कोरोनाका कारण दशैंमा यसपालि गाउँतिर जान पाइएन : निर्माता/निर्देशक सेन

पोखरा न्यूज । फिल्म निर्माता तथा निर्देशक सन्तोष सेन ठकुरी यसपालिको दशैं काठमाण्डौमा नै मनाउने तयारीमा हुनुहुन्छ । कोरोना महामारीका कारण जन्म ठाउँ स्याङ्जा नगई काठमाण्डौमा नै दशैं मनाउने योजना बनाएको उहाँले सुनाउनुभयो ।

‘गाउँतिर यसपालि जान पाइएन, बुबा मुमा गाउँमा हुनुहुन्छ, कोरोना महामारीका कारण अलि सजग हुनुपर्छ जस्तो लाग्यो, किनकि गाउँमा बुढाबुढी हुनुहुन्छ । त्यसैले अहिलेसम्मको सोच स्याङ्जा नजाने छ’ पोखरा न्यूजसँग कुरा गर्दै सेनले भन्नुभयो ।
श्रीमती, दुई छोरा सहित काठमाण्डौमा बसेर सनेले आफ्नो करियर अगाडि बढाइरहनुभएको छ ।

यसअगाडिका दशैं गाउँमा मनाएको उहाँको मानसपटलमा ताजै छ । उहाँ भन्नुहुन्छ– ‘विगतका दशैंमा गाउँमा नै हुन्थे । सबै जनासँग गाउँमा मनाइन्थ्यो । परापूर्व कालदेखि जसरी मनाउँदै आउनुभएको थियो बाजेहरूले त्यसरी नै मनाउथ्यौ । रमाइलो गरेर पिङ खेलिन्थ्यो । अष्टमी, नवमीमा झनै रमाइलो हुन्थ्यो । खसी काट्ने, पिङ खेल्ने, ठुला बडाको हातबाट आर्सीवाद थाप्न पाउँदा खुसी लाग्थ्यो । अहिले तीनै कुरा याद आउँछ । लामो समयपछि सबै भेटिने अवसर हुन्थ्यो । छुट्टै माहौल हुन्थ्यो, यसपालि त्यस्तो नहुने भयो ।’

बाल्यकालको दशैं भने अलि फरक हुने उहाँ बताउनुहुन्छ । बाल्यकालका दशैंमा पैसा बटुल्ने धुन हुन्थ्यो । दशैं आयो कति पैसा जम्मा हुन्छ होला भन्ने मनमा आउँथ्यो । आर्सीवाद भन्दा पनि पैसा पाइन्छ कि भन्ने आसमा पछि टिका लगाउन हिँड्ने गरेको उहाँको सम्झनामा छ ।

सबैभन्दा नरमाइलो दशैं यसपालि हुने उहाँले सुनाउनुभयो । भिडियो मार्फत नै टिका लाउने अवस्था यसपालि भएको छ । हुन त विदेशमा हुँदा दशैं नमनाई सम्झने बस्ने गरेको अनुभव समेत उहाँसँग छ । उहाँ ब्रुनाई,सिङ्गापुर समेत गरी विदेशमा ११ वर्ष बस्नुभयो । उहाँको जन्म थलो स्याङ्जा जिल्लाको पुतली बजार नगरपालिका कलिया थोक हो ।

उहाँको रुचिको विषय फिल्म मेकिङमा थियो । विदेशबाट नेपाल आएपछि आफ्नो रुचिको विषयमा अगाडि बढ्न खोज्नुभयो । उहाँको मनमा फिल्म मेकिङमा केही गर्ने अठोट त थियो । तर कसरी यात्रा सुरु गर्ने भन्ने मेसो पाउनु भएको थिएन । नेपाली फिल्म हेर्ने, माया गर्ने शुभचिन्तक भए पनि मेकिङमा कसरी राम्रो लय लिने भन्ने उहाँलाई हुन्थ्यो । कसरी अगाडि बढेर स्थापित बन्ने भन्ने कौतुहलता उतिकै थियो । सोही क्रममा सुदर्शन थापासँग उहाँको भेट भयो । थापासँगको भेटपछि उहाँको फिल्म क्षेत्रको यात्रा सुरु भयो । उहाँ औपचारिक रूपमा फिल्म क्षेत्रमा लागेको सात वर्ष भयो ।

आफ्नो करियरका सुरुवातका दिन सम्झँदै उहाँ भन्नुहुन्छ–‘सुरुमा मलाई प्राक्टिकल्ली फिल्म कसरी बन्छ भन्ने थाहा थिएन । केही ज्ञान लिएको थिइन । कसरी फिल्म बनाउँछन् । कथाहरू लेख्छन् । कसरी सुटिङ गर्छन् थाहा थिएन, मनमा खुल्दुली मात्र थियो । सुरुमा तीनै कुरा बुझ्न तर्फ लागे । त्यसैमा हराए । मलाई पाठशाला जस्तो भयो । कसरी टेक लिन्छन्, कसरी एक्सन गर्छन्, कसरी स्क्रिप्ट लेख्छन् भनेर जिज्ञासा राख्दै सहभागी बन्न थाले । बिस्तारै अनुभव बटुल्दै गए । मलाई त्यति बेला अन्योल थियो । केही थाहा नभएको अवस्था थियो । पछि बुझ्दै गए ।’

उहाँ फिल्म चङ्खे शङ्खे पङ्खेबाट निर्माताको रूपमा