घरमै बसेर सुरक्षित साथ दशैं मनाउ : निर्देशक लामिछाने

पोखरा । चलचित्र निर्देशक घनश्याम लामिछाने यसपालीको दशैं सामान्य तरिकाले पारिवारिक रमझमका बीच मनाउने तयारीमा हुनुहुन्छ । ‘यसपटकको दशैं   एकदम पारिवारिक बाताबरणमा मनाइदै छ । गएको वर्षमा जस्तो भ्रमणका कुनै कार्यक्रम छैनन् । सपिङमा पनि मन छैन । सामान्य तरिकाले पारिबारिक रमझम गरि मनाइदै छ’ पोखरा न्यूजसँगको कुराकानीमा निर्देशक लामिछानेले भन्नुभयो ।

हालसम्म मनाएका दशैं मध्यमा २०७१ सालको दशैं उहाँको मानसपटलमा आइरहन्छ । किनकी सो दशैं साह्रै रमाइलो भएको उहाँ सुनाुउनुहुन्छ । लामिछाने भन्नुहुन्छ-‘२०७१ सालको दशै विशेष थियोे किनकी सबै परिवारका सदस्यले ९० वर्षीय हजुरआमा सुमित्रा लामिछानेको हातबाट टीका ग्रहण गरेका थियौं । परिवारमा हजुरबुबा, हजुरआमा सहितका दशैं साच्चैनै बिशेष हुने रहेछ, सोही कारण २०७१ सालमानै मेरो रमाइलो दशैं बनेको थियो । अहिले मैले ति वृद्ध हजुरबुवा हजुरआमालाई मिस गरिरहेको छु, हाम्रो घरका मात्र सदस्य नभै पुरै हाम्रो खलकका सबैजना सो वर्षको दशैंको टीकामा सम्मिलित हुनुहुन्थ्यो ।’

अर्को वर्ष २०७२ सालमा हजुरआमा को दुःखद निधन भयो । हजुरआमाको निधनका कारण दशैं खल्लो भयो । दशैं मात्र नभएर तिहार लगायतका सबै चाड समेत खल्लो भए । वर्षभरी नै हजुरबुबा र हजुरआमालाई धेरै मिस गरियो । आजकाल पनि केही बिशेष दिनहरूमा उहाँहरूको बढी याद आउँने लामिछाने बताउनुहुन्छ ।

 

सबैजनालाई आफुले जे सकिन्छ सोही अनुसार दशैं मनाउन उहाँ आग्रह गर्नुहुन्छ । ‘दशै यस्तो चाड हो जस्मा कुनै निश्चित नियम वा प्रक्रिया पुरा गर्नुपर्छ भन्ने छैन, जस्ले जे गर्न सक्छ त्यसरीनै मनाउन सकिन्छ । यो विशुद्ध पारिवारिक र सास्कृतिक पर्व हो । यसलाई हामीले आफ्नै तरिकाले रमाएर मनाउन सक्छौ । हालको यो विषम परिस्थितिमा बाहिर गएर संक्रमण लाई बढाउने काम पुरै रोक्नुपर्छ । त्यसैले घरमै बसेर सुरक्षित साथ यो वर्षको दशंै मनाउ भन्न चाहन्छु’ उहाँले भन्नुभयो ।

त्यसोत निर्देशक लामिछाने हाल टेली सिरियल निर्देशनमा व्यस्त हुनुहुन्छ । उहाँको निर्देशनमा ‘आधा खुशी’ टेलि सिरियल निर्माण भइरहेको छ । आफुलाई चलचित्रकर्मी भन्न रुचाउने लामिछाने निर्देशन पेशामा बिगत दुई दशकदेखि सक्रिय हुनुहुन्छ । लामिछानेले वि.स.२०५७ सालमा पोखराबाट ‘प्रेम मिलन’ चलचित्रको लेखन निर्देशन गरी नेपाली चलचित्रको क्षेत्रमा आफ्नो अस्तित्व खोज्न संघर्ष सुरु गर्नुभएको थियो । यो बीचमा आफ्नो छुट्टै पहिचान बनाउन उहाँ सफल हुनुभएको छ ।

उहाँले २०५८ सालमा ‘प्रेम पागल’ चलचित्रको लेखन निर्देशन गर्नुभयो । २०५९ सालमा गुरुङ फिल्म ‘रोधी’ को पटकथा संवाद र निर्देशन गर्ने मौका उहाँले पाउनुभयो । २०६० सालमा गुरुङ संस्कृतिमा आधारीत नेपाली फिल्म ‘च्यागी’ को निर्देशन गर्नुभयो भने ‘कर्मधी’ चलचित्र लेख्नुभयो । उहाँले निर्देशन गरेका नेपाली चलचित्र धौली, पन्चेबाजा र अग्निदहन दर्शकले रुचाए ।

२०६० सालमा ‘सिङ्गम साक्ष मनाङ’ र २०६५ सालमा ‘लभ्ली पोखरा’ वृत्तचित्र मार्फत चिनिनुभएका उहाँलाई ‘आई एम खगेन्द«’ वृत्तचित्रले समेत धेरै माझ चिनायो । उहाँ रगंमञ्चमा समेत उतीकै सक्रिय हुनुभएको छ । हालसम्म एक दर्जन स्टेज नाटक लेखन, अभिनय र निर्देशन गरि रंगमञ्चतर्फ समेत उहाँले बेग्लै छाप छोड्नु भएको छ । यो बीचमा उहाँ म्युजिक भिडियो निर्देशनमा समेत उतीकै व्यस्त हुनुभयो ।

२०७४ सालमा उहाँले निर्देशन गरेको चलचित्र अग्निदहनलाई चलचित्र विकास बोर्डले विशेष चलचित्र अवार्डले सम्मानित गरेको थियो । आठौं डि-सिने अवार्डमा चलचित्र धौलीका लागि मौलिक चलचित्र निर्देशन सम्मान २०७३ उहाँले प्राप्त गरिसक्नु भएको छ । राष्ट्रिय जनसांस्कृतिक महासंघ नेपालद्वारा सम्मानित भइसकेका उहाँले सम्पदा उत्कृष्ट निर्देशक अवार्ड २०७६ हात पार्नुभयो । यसका अलावा उहाँसम्मिलित केही छोटा चलचत्रि र बृत्तचित्रहरुले समेत विभिन्न अवार्ड पाइसकेका छन् ।

 

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button