मिडिया र संगीतले चिनायो : सन्तोष बस्याल

पोखरा । सञ्चारकर्मी समेत रहनुभएका गायक सन्तोष बस्यालको जन्म भारतको चन्डीगढमा भएको हो । उहाँको पुख्यौली थलो भने पर्वत जिल्लाको पैयुं गाउंपालिका वडा नम्बर २ त्रिवेणी हो ।

बुबा रोजगारीको शिलशिलामा भारत पसेको कारण उहाँको अक्षराम्भ भारतबाटै सुरु भयो । कक्षा ३ मा अध्ययन गर्ने समयमा उहाँ परिवार सहित नेपाल फर्किनुभएको थियो । नेपाल फर्किएपछि बस्यालको बाल्यकाल पुख्र्यौली थलो पर्वतमानै बित्यो ।

बस्यालको रुचि गीतसंगीतको क्षेत्रमा सानैदेखि थियो । स्कुलमा अध्ययनका क्रममा उहाँले गीत सुनाउने गर्नुहुन्थ्यो । यसरी सांगीतिक कोशेली पस्कदा प्राप्त सर्पोटका कारण उहाँलाई अगाडि बढ्न हौसाउथ्यो । स्कुलमा हरेक शुक्रबार आयोजना गरिने सांगीतिक कार्यक्रममा उहाँले निरन्तर प्रस्तुति राख्नुहुन्थ्यो ।

अरुले कार्यक्रममा सहभागी बन्न नाम टिपाउन परेपनि बस्यालको नाम शिक्षकले आफै चढाइदिन्थे । यसले उहाँमा थप हौसला मिल्थ्यो । त्यस समयमा उहाँले आफै लय र शब्द सिर्जना गरेर लोक गीत सुनाउने गर्नुहुन्थ्यो । गाउँमा रहदा रेडियो निकै सुन्ने गर्नुभएका उहाँलाई पछि आधुनिक गीतले ध्यान तान्यो । सो समयमा साथमा रेडियो कहिल्यै नछुट्ने गरेको उहाँ बताउनुहुन्छ ।

जब २०६५ सालको प्रवेशिका परीक्षा उत्रिर्ण हुनुभयो त्यसपछाडि उहाँलाई पढाइलाई निरन्तरता दिन समस्या प¥यो । बस्यालको प्रवेशीका परीक्षामा राम्रो अकं आएको थियो । उहाँ विज्ञान विषय अध्ययन गर्न चाहनुहुन्थ्यो । घरको आर्थिक अवस्थाका कारण यो सम्भव भएन । कसरी अगाडि बढ्ने, के पढ्ने, कहाँ गएर पढ्ने भन्ने दोधार थपियो । पढाईलाई निरन्तरता नदिने की भन्ने समेत उहाँको मनमा आउन थाले । जहाँ समस्या तहाँ समाधान भनेझै उहाँका छिमेकी तीर्थ गुरुङले उहाँको यात्रामा महत्वपूर्ण भुमिका खेल्नुभयो । गुरुङकै पहलमा अध्ययनको लागि बस्यालको आगमन पोखरामा भयो । बस्याल व्यवस्थापन संकाय अध्ययनका लागि जनप्रिय बहुमुखी क्याम्पसमा भर्ना हुनुभयो । उहाँलाई सहयोग गर्ने गुरुङको निधन भैसकेको छ । गुरुङको सहयोगलाई बस्यालले सम्झिरहनुभएको छ ।

