दशैंको टीकामा दिनको ४-५ पटक पैसा गन्थे : प्राज्ञ, लोकगायिका हरिदेवी कोईराला

पोखरा न्यूज । वरिष्ठ लोकदोहोरी गायिका प्राज्ञ हरिदेवी कोईराला बाल्यकालका दशैं मानसपटलमा छाउने गरेको बताउनुहुन्छ । सो समयमा दशैं आयो भन्ने शब्द नै रमाइलो लाग्ने गथ्र्यो रे उहाँलाई । पहिलो कुरा नयाँ लुगा लगाउन पाइन्छ भन्ने रमाइलो । किनकी सो समयमा दशैंमा लुगा सिलाएर लगाउने चलन थियो । लुगा सिलाउने दाई घरमा आएर लुगा नापेर लग्नुहुन्थ्यो ।

धेरैका लुगा सिलाउने भएकोले चाँडो पालो आउने थिएन । बिहान उठेपछि एकपटक लुगा सिलाउन दिएको ठाउँमा पुग्न मन लाग्थ्यो । आज पनि सिलाएको छैन, भोलिपनि सिलाएको छैन भन्ने जवाफ सुन्दा मन खिन्न हुन्थ्यो । टीका आइसक्यो नयाँ लुगा लगाउन पाइदैनकी भन्ने चिन्ता लाग्थ्यो । लुगा सिलाइसकेपछि पालीमा झुन्ड्याउदाको रमाइलो बेग्लै हुन्थ्यो । बल्ल मन प्रफुल्ल हुन्थ्यो । पोखरा न्युजसँग कुरा गर्दै ती दिन उहाँले स्मरण गर्नुभयो ।

दशैंको घाम, हिलो मैलो सुकेको, धान पाकेको, अलि-अलि जाडोहुन्थ्यो, घाम लागेको हिमाल खुलेको देखिन्थ्यो । वातावरणले नै दशैं आएको छनक दिने गरेको उहाँको अनुभव छ ।

घरमा दशैंमा लुगा किन्ने चर्चा हुन्थ्यो । बाबा, आमा, हजरआमाले यसपाली कस्ता लुगा लगाउने । कहाँ किन्ने । कुन पसलमा किन्ने भनेर सल्लाह गर्नुहुन्थो । अर्को भनेको पीङ खेल्ने रमाइलो हुन्थ्यो । पीङ खेल्ने लठ्ठो अहिले जस्तो बाटेको पाइदैनथ्यो । घरघरमा बावियो हुन्थ्यो । बावियो संकलन गरेर केही पैसा दिइ दाम्लो बाट्नेलाई जिम्मा लगाउने गरिन्थ्यो । यसले दशैंको रौैनकता आएको आभाष गराउने गरेको उहाँ सुनाउनुहुन्छ ।

गायिका कोइरालालाई दशैंमा खानेकुरामा भन्दा पीङ र नयाँ लुगामा बढी ध्यान जान्थ्यो । दशैंमा कति पैसा जम्मा हुन्छहोला भन्ने कौतुहलता भइरहन्थ्यो । दशैंका टीका लगाइसकेपछि दिनको ४, ५ पटक पैसा गनेको अनुभव उहाँसँग छ । गन्यो राख्यो फेरि आयो गन्यो गर्थे । अहिलेको जस्तो नोठ हुदैनथ्यो सिक्का हुन्थे । सिक्का पीडिमा फिजारेर गनिन्थ्यो । तेरो कति भयो । मेरो कति भयो भनेर हिसाब गरिन्थ्यो । जम्मा भएको पैसाले के किन्ने भन्ने बारेमा समेत कुरा गथ्र्यौ ।

