कलाकारलाई सहयोग गरेर दशैं मनाउछु : सुरेन्द्र गुरुङ

पोखरा । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल गण्डकी प्रदेश समितिका अध्यक्ष सुरेन्द्र गुरुङले यसपालीको दशैं सामान्य तरिकाले मनाउदै हुनुहुन्छ ।

दशैंको समयमा आर्थिक वा खाद्यान्नको अभावमा रहेका केही कलाकारलाई सहयोग गरेर दशैं मनाउने उहाँको तयारी छ । ‘यसपालीको दशैं घर परिवारसँग मात्रै सामान्य तरिकाले मनाउदै छु । दशैंको समयमा परिवार नभएका, खाद्य समस्यामा रहेका केही कलाकार साथीलाई थोरै भएपनि आर्थिक वा खाद्यान्न सहयोग गरेर उनीहरुको साथमा मनाउने बिचारमा छु’ पोखरा न्यूजसँग कुरा गर्दै गुरुङले भन्नुभयो ।

दशैंमा सेतो टीका लगाउने गरेको उहाँले खुलाउनुभयो । गुरुङ भन्नुहुन्छ- ‘म बुद्ध धर्मसँग नजिक रहेको परिवारको सदस्य भएपनि परिवार सामाजिक रुपमा तथा राजनीतिक रुपमा सचेत भएकोले हामीले सबै धर्मलाई सम्मान गर्दै आइरहेका छौँ । सोही कारण हामी दशैं सेतो टीका लगाएर मनाउछौ । दशैंको बहानामा देश विदेशमा रहेका आफ्ना परिवारका सदस्यसँग भेटघाट गर्ने सुःख दुःख साटासाट गर्ने अवसर मिल्ने, बजार भन्दा गाउँमा सबै गाउँले दाजुभाइसँग भेटघाट गर्न पाइन्छ, यसरी रमाउन पाउँदा मन र मस्तिष्क ताजा रहने हुँदा दशैं पर्व मलाइ मनपर्छ ।’

अग्रजको हातबाट टीका ग्रहण गर्न पाउँदा आफूलाई भाग्यमानी ठान्ने गरेको उहाँले बताउनुभयो । अहिलेसम्म मनाएका दशैं मध्येमा २०६० सालको दशैं रमाइलो भएको उहाँले खुलाउनुभयो । ‘सबैभन्दा रमाइलो दशैं २०६० सालको भयो । लामो समय भारतको कलकत्तामा बुबासँग बस्दै आएको थिए । २०६० सालमा नेपाल आए सम्पूर्ण परिवार इष्टमित्र दाजु दिदीको हातबाट टीका ग्रहण गर्दा सबै भन्दा मन प्रफुल्ल बनेको थियो त्यो बेला ७ कक्षामा अध्ययन गर्थे’ अध्यक्ष गुरुङले भन्नुभयो । भूकम्प गएको वर्ष २०७२ सालको दशैं आफूलाई नरमाइलो लागेको उहाँले खुलाउनुभयो ।

२०६४ मा लोक तथा दोहोरी गीत प्रतिष्ठान कास्कीको सदस्यता लिएर प्रतिष्ठानमा आवद्ध हुनुभएका गुरुङ जिल्ला, अञ्चल र प्रदेशको विभिन्न पदमा काम गर्दै अहिले गण्डकी प्रदेश समितिको अध्यक्ष हुनुहुन्छ । नेतृत्व सम्मालेपछि प्रतिष्ठान गण्डकीलाई क्रियाशील बनाउन उहाँ निरन्तर खटिनु भएको छ । उहाँ नेतृत्वमा आएपछि प्रतिष्ठान गण्डकीको विशेष सक्रियतामा प्रतिष्ठान केन्द्रको केन्द्रीय महाधिवेशन पोखरामा सम्पन्न भएको थियो । यसले उहाँको क्षमतालाई झनै चिनायो । आफ्नो कार्यकालमा भएका गतिविधि सधै सबैको मानसपटलमा आउने खालको बनाउन आफू लागिपरेको उहाँको भनाई छ । यसका अलावा उहाँले विभिन्न अन्य संघ संस्थामा आवद्ध भएर आफ्नो क्रियाशीलतालाई उजागर गरिरहनुभएको छ ।

त्यसोत गुरुङको जन्म कास्की जिल्लाको अन्नपूर्ण गाउँपालिका वीरेठाटीमा वि.स.२०४६ मंसिर ४ गते भएको हो । बुबा मेखबहादुर र आमा चेलीमाया गुरुङको कान्छो सन्तानको रुपमा जन्मिनुभएका उहाँको बाल्यकाल भने भारतको कलकत्तामा बित्यो । बुबा इण्डियन आर्मीमा भर्ती भएकोले उहाँले प्राथमिक शिक्षा समेत आर्मी स्कूलमा लिनुभयो । त्यहाँ पढ्दा आर्मी सम्बन्धी एमसीसी कोर्ष पुरा गर्नुभयो । कक्षा १० उत्तिर्ण पश्चात सोतह आर्मीमा भर्ती हुने अवसर भएपनि उहाँले यो अवसरलाई खेर फाल्नुभयो । आमा विरामी भएको कारण आमासँगै २०५९ सालमा नेपाल फर्किनुभएका गुरुङ वीरेठाटी माविमा कक्षा ७ मा भर्ना हुनुभयो ।

गाउँमानै क्लबमा आवद्ध हुदै साँस्कृतिक कार्यक्रममा सहभागिता मात्र नभएर सामाजिक कार्यमा समेत सक्रिय बन्न थाल्नुभयो । रोधीमा आफ्नो प्रस्तुति सुनाउन थाल्नुभयो । रोधी र अन्य गाउँमा आयोजना हुने कार्यक्रमले उहाँको प्रस्तुतिमा निखारता प्रदान गर्दै लग्यो । एक्यापले आयोजना गरेको वातावरण संरक्षण सम्बन्धी कार्यक्रममा चेतनामुलक गीत मात्र नभएर स्कुल स्तरीय र गाविस स्तरीय कार्यक्रममा भाग लिइ पुरस्कार जित्न थाल्नुभयोे । यसले सांगीतिक क्षेत्रमा अगाडि बढ्न उहाँलाई हौसायो ।

फलस्वरुप २०६६ सालमा ‘नाँच नाँच भन्छौ नि कान्छी’ बोलको तीजको गीतमा आवाज भरेर सांगीतिक क्षेत्रमा उहाँको औपचारिक यात्रा प्रारम्भ भयो । हालसम्म उहाँले विभिन्न गीत मार्फत दर्शक श्रोताको माया पाउनुभएको छ । निरन्तर सांगीतिक कोशेली पस्कदै यात्रा निरन्तर अगाडि बढाउने उहाँको योजना छ ।

 

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button