लुम्बिनी प्रदेश सरकारका प्रवक्तालाई कोरोना

रुपन्देही । लुम्बिनी प्रदेशका प्रवक्ता एवं भौतिक पुर्वाधार विकास मन्त्री बैजनाथ चौधरीलाई कोरोना भाइरस सङ्क्रमण भएको छ ।

सामान्य रुघा लागेपछि शुक्रबार पिसिआर परीक्षण गर्दा उहाँमा कोरोना पुष्टि भएको हो । मन्त्री चौधरीकी श्रीमती द्रौपती, निजी सुरक्षाकर्मी सुन्दर बुढाथोकी, चालक यमबहादुर थापा र भान्से पार्वती केवटलाई पनि कोरोना भाइरस सङ्क्रमण देखिएको मन्त्री चौधरीले जानकारी गराउनुभयो । उहाँले आफ्नो सम्पर्कमा रहेका सबैलाई सजग रहन आग्रह गर्नुभएको छ ।

यसअघि सभामुख पुर्णबहादुर घर्ती, उपसभामुख कृष्णी थारु, आन्तरिक मामिला तथा कानूनमन्त्री कुलप्रसाद केसी, प्रदेश सभाका सदस्यहरु सहित कर्मचारी र सुरक्षाकर्मी गरी ३५ जनामा कोरोना भाइरस सङ्क्रमण देखिएको प्रदेश सभाका जनस्वास्थ्य निरीक्षक डिलाराम भुसालले जनाकारी दिनुभयो ।

भेरीमा दुई कोरोना सङ्क्रमितको मृत्यु

नेपालगञ्जस्थित भेरी अस्पतालमा उपचाररत दुई कोरोना सङ्क्रमितको गएराति मृत्यु भएको छ । नेपालगञ्ज उपमहानगरपालिका वडा नं.१०, भृकुटीनगर, निवासी ६१ वर्षीय पुरुष र नेपालगञ्ज उपमहानगरपालिका वडा नं. १८, कारकाँदो निवासी १८ वर्षीय युवतीको उपचारको क्रममा भेरी अस्पताल नेपालगञ्जमा मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालयका कोरोना स्रोत व्यक्ति नरेशबाबु श्रेष्ठले जानकारी दिनुभयो ।

उहाँकाअनुसार, असोज २५ गते अस्पताल भर्ना हुुनभएका पुरुषको श्वासप्रश्वासमा समस्या थियो । सङ्क्रमित पुरुषलाई रोगको प्रकृति अनुसार गरिनुपर्ने प्लाज्मा थेरापी लगायत सबै प्रकारको उपचार दिँदै गर्दा समेत बिरामीको अवस्थामा सुधार नआएपछि आइसीयूमा उपचारकै क्रममा गएराति नौ बजे मृत्यु भएको हो ।

मृतक पुरुषको असोज २४ गते स्वाब सङ्कलन गरिएको थियो भने पिसिआर रिपोर्ट असोज २५ गते पोजेटिभ आएको थियो । श्वासप्रश्वासमा समस्या भएपछि असोज २९ गते अस्पताल भर्ना भएकी १८ वर्षीय युवतीको गएराति १० बजे मृत्यु भएको छ । उहाँलाई रोगको प्रकृति अनुसार गरिनुपर्ने सबै प्रकारको उपचार दिदै गर्दा समेत बिरामीको अवस्थामा सुधार नआएपछि आइसीयूमा उपचारकै क्रममा मृत्यु भएको स्रोत व्यक्ति श्रेष्ठले बताउनुभयो ।प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङले मृतकका आफन्तसँगको समन्वयमा शवको व्यवस्थापन तयारी भईरहेको जानकारी दिनुभयो । बाँकेमा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या २९ पुगेको छ भने बाहिरी जिल्लाबाट आई उपचारको क्रममा अस्पतालमै मृत्यु हुनेको सङ्ख्या १३ पुगेको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button