नवरात्रको पहिलो दिन आज घटस्थापना : घरघरमा जमरा राखियो

पोखरा न्यूज संवाददाता । नवरात्रको पहिलो दिन आज घटस्थापना । घटस्थापनाको अवशरमा नेपालीहरुको घरघरमा दशैको जमरा राखिएको छ ।
दशैको पहिलो दिन घटस्थापनाका अवशरमा हरेक नेपालीको घरघरमा जमरा राख्ने गरिन्छ । यहि अवशरमा काठमाडौंको बसन्तुरमा रहेको दशैंघरमा पनि जमरा राखिएको छ । नेपाली सेनाको टोलीले मंगल धुन बजाएर बढाईं गरेसँगै आज विहान ११ः ४६ को शुभसाइतमा जमरा राखिएको हो । कोभिडका कारण यो वर्ष केही समस्या भएपनि स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर जमरा राखिएको शार्दुल जंग गुल्मका गुल्मपति सेनानी विकाश शाक्यले बताउनुभयो ।

विश्व नै कोभिडबाट प्रभावित भएपनि पूजालाई सुरक्षाका सम्पूर्ण मापदण्ड अपनाएर निरन्तरता दिइएको उहाँले बताउनुभयो । विहानै नित्यकर्म गरी नजिकको नदी वा चोखो स्थलबाट बालुवा वा माटो ल्याइ गाइको गोबरले लिपपोत गरिएको कोठामा वा दशैंघरमा जमरा रोप्ने गरिन्छ । घटस्थापना गर्दा पूजाकोठा वा दशैं घरमा विधिपूर्वक दियो, कलश र गणेश स्थापना गरी वैदिक विधिपूर्वक शक्तिकी अधिष्ठात्री दुर्गाको आह्वान गरी पूजा आरम्भ हुन्छ ।

नवरात्रभर दुर्गाका तीन रुप महाकाली, महालक्ष्मी र महासरस्वतीको विधिपूर्वक पूजाराधना गरिन्छ । महाकाली शक्ति, महालक्ष्मी धनधान्य र ऐश्वर्य तथा महासरस्वतीलाई विद्या र बुद्धिको प्रतीकका रुपमा पूजाराधना गर्ने वैदिककालदेखिको परम्परा छ । नवरात्रको पहिलो दिन दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौंँ दिन स्कन्दमाता, छैटौँ दिन कात्यायनी, सातौँ दिन कालरात्रि, आठौँ दिन महागौरी र नवौँ दिन सिद्धिदात्रीको पूजाराधना गर्ने गरिन्छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button