दशैंमा सबैको घरमा सेलरोटी पकाउने चलन थियो । टीका लगाउन जाँदा घर–घरमा दिएका खानेकुरा जम्मा हुन्थे । हुनत खानेकुरा भन्दा पैसालाई बढी महत्व दिन्थ्यौ । कति ठाउँमा यति पैसा नदिए त टीका लगाउदैनौ पनि भन्थ्यौ । हजुरआमाहरुलाई घुर्की लाइन्थ्यो । उहाँहरुले माग पुरा गर्दै बोलाई–बोलाई टीका लगाएर दक्षिणा दिनुहुन्थ्यो । पहेला जमरा शिरमा लगाउदा झनै रमाइलो हुन्थ्यो ।

दशैंमा खसी काट्ने चलन थियो । खसी काट्दाको एउटा घटना गायिका कोइरालाले कहिल्यै विर्सनुहुन्न । किनकी खसी काट्दा उहाँको खुट्टामा लामो चोट लागेको छ । चोट कसरी भयो भन्ने उहाँले ठ्याक्कै थाहा नपाएको उहाँले बताउनुभयो । देव्रे खुट्टामा अझैपनि चोटको दाग छ । खुकरी लिएर हिड्दा बुढी औलाको बीचमा लागेको हुनुपर्छ । अलि–अलि सम्झन्छु । हाम्रो परिवार ठूलो भएकोले २,३ वटाखसी काट्ने चलन थियो । अर्को कुरा सो समयमा ढोल बजाउदै घरघरमा नवदुर्गाभरि आउने चलन थियो । त्यसको छुट्टै भाग ढोल बजानउनेलाई दिने चलन थियो । यसरी ढोल बजाउदा दशैंको आएको अनुभूति हुने गर्दथ्यो ।

उहाँको घरमा नवदुर्गाको बेग्लै रौनकता हुने थियो । किनकी घरमा हुजरबुबाले नवदुर्गाको थापना गर्नुहुन्थयो । तालबाराही मन्दिरमा छुट्टै बाउन राखेर नवदुर्गाभरि पूजा गर्ने हजुरबुबाको बानी थियो । यता घरमा चण्डीपाठ गरिन्थ्यो । नवरात्रीमा मध्येरातसम्म देवीको पूजा गरिन्थ्यो । हजुरबुबाले लामो समयसम्म ध्यान समेत गर्ने गरेको उहाँमा मस्तिस्कमा ताजै छ ।

उहाँको सबैभन्दा नरमाइलो दशैं बुबा र कान्छीआमा हवाईजहाज दुर्घटना भएर बित्नुभएको वर्ष भएको थियो । उहाँहरु बितेको तीजको बेलामा हो । त्यो वर्षको दशैं राम्रो भएन । हुनेकुरा पनि थिएन । त्यसपछि नरमाइलो भनेको यही दशैं हो । हाम्रोमा त यसपाली टीका छैन । अहिलेत संसारनै पीडामा छ । सबैमा त्रास छ । कतिले आफ्नो घरमा मात्र मनाउदै हुनुुहन्छ । गायिका कोइरालाले चिन्ता व्यक्त गर्नुभयो ।

कोरोना महमारीको समयमा अधिकांश समय घरमानै उहाँ बसेर बिताउने गर्नुभएको छ । यहीं बीचमा केही सिर्जना समेत उहाँले गर्नुभयो । ‘कविता लेखे, गीत बनाए । सामाजिक दुरी कायम गरेर भिडियोको काम समेत गरे । केही गीत तयारीमा छन् । फूर्सदमा लेख्ने पढ्ने नै गरिरहेकी छु’ उहाँले भन्नुभयो ।

अहिले महामारीले कलाकारहरु धेरै मारमा परेको उहाँको बुझाई छ । उहाँ भन्नुहुन्छ–‘यसैमा आश्रित कलाकार धेरै हुनुहुन्छ । रेष्टुरेन्ट तथा दोहोरी साँझ बन्द छन् । सांगितिक कार्यक्रम हुन सकेका छैनन् । कलाकारको समस्यालाई कतैबाट सम्बोधन भएको छैन । केही त गाउँ फर्किनुभयो । कतिको गाउँमा गएर बस्ने स्थिति छैन । यहाँ भाडा तिर्न सक्नुभएकोे छैन । यसको लागि राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानले गरको काम सकारात्मक छ । तर पर्याप्त छैन । आफ्नोे भावना व्यक्त गर्ने माध्ययम छैन । मन हलुगों बनाउने ठाउँ छैन । सोहीकारण कलाकार पीडामा छन् ।’

