पोखरा न्यूज । कलाकार प्रकाश घिमिरे चाडबाडको खासै रौनकता नहुने बताउनुहुन्छ । दशैंमा टिका लगाएर खुशी हुने भन्ने खासै उहाँलाई हुन्थिएन । तर दशैंको समयमा व्यस्त भने हुनुहन्थ्यो । ‘म बढी सामाजिक कार्यमा रमाउथे । पिङ हाल्न, सरसफाइ गर्न, क्लबका काममा सघाउदानै रमाइलो लाग्थ्यो । मलाई खान र टीका लगाउन त्यति सोख थिएन । काम गर्ननै जन्मेको जस्तो लाग्थ्यो । काम गर्न पाउँदा रमाइलो मान्थे’ पोखरा न्यूजसँग कुरा गर्दै कलाकार घिमिरेले भन्नुभयो ।
उहाँलाई टीका लगाउने, नयाँ कपडा लगाएर हिड्ने रहर कहिल्यैपनि भएन । पुरानै कपडामा आनन्द आउने उहाँ बताउनुहुन्छ । दशैंमा सबै परिवार भेट्न पाउँदा भने उहाँ प्रफुल्ल हुनुहुन्थ्यो । ‘दशैंमा सबै परिवार भेट्न पाउँदा खुसी लाग्थ्यो, टीका लगाउन यो घर जाने, उ घर जाने भन्ने बारेमा भने ध्यान गएन’ उहाँले सुनाउनुभयो ।
यसपालीको दशैं बुबासँग परिवारभित्र मनाउने उहाँको तयारी छ । आफू घर बाहिर नजाने तर घरमा टीका लगाउन कोही आएमा भने लगाइदिने उहाँको योजना छ । यसपाली टीका लगाउन आएनन्, भनेर पीर नगर्ने उहाँ बताउनुहुन्छ । ‘यसपाली सबै सुरक्षित हुनुपर्नेछ, यो वर्ष नमनाउँदा पनि फरक पर्दैन । विग्रने केही हुँदैन । अर्को वर्ष मनाउला ।’ कलाकार घिमिरेले भन्नुभयो ।
घिमिरे बाल्यकालमा ६ वर्षदेखि १२ वर्षसम्मको उमेरसम्म बुबासँग विभिन्न जिल्लामा रहनुभयो । त्यसपछिका वर्षमा भने पोखरामानै रहनुभयो । विगतका दिन सम्झदै घिमिरे भन्नहुन्छ–‘पोखरामा हुँदाखेरी नवदुर्गा लागेपछि बिहान १ बजेनै उठेर गण्डकीमा नुहाउन गइन्थ्यो । त्यसपछि, विन्ध्यवासिनी मन्दिर देखि शु्रु गरेर भद्रकालीसम्म पुग्ने सबै देवीका पीठहरु दर्शन गर्ने, रातभरि नसुतेर साथीहरुसँग हिड्ने गरिन्थ्यो । आफूजिम्मेवार भएपछिका दशैं त्यति रमाइला भएनन् । च्याङ्गा काट्न पर्ने, बच्चाहरुका लागि खुसी पार्नुपर्ने, पहिला बाबाले कता–कताबाट ल्याउनुहुन्थ्यो रमाइलै हुन्थ्यो । हुनत मैले १६ वर्षदेखिनै च्याङ्गा काट्ने गर्थे । अष्टमीको दिनभरि आफैले काट्ने गर्थे । मार हान्न अरुकोमा जान्थे । दुईदिन जति त मासू काट्नमा नै भुल्ने भइयो । काट्ने, सुकुटी बनाउने, कामले आत्तिने दशैं आयो भने अब काट्नुपर्छ भन्ने हुन्थ्यो । आजकाल त छोडे । अहिलेत अरुलाइनै काम लगाइन्छ ।’
दशैंमा पिङ हाल्न समेत आफू निकै खटिने उहाँले बताउनुभयो । ‘दशैंमा पिङ हाल्ने उतिकै खटिन्थे । मामाघर गए भने तहाँ समेत पिङ हाल्न जुट्थे । आफैले बास काट्थ्यो । हाम्रोमानै बास हुन्थ्यो । बाँसमाथि चढ्थे लिगां नुघाउँथे । लठ्ठा बाट्नलाई घरघरमा बाबियो र चुया उठाउथेउ । फुलपाती अगाडि नै पिङ हाल्थ्यौ । नदीपुरमा सुर्योदय क्लब गठन गरेपछि क्लबबाट पिङ हाल्ने गथ्र्यौ । पछिल्ला दिनमा म सक्रिय हुन छोडे’ घिमिरेले भन्नुभयो ।
