कोषलाई बढवा दिन चलचित्र पत्रकार सङ्घ कास्कीको चलचित्र विशेष टि-सर्ट सार्वजनिक

पोखरा । चलचित्र पत्रकार सङ्घ कास्कीको कोषलाई बढवा दिन चलचित्र सम्बन्धी टि-सर्ट सार्वजनिक गरिएको छ ।

सङ्घले नेपालीहरुको महान् चाड विजयादशमी, शुभदिपावली तथा छठ पर्वको उपलक्ष्यमा बुधबार पोखरामा आयोजना गरेको शुभकामना आदनप्रदान चलचित्र विशेष टि-सर्ट सार्वजनिकीकरण एवं चियापान कार्यक्रमका बीच उक्त टि-सर्ट सार्वजनिक गरेको हो । टि–सर्टमा मनैदेखि नेपाली चलचित्र, लास्टै फिल्मी यार लेखिएको छ ।

टि-सर्ट सार्वजनिक गर्दै कलाकार प्रकाश घिमिरेले कोरोना महामारीका समयमा पनि चलचित्र पत्रकार सङ्घ कास्कीले एक पछि अर्को गतिविधि गर्नु सह्रानिय भएको बताए । चलचित्रको प्रचारप्रसारसँगै पत्रकार सङ्घको कोष वृद्धिमा यसले ठूलो टेवा पुर्याउने विश्वास उनको छ ।

कार्यक्रममा गुरुङ फिल्म एशोसियसन(जिफान) कास्कीका अध्यक्ष भोजबहादुर गुरुङले कोरोना महामारीका कारण विश्वमा नै चलचित्रसंग सम्बन्धित कुनै पनि गतिविधि नभएको अवस्थामा यस्तो कार्यक्रमको आयोजना गर्नु आफैमा सबल पक्ष रहेको उल्लेख गरे । पछिल्लो कार्यसमिति आएपछि पोखरामा चलचित्र पत्रकार सङ्घ कास्कीले राम्रा गतिविधिहरु गर्दै आएको उनले बताए ।

पोखरालाई चलचित्र नगर बनाउनमा पत्रकारहरुको महत्वपूर्ण भूमिका रहने भन्दै गुरुङले गुरुङ फिल्म एशोसियसन संस्थागत रुपमा सँधै चलचित्र पत्रकार सङ्घ कास्कीको साथमा रहने प्रतिबद्धता व्यक्त गरे । उनले जिफानमा पाँच वटा चलचित्र प्रदर्शनको क्रममा भएपनि कोरोना महामारीका कारण रोकिएको जानकारी गराए ।

गुरुङले निर्माताहरुको झण्डै १ करोड ५० लाख रकम फ्रिज भएको र कोरोनाका कारण २ सय ५० जना कलाकार तथा प्राविधिकहरुको रोजीरोटीमा समस्या आएको उल्लेख गरे । यस्तो अवस्थामा आफूहरुले पनि गुरुङ फिल्म मन पराउने विभिन्न सङ्घसंस्था र मनकारी व्यक्तिहरुबाट रकम उठाएर प्राविधिककलाकारको आठ समूह बनाई ५० हजारको दरले रकमको व्यवस्था गरिएको उनले जानकारी गराए ।

यतिमात्र नभई जिफानले महामारीका समयमा पनि गुरुङ चलचित्र क्षेत्रलाई चलायमान बनाउन प्राविधिक र कलाकारको टोलीलाई सर्ट फिल्म निर्माणको अवधारणा पनि बनाएको उनले बताए । ‘गुरुङ चलचित्र निर्माण हुन थालेको २५ वर्ष पुग्यो । २५ वर्ष सम्म एउटै ढङ्गको फिल्म निर्माण भएको गुनासाहरु सुन्नमा आए । अब केही रचनात्मक गतिविधि गर्नुपर्छ भन्ने लागेर नै जिफान अगाडि बढिरहेको छ ।’, उनले भने ।

चलचित्र पत्रकार सङ्घ कास्कीका संस्थापक अध्यक्ष एवम् वर्तमान सल्लाहकार श्रीराम सिग्देलले पछिल्लो समय सङ्घको गतिविधि प्रशंसनिय रहेको उल्लेख गरे । मोफसलमा रहेर केन्द्रले गर्न नसकेका कामलाई कास्कीले गरेर देखाएको उनको भनाई थियो । सिग्देलले चलचित्र पत्रकार सङ्घको चौथो अधिवेशनबाट आएको टिमले रचनात्मक काम गरेको भन्दै खुशी व्यक्त गरे ।

‘नयाँ कार्यसमिति आए लगतै कोभिडको समस्या आयो । तर अध्यक्ष अरुण गिरीको नेतृत्वमा बनेको टिम डग्मग्याएन । कोरोना महामारी र लकडाउनका बीच यो टिमले राहत वितरण, चलचित्र सम्बन्धि अन्तरक्रिया कार्यक्रम, रक्तदान कार्यक्रम र अब चलचित्र सम्बन्धी टि-सर्ट सार्वजनिकीकरण कार्यक्रम गरिसकेको छ । पोखरामा पछिल्लो समय चलचित्रका कार्यक्रमले गति लिएको आभाष भएको छ ।’, उनले भने ।

आफ्नो धन्यवाद मन्तव्य राख्दै चलचित्र पत्रकार सङ्घ कास्कीका अध्यक्ष अरुण गिरीले सबैको साथ, सहयोग र मायाले नै आफू लगायत टिमलाई उत्साह मिलिरहेको बताए । टि-सर्ट सार्वजनिकीकरणका विषयमा जानकारी गराउँदै अध्यक्ष गुरुङले चलचित्र पत्रकार सङ्घ कास्की एउटा सानो संस्था भएको र संस्थामा प्रयाप्त फन्ट नभएको अवस्थामा कोष वृद्धिका लागि यस्तो कार्यक्रमले सहयोग पुग्ने हेतुले आयोजना गरिएको जानकारी गराए ।

अरु कार्यक्रमको आयोजना गर्न समयले साथ नदिएको अवस्थामा कोष वृद्धिका लागि नेपाली चलचित्रका चलेका डाइलगहरु लेखेर टि—सर्ट छाप्ने र सहयोग रकम संकलन गर्ने योजना सहित सङ्घ अगाडि बढेको उनले बताए । अध्यक्ष गिरीले भने,‘यो हामीले कुनै व्यक्तिगत नाफाका लागि व्यवसायिक रुपले लाग्न खोजेको होइन । टि-सर्ट विक्रिबापत आएको रकम सम्पूर्ण संस्थाको कोषमा जम्मा हुनेछ । आशा छ संस्थाको यस्तो प्रकारको गतिविधिमा समेत सबैको साथ मिल्नेछ ।’

अध्यक्ष गिरीले यस्तो क्रियाकलापले प्रत्यक्ष रुपमा नेपाली चलचित्र क्षेत्रको श्रीवृद्धिमा टेवा पुग्ने बताए । हाललाई मनैदेखि नेपाली चलचित्र र लास्टै फिल्मी यार पङ्कतिलाई मात्र टि-सर्टमा उल्लेख गरिएता पनि भोलीका दिनमा चलचित्र निर्माता सङ्घको सहयोगमा हरेक फिल्मका चलेका डाइलग र गीतका टुक्कालाई समेत टि-सर्टमा उल्लेख गरिने उनले बताए । सरकारको समाजिक सुरक्षाको मापदण्ड अनुसार आयोजना गरिएको कार्यक्रममा पत्रकारहरुको उपस्थिति थियो । कार्यक्रमको संचालन सचिव प्रभु अधिकारीले गरेका थिए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button