गण्डकी प्रदेशमा ३ महिनायता भएका सवारी दुर्घटनामा ३९ को मृत्यु

टेकराज पोखरेल । चालु आर्थिक वर्षको तीन महिनामा सवारी साधन दुर्घटनामा परी गण्डकी प्रदेशमा ३९ जनाले ज्यान गुमाएका छन् ।

दुर्घटनाका कारण सबैभन्दा बढी कास्कीमा ११ जनाले ज्यान गुमाएको गण्डकी प्रदेश ट्राफिक प्रहरी कार्यालय पोखराले जनाएको छ ।
प्रदेशका ११ जिल्लामध्ये सबैभन्दा धेरै सवारी साधन दुर्घटना नवलपरासी (बर्दघाट–सुस्तापूर्व)मा भए पनि ज्यान गुमाउने कास्कीमा धेरै छ । गण्डकी प्रदेश ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक प्रभु ढकालका अनुसार प्रदेशका ११ जिल्लामा तीन महिनाको अवधिमा जम्मा १०२ वटा सवारी साधन दुर्घटना परेका छन् । नवलपरासी पूर्वमा मात्रै ४८ वटा सवारी साधन दुर्घटनामा परेका भन्दै उहाँले ती दुर्घटनामा सात जनाले ज्यान गुमाएका जानकारी दिनुभयो ।

कास्कीमा २२ वटा सवारी साधन दुर्घटनामा ११, तनहूँमा १० वटा सवारी साधन दुर्घटनामा चार, स्याङ्जामा नौ वटा सवारी साधन दुर्घटनामा १०, लमजुङमा र बागलुङमा चार÷चार वटा सवारी साधन दुर्घटनामा दुई÷दुई जनाले ज्यान गुमाएका ढकालले बताउनुभयो । त्यस्तै, पर्वतमा दुई वटा सवारी साधन दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने म्याग्दीमा भएको एउटा सवारी साधन दुर्घटनामा एक जनाले ज्यान गुमाएका छन् । गण्डकी प्रदेशको गोरखा र मुस्ताङमा एक÷एक वटा सवारी साधन दुर्घटनामा परेका भएपनि कसैको ज्यान गएको छैन भने मनाङमा कुनै पनि सवारी साधन दुर्घटनामा नपरेका ढकालको भनाइ छ ।

प्रदेशमा भएको सवारी साधन दुर्घटनामा ५० वटा मोटरसाइकल, २१ वटा जिप/कार, १३ वटा ट्याक्टर, सात वटा ट्रक तथा ट्याङ्कर, चार वटा बस, तीन वटा साइकल तथा दुई÷दुई वटा डोजर तथा ट्याम्पो संलग्न रहेका ढकालले बताउनुभयो । दुर्घटनाको मुख्य कारण चालकको लापरबाही रहेको समेत ढकालको भनाइ छ ।

सवारी चालक अनुमतिपत्र नभएका चालकले सवारी साधन गुडाउँदा समेत दुर्घटना बढ्ने भएकाले यसको न्यूनीकरणका लागि काम भइरहेको ढकालले बताउनुभयो । यातायात व्यवस्था विभागसँग समवन्यगरि जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपरासी (बर्दघाट–सुस्तापूर्व), जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्की र जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहूँमा स्मार्ट लाइसेन्स कार्ड रिडर मेसिन प्रयोगमा ल्याइएको ढकालको भनाइ छ । त्यस्तै सवारी साधनको गति सीमित पार्नका लागि जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्की र तनहुँमा राडरको प्रयोग गरेर सवारी साधनको गति चेकजाँच गर्ने र तीव्र गतिमा सवारी साधन गुडाउनेलाई कारबाही गर्ने गरिएको उहाँको भनाइ छ ।

गण्डकी प्रदेशमा आव २०७६/०७७ मा ४३१ वटा दुर्घटनामा परी २२३ जनाले ज्यान गुमाएका थिए । त्यस्तै दुर्घटनामा परी ३८ जना बालबालिकासहित ४२४ जना गम्भीर घाइते भएका गण्डकी प्रदेश ट्राफिक प्रहरी प्रमुख ढकालले बताउनुभयो । यो वर्ष ३४७ वटा दुर्घटना सवारी चालकको लापरबाहीका कारण भएको ढकालले जानकारी दिनुभयो ।

 

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button