त्यसोत दलन टेलिसिरियलको ‘धम्बरे’, चलचित्र पशुपति प्रसादको ‘मित बाउ’, दैत्यकथा नाटकको ‘महाराक्षस’ क्यारेक्टरले धेरै कलाप्रेमीको नजरमा पर्नुभएका प्रकाशको जन्म पोखरा ३ नदिपुरमा भएको हो । पिता तेजनाथ घिमिरे र माता इन्द्र कुमारी घिमिरेको पहिलो सन्तानको रुपमा उहाँको जन्म भएको हो ।
उहाँमा सानैदेखि समाजसेवातर्फ बढी रुचि थियो । २०३९ सालमा सुर्योदय युवा क्लब स्थापना भयो । उहाँ अध्यक्ष बन्नुभयो । साहित्य, खेलकुदमा रुचि भएका व्यक्ति त्यसमा आवद्ध थिए । नाटक, कविता, खेलकुद क्षेत्रका कार्यक्रम क्लब मार्फत गर्न थाले । एकाकीं नाटक देखाइन्थ्यो । उमेरमा आफुभन्दा साना साथी उहाँले जम्मा गर्नुभएको थियो । रंगकर्मी अनुप बराल समेत क्लबमा हुनुहुन्थ्यो । अनुपकै डिमान्ड पूरा गर्न समेत नाटक देखाउन थालियो । यसरी उहाँको रंगयात्रा आरम्भ भयो ।
घिमिरेले ताण्डव नृत्य तथा अजम्बरी भ्वाइलेन, न्यायप्रेमी, आस्थामा उठेका हातहरु, क्रिया नाम सर्वनाम विशेषण, काफ्का, थाङ्गला, जात सोध्नु जोगीको, सिरुमारानी, नीरमाया, अटलबहादुरको आतंक आदि गरी ३० वटा जती नाटकमा उहाँले अभिनय गरिसक्नुभयो ।
२०६२ मा दलन टेलिसिरियलमा उहाँले अवसर पाउनुभयो । आहुतीले लेखेको नवीन सुब्बाले निर्देशन गरेको यो टेलिसिरियल मार्फत ‘धम्बरे’ क्यारेक्टर मार्फत उहाँ चिनिनुभयो । नवीन सुब्बाकै सिहँदरबार टेलिसिरियलका दूईवटै एडिसनमा उहाँले काम गर्नुभयो ।
चलचित्र गरुढ पुराढ, साहिली, गोपी, करोडपति, जात्रै जात्रा, छ माया छपक्कै आदि गरेर ४० भन्दा बढी चलचित्रमा उहाँले अभिनय गर्नुभएको छ ।
यता कोरोना कहरका कारण उहाँको आवद्ध भएको चलचित्र दुइ नम्बरी सुटिङ हुदाँहुदै रोकिएको छ । अर्को चलचित्र बाबरीको सुटिङनै सुरु हुन पाएन । उहाँले अभिनय गरेको रिलिज हुन बाँकी चलचित्र पानी फोटो र पूर्व पश्चिम हुन् । उहाँले कोरोना कहरको समयमा सर्ट फिल्म नाम्लो, अशुरमा काम गर्नुभयो । यही समयमा विन्ति सुनिदेउ र अर्को एक गीतको म्युजिक भिडियो काम गर्नुभयो । हालै घिमिरे पोखराबाट निर्माण हुने हु्क्का चलचित्रमा अनुबन्ध हुनुभएको छ । । शम्भु थापाको निर्देशनमा बन्ने यो चलचित्रको दशैंपछि काम सुरु गर्ने तयारी छ । कोरोनाले कलकारलाई समस्यामा पारेको उहाँ बताउनुहुन्छ । आफ्नै घरमा बसेकोलाइ ठिकै भएपछि भाडामा बस्ने, सोही आम्दानीको भरमा पर्नेलाई धौँधौ भएको हुनसक्ने उहाँको अनुमान छ ।
अब कोरोनाकै कारण भनेर चलचित्रका कुनैपनि काम रोक्न नहुनेमा उहाँको जोड छ । ‘सर्तकता त अपनाउनै प¥यो । सधै यसरीनै बसीराखेर साध्य हुँदैन । होसीयारी अपानाएर काम गर्नुपर्छ । सुटिङ पनि हुनुपर्छ । हलहरुपनि खुल्नुपर्छ । फुल क्यापासिटिमा नराखेर दूरी कायम गरेर देखाउनुपर्छ । यसको लागि अब ढीला गर्नु हुदैन । हलमा गएर चलचित्र हेर्न खोज्नेले हेर्न पाउनुपर्छ’ उहाँले थप्नुभयो । स्थायी शिक्षकको रुपमा शिक्षण पेशा समेत गर्नुभएका घिमिरे शिक्षण पेशाबाट भने रिटायर्ड भइसक्नुभयो । अबको समय रंगक्षेत्र र चलचित्र क्षेत्रमानै विताउने उहाँको योजना छ ।