संगीतको उर्वरभूमि पोखरामा आइसकेपछि सन्तोषको सांगीतिक यात्रामा सहजता हुन थाल्यो । उहाँको औपचारिक गायन यात्रा भने २०७० सालमा मैले तिमीलाई बोलको गीतमा आवाज भरेर भएको हो । पोखरामा आयोजित एलिजा सिङ्गिङ स्टारमा कार्यक्रममा वेष्ट भोकल अवार्ड जितेपछि उहाँलाई यो अवसर आएको थियो । जीवन सुनारको शब्द र संगीतको यो गीतले उहाँलाई धेरै माझ चिनायो । ओम गुरुङसँगको सहकार्यमा गरेको रेशम फिरिरि र सहिमा श्रेष्ठसँगको सहकार्यमा तयार गरिएको ढाट्यो मायाले गीतले सन्तोषको परिचयलाई विस्तार ग¥यो ।

सन्तोषले कानैमा झुम्का गीतमा संगीत भर्नुभएको छ । सहिमा श्रेष्ठको आवाजमा रहेको यो गीतको रचना जेनिमा ठकुरीले गर्नुभएको हो । यस्तै योगेश काजीको संगीत, राम्जी घिमिरेको शब्द अनि सन्तोषको आवाजमा रैछु बैगुनी गीत तयार भएको छ । दिननाथ बांस्तोलाको शब्द संगीतको दशैं गीतमा समेत उहाँको आवाज सुन्न पाइन्छ । राम्जी घिमिरेको शब्द, एनजे सागर शाहको संगीतमा सन्तोषले आवाज भरेको माछापुच्छ्रे हिमचुलीको गीत रेर्कड भएको छ । अजुदा थापा र सन्तोषको आवाजमा वीर नेपाली गीत तयार हुँदैछ । यो गीतको कम्पोज र रचना बस्यालकै हो संगीत संयोजनको जिम्मा सुनिल थापालाई दिइएको छ । आकास दाहालको शब्दमा बस है पियारी गीत सन्तोषकै आवाज र कम्पोजमा तयार हुँदैछ ।

यतिबेला सन्तोष बस्याल र समीक्षा अधिकारीको आवाजमा रहेको गीत एउटै मुटु रिलिजको तयारीमा छ । स्लो मोसन पिक्चर्सको प्रस्तुतिमा निर्माण भएको गीतको भिडियोमा प्रथम क्षेत्री, एन्जिला वाँनिया र सौगात मिश्रको अभिनय हेर्न पाइनेछ । प्रथम क्षेत्रीको निर्देशनमा भिडियो निर्माण भएको हो । क्षेत्रीकै युट्युब च्यानलबाट गीत सार्वजनिक हुनेछ । भिडियोको छायाकंन काठमाण्डौमा गरिएको हो । इश्वर खड्का विशालको शब्द, बाबुल गिरीको संगीतमा तयार भएको यो लोकपप गीत हो । यो गीतबाट युगल गायनतर्फको यात्रा सहज बन्ने बस्यालको अपेक्षा छ ।

उहाँले पोखराका दोहोरी साँझ तथा रेष्टुरेन्टमा गीत सुनाएर धेरै संगीत पारखीको माया पाउनुभएको छ । विसौनी दोहोरी साँझबाट सुरु भएको उहाँको प्रत्यक्ष गायन यात्रा दौतरी दोहोरी साँझ, फेवा दोहोरी साँझ, हाम्रो दोहोरी साँझ, अन्नपूर्ण गार्डेन रेष्टुरेन्ट, मेलोडि क्याफे, मुग्लान रेष्टुरेन्ट हुँदै कोरोना महामारी अगाडिसम्म ओपन हाउसमा आफ्नो प्रस्तुति राख्नुहुन्थ्यो ।

बस्याल सञ्चार क्षेत्रमा समेत उतिकै सक्रिय हुनुहन्छ । उहाँका रेडियोमा बोल्न रहर भने बाल्यकालदेखिकै हो । रेडियोका कसरी बोल्छन् भन्ने प्रश्न उहाँको मनमा आउने गथ्र्यो । पर्वतबाट पोखरा आएपछि पोखाराका एफ एममा सञ्चालन हुने प्रतिभा सुनाउन पाइने कार्यक्रममा उहाँले फोन गर्नथाल्नुभयो । यसरी फोन गर्दै गर्दा स्टुडियोमा बोलाएर अन्तवार्ता दिने अवसर उहाँलाई मिल्यो । यसले सञ्चाल क्षेत्रमा काम गर्ने रहर झनै बढायो । उहाँले रेडियो प्रस्तोता तालिम गर्नुभयो । पोखराको रेडियो सफलतामा कार्यक्रम सञ्चालन गरेर सञ्चार क्षेत्रको यात्रालाई अगाडि उहाँले बढाउनुभयो ।

केही समय सफलतामा काम गरेपछि उहाँले पोखराको रेडियो अन्नपूर्णमा कर्मचारी आवश्यकता भएको थाहा पाउनुभयो । फाराम भरेर अन्तवार्ता दिई छनोट हुन उहाँ सफल बन्नुभयो । २०६९ सालमा पार्ट टायम आरजेबाट उहाँले रेडियो अन्नपूर्णमा काम थाल्नुभएको थियो । त्यसपछि लाइवेरियन हुँदै उहाँ हाल समाचार शाखा र कार्यक्रम शाखामा कार्यरत हुनुहुन्छ । यसका अलावा परिचय नेटवर्क मार्फत समेत सञ्चार क्षेत्रको यात्रालाई अगाडि बढाउनुभएको छ । उहाँ पृथ्वीनारायण क्याम्पस स्नातक तह आमसञ्चार र पत्रकारिता विषयको विद्यार्थी समेत हुनुहुन्छ । २८ वर्षका बस्यालको परिवारमा बाबा, आमा, हजुरबुबा, हजुरआमा, भाई, बहिनी हुनुहुन्छ ।

कुराकानीका क्रममा बस्याल मिडियामा र सांगीतिक क्षेत्रमा रहरले लागेको बताउनभयो । संगीतमा निखारता थप्न उहाँले सिकाइलाई निरन्तरता दिइरहनुभएको छ । जोजिजु म्युजिक स्कुल, गुरुकुल म्युजिक स्कल हुँदै त्रिवेणी संगीतालयमा उहाँ संगीत सिक्नुहुन्छ । अब मिडिया र संगीत दुवैलाई सँगसँगै लाने उहाँको तयारी छ । ‘मिडिया र संगीतले मलाई चिनायो, दुवैकर्मलाई सँगै लान्छु । आफै केही गरौं की भन्ने समेत छ’ पोखरा न्यूजसँग कुरा गर्दै उहाँले भन्नुभयो ।

आफूले मनमा ठुलो सपना नभभने नपालेका उहाँ बताउनुहुन्छ । ‘ठूलो सपना छैन, लयमा हिडौं, लयमा हिड्न सके पक्कै राम्रो हुन्छ । काममा लगाव दिन्छु । लगावका कारण भविष्य राम्रो बन्छ भन्ने विश्वास छ’ उहाँले भन्नुभयो । कार्यक्रमको सिलसिलामा नेपालका धेरै ठाउँमा पुगिसक्नुभएका बस्यालमा दर्शकलाई आर्कषित गर्ने कला रहेको छ ।

बस्याल सांंगीतिक कलाकार संघ नेपाल कास्की, चलचित्र पत्रकार संघ नेपाल कास्की, नेपाल प्रेस यूनियन कास्की, ओम फाउण्डेसन नेपाल कास्की, नेपाल पत्रकार महासंघ कास्की, पोखरेली युवा सांस्कृतिक परिवार, राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान पर्वत आदि संस्थामा आवद्ध हुनुहुन्छ । पछिल्लो क्रममा कोरोना महामारीका कारण सबै क्षेत्रमा असर परेकोमा भने बस्याललाई चिन्ता लागेको छ । चाडै अवस्था सहज हुने र आफूले गरेका कर्ममा पुनः पहिलाकै जसरी क्रियाशील हुन पाउने विश्वास भने उहाँमा छ ।

 

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button