस्थललाई समेटेर साहित्यिक पर्यटनको आकर्षक गन्तव्यका रुपमा विकास गर्ने लक्ष्यका साथ् कवि पौडेलको जन्म स्थलको सम्बर्द्धन र रेखदेख गर्दै आएको छ ।

समितिले कवि शिरोमणिको जन्मघर समेतलाई समेटेर कवि शिरोमणि सङ्ग्रहालय, तरुण तपसी पार्क निर्माण लगायतका कार्यहरु सम्पन्न गरेको  छ । कवि शिरोमणिको जन्म घरलाई पुरानै स्वरुपमा चिटिक्क सजाएर राखिएको छ । जन्मघर परिसरमा नै कवि शिरोमणि सङ्ग्रहालय भवन निर्माण गरी उहाँका बाल्यकालदेखि मृत्युसम्म प्रयोग भएका सामग्री र त्यस समयका रहनसहन तथा रीतिरिवाज झल्कने चलनचल्तीका सामग्री राखिएको छ ।

सङ्ग्रहालयमा हाल कवि शिरोमणि पौडेलले प्रयोग गरेका सामग्रीहरु राखिएको छ भने निकट भविष्यमा साहित्यिक जीवन लगायतका हरेक पक्ष समेटिने किसिमले सङ्ग्रहालयको बिकास गरिने समितिले जनाएको छ । शिरोमणिको जन्मस्थलमा गएर कविता रच्ने वा अन्य साहित्य सिर्जना गर्नेका लागि जन्मघर वरपर प्रतीक्षालयलगायतका संरचना तथा पार्क निर्माण गरिएको छ ।

लेखनाथ चोकदेखि करिव ५ किलोमिटर दूरीमा पर्ने जन्मस्थल र सङ्ग्रहालयको रेखदेखको लागि समितिले कर्मचारी खटाएको छ । जन्म घर र सङ्ग्रहालयको अवलोकन गर्न जाने पर्यटकका लागि प्रतिव्यक्ति २० रुपैया प्रवेश शुल्क कायम गरिएको छ । पर्यटकले कवि शिरोमणिका मर्मस्पर्शी कविता सहज रुपमा वाचन गर्न सकुन भन्ने हेतुले समितिले ठाउँ ठाउँमा कवि शिरोमणिका कविता मार्बलमा कुँदेर राखेको छ ।  स्यानी चौर, ठूली पोखरी, तरुणतपसी पार्क, बतासे, बूढाचौर, गैरापोखरीलगायतका मुख्य चोकमा उनका मर्मस्पर्शी कविता पढ्ने व्यवस्था मिलाइएको छ ।

नेपाली साहित्याकाशमा अतुलनीय योगदान गर्नुभएका लेखनाथको जन्मस्थलमा देश-विदेशका साहित्यानुरागीलाई स्थलमा पु¥याउने लक्ष्यका साथ समितिले बाटोघाटोदेखि उहाँका जीवनका हरेक पक्ष र योगदानलाई जीवन्त बनाउने गरी काम गरिरहेको समितिका अध्यक्ष विश्वप्रकाश लामिछानेले जानकारी दिनुभयो । अध्यक्ष लामिछानेका अनुसार कवि शिरोमणिको जन्मस्थल अर्घौं अर्चलेको विकासका लागि पूर्वाधार निर्माणलगायतमा दुई करोड रुपैयाँ भन्दा बढी खर्च भइसकेको छ । ओझेलमा परिसकेको जन्मस्थल क्षेत्रको विकास अघि बढेको र स्थानीय तह, प्रदेश तथा सङ्घ सबैको सकारात्मक सोचका कारण स्थानीय उत्साहित भएको अध्यक्ष लामिछानेले बताउनुभयो । निर्माण सम्पन्न भएका  पूर्वाधारका अतिरिक्त समितिले अघि सारेका योजनालाई सम्पन्न गर्न पनि लगभग रु १० करोड लाग्ने उहाँले बताउनुभयो ।

केही वर्षअघिसम्म कविको जन्म जयन्ती समेत अन्यत्र नै मनाउन थालिएकोमा कवि शिरोमणिको जन्मस्थान नै ओझेलमा पर्ने हो कि भन्ने चिन्ता थपिँदै गएको अवस्थामा  पछिल्ला वर्षमा  साहित्यिक पर्यटकीय गन्तव्यका रुपमा विकास हुँदै गएकोमा खुसी लागेको  समितिका उपाध्यक्ष एवम् लेखनाथ साहित्य प्रतिष्ठानका अध्यक्ष पद्यराज ढकालले बताउनुभयो ।

समितिले कवि शिरोमणिको जन्मस्थल आएर यही बसी साहित्य सिर्जना गर्न चाहने सर्जकका लागि सिर्जना ग्राम निर्माणको प्रक्रिया अघि बढाएको छ । बहुउद्देश्यीय योजनाअन्तर्गत सिर्जना ग्रामका लागि गत आर्थिक वर्षमा पोखरा महानगरपालिकाको गौरवपूर्ण आयोजनाका रुपमा रु ५० लाख रकम छुट्टयाएको समितिका सह- सचिव रामप्रसाद तिमिल्सिनाले जानकारी दिनुभयो  ।   हाल गुरुयोजना तयार गरिएको र  डीपीआर तयार पार्ने  कार्य अघि बढेको तिमिल्सिनाले बताउनुभयो ।

अर्घौं चोकदेखि कवि शिरोमणिको जन्मघरबीचको बाटो ठूली पोखरीमा तरुणतपसी पार्क निर्माण गरिएको बताउदै सहसचिव तिमल्सिनाले  उक्त स्थानलाई साहित्यिक पर्यटनको महत्वपूर्ण आकर्षणका रुपमा अघि बढाउने गरी कामहरू अघि बढेको   जानकारी दिनुभयो । समितिले कवि शिरोमणिलाई पहिलोपटक कविता लेख्न प्रेरणा मिलेको दोपहरे पाखालाई कविकुञ्ज पार्क बनाउने सोच राखेको छ । जन्मस्थल परिसरमा समितिले निर्माण गरेको वनभोज स्थलका साथै सङ्ग्रहालयका कारण पनि  लकडाउन अघि विभिन्न विद्यालयबाट वनभोज र सङ्ग्रहालय अवलोकन गर्न आउने क्रम बढेको र कोरोना संक्रमणको जोखिम हटेपछि पर्यटकहरुको चाप बढ्ने तिमल्सिनाले बताउनुभयो ।

कविशिरोमणि पौडेलले पिता दुर्गादत्त पौडेल र माता वसुन्धरा पौडेलका कोखबाट विस १९४१ पुस १५ गते यहि रमणीय स्थलमा जन्म भएको थियो । कविता श्रृङ्गार पच्चिसी र मानसाकषीणी उहाँको पहिलो नेपाली भाषामा लेखिएका कविता रुपमा मानिन्छन्। बुद्दिबिनोद, सत्यकली, गीताञ्जली, तरूण तपसी, लालित्य, कृष्ण- केलि नाटक लगायत डेढ दर्जन भन्दा बढी उहाँका  प्रख्यात कृतिहरु रहेका छन् । उहाँलाई नेपाली साहित्यका आधुनिक कालका प्रवर्तक एवम् परिष्कारवादी धाराका अगुवा कविका रूपमा लिने गरिन्छ । २००८ सालमा राजा त्रिभुवनबाट कविशिरोमणिको उपाधि प्राप्त गरेका कवि पौडेललाई २०११ साल पुष २० गते तत्कालिन प्रधानमन्त्रि मातृकाप्रसाद कोइरालाको समुपस्थितिमा सम्मान स्वरूप साहित्यिक रथयात्रा गरिएको थियो।

२०२२ साल फागुन ६ गते शिवरात्रीका दिन उहाँको देवघाटमा देहावसान भयो। प्रज्ञा प्रतिष्ठानले मृत्युपर्यन्त उनको नाममा २०२६ सालमा त्रिभुवन पुरस्कार प्रदान गरेको थियो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button