आजकाल दशैंलाई भने र दशैं सम्बन्धी गीत रेकर्ड गर्ने चलन भएपनि पहिला–पहिला दशैंललाई भनेरनै गीत रेर्कड नहुने गरेको उहाँ बताउनुहुन्छ । दशैंको अवसरमा गीत सार्वजनिक गर्ने चलन थियो । तर त्यस्ता गीत दशैं सम्बन्धी भने हुने थिएनन् । दशैं सम्बन्धी भन्दा दशैंलाई भनेर दोेहोरी गीत निस्कन्थे । दशै आयो, टीका जमरा भनेर गीत खासै आउदैनथ्यो । अहिले दशैं तिहार शब्द जताबाट पनि राख्ने चलन आयो । आउन पाइन, जान पाइन भन्ने खालका बढी आएका छन् । पहिला अन्य प्रकारका गीत आउथे । तिहारमा बरु देउसी भैलोको गीत आउथे । अहिलेत दर्शै. र तिहारको एउटै बनाउने चलन आएको उहाँले बताउनुभयो ।

आफूले गीत संगीतको क्षेत्रमा देखेको सपना मध्ये एक चौथाई मात्र पुरा भएको उहाँले बताउनुभयो । ‘मैले गीत संगितको क्षेत्रमा देखेको सपना को एक चौथाई मात्र पूरा भएको छ, धेरै पूरा भएको छैन । केही गर्न सकियन जस्तो लाग्छ । हाम्रा मौलिक चिजहरु अझै गाउँघरमा धेरै छन् । तिनलाई ल्याउन पाए भन्ने मनमा हुन्छ’ उहाँले भन्नुभयो ।

पर्दापछाडि, गाउँका कुनाकाप्चामा रहेका श्रष्टाको इतिहास राख्न पाए भन्ने उहाँको मनमा छ । भिजुयलहरु भइदिए इतिहास बन्थ्यो भन्ने मनमा आउँछ । संग्रालय बनाएर राख्न पाए हुने हो । राष्ट्रले एउटा यस्ता चिजहरु जुन अहिलेसम्म प्रकाशमा आएका छैनन् तीनलाई खोजेर तीनको अभिलेख, तिनको इतिहास तिनको सूची बनाउन सके हुने हो । यसरी संरक्षण गर्न पाए भन्ने सपना मनमा छ । तर एक्लैले सम्भव छैन ।

हामी जस्तो मिडियामा छाइरहेका त त्यसै चिनिएकै छौ । हाम्रो गीतको माध्यमबाट इतिहास रहन्छ । जो पर्दा पछाडि नेपथ्यमा रहेका गीत संगीतका मुलसर्जकहरु हुनुहुन्छ । त्यस्ता चिज वा व्यक्तिलाई संरक्षण गर्न पाए । अभिलेख राख्न पाए, स्वराकंन, दृश्याकंन गर्न पाए । त्यस्तो सग्रालय भैदिए हुने थियो । प्रदेशले पनि सहयोग गेर भोलिको पुस्ताले हेर्ने बुझ्ने अवसर पाउने थिए । यि कुरा मनमा आइरहन्छ ।
गायिका कोइराला मौलिक विषयबस्तुलाई सरल शब्द र लयमा आफ्नो सुमधुर आवाज भरि नेपाली सांगीतिक फाँटमा पृथक परिचय बनाउन सफल व्यक्ति हुनुहुन्छ ।

२०४० सालमा ‘पाइन खबर’ बोलको गीत रेर्कड गरी नेपाली साँगीतिक फाँटमा डेब्यु गर्नुभएकी उहाँले रेडियोमा गाएको पहिलो गीत भने ‘आँखाभरि आसुको सहारा’ हो । आठवटा एकल लोक गीत समावेश यही एल्बमबाटनै यो क्षेत्रमा जम्न सफल बन्नुभयो । सो समयमा अहिलेको जस्तो प्रविधि थिएन रहरै रहरमा एक बिहान चारवटा गीत अर्को विहान चारवटा गरी गीत रेर्कड गरेको सामान्य प्राइभेट घरमा रेर्कड गरेको उहाँले सुनाउनुभयो ।

म्युजिक नेपालबाट निकाल्दा स्वर परीक्षा दिनुपर्ने, गीतकोबारेमा सबैकुरा भन्नुपर्ने अलि समय लाग्ने भएकोले एउटा घरमा रेर्कड गरेकी उहाँले खुलाउनुभयो । उहाँले के सिन्दुर पहिरेछु धर्म छाडाको २०४२ एम एससी रेकडिङ स्टुडियो बाट निकाल्नुभयो । दुई एल्बम राम्रोसँग चलेपछि बल्ल म्युजिक नेपालले उहाँलाई आफ्नो स्टुडियोमा बोलाएको थियो । त्यसपछि निरन्तर त्यहीबाट एल्बम निकालेको उहाँले सुनाउनुभयो ।

उहाँका मनको वह, दुखिको विलौना, फेवाताल सलल, कास्कीको कोसेली, पाइन खबर–२, काठमाण्डौको कथा, फूल गोगनको, पिपल चौतारी, मुटुको धड्कन, ऐना हेरेर, लाली फूल, झिलझिल सितारा लगायतका असी भन्दा बढी एल्बम आइसकेका छन् । आफ्नै शब्द, लय र आवाजमा चारसय भन्दा बढी गीत उहाँले तयार पारिसक्नुभएको छ । उहाँले २०४२ सालदेखि निरन्तर तीजका एल्बम बजारमा निकालिरहनुभएको छ ।

कोइलीदेवी सम्मान साहित्य सम्मान, साहित्य सम्मान, नुरगंगा राष्ट्रिय पुरस्कार, तन्नेरी द्धैमासिक पुरस्कार, देउडा समाज, रेडियो नेपाल, अन्तराष्ट्रिय संगीत दिवस पुरस्कार, बाराहि रत्न पुरस्कार, कोइराला रत्न पुरस्कार, अलिमिया लोक वाङमय पुरस्कार, म्युजिक नेपालले आयोजना गर्ने राष्ट्रिय स्तरको अवार्ड लगायत झण्डै तीन सय पुरस्कार उहाँले जितिसक्नुभएको छ ।

उहाँले गीत गाउने शव्द लय सिर्जन गर्ने मात्र हैन निबन्ध, गजल, गीत मुक्तक हाइकु समेत लेख्नुहुन्छ । उहाँका गीत र कवितामा सोधकार्य समेत भैसकेको छ । उहाँका मेरो देशको छातीभित्र दुखेजस्तो लाग्छ कविता सङ्ग्रह, तीजको गीति संग्रह माइती रमाइलो, तरङ्ग कविता सङ्ग्रह, न घाम झ¥यो न जुन झ¥यो, आफ्नै गीत आफ्नै भाका लोकगीत सङ्ग्रह, के छ हजुर हालचाल यता ? गीति सङ्ग्रह र अन्य थुर्पै फुटकर गीत गजल मुक्तक प्रकाशन भइसकेका छन् ।

हरिदेवी संगीत नाट्य सम्मान कोष, लेखनाथ साहित्य प्रतिष्ठान, अलिमिया लोक वाङमय प्रतिष्ठान, सप्तरङ्गी साँस्कृतिक प्रतिष्ठान, संगीत प्रशिक्षण केन्द्र आदि दर्जनौ साहित्यिक, सांगीतिक एवंम सामाजिक संघसंस्थामा उहाँ आवद्ध हुनुहुन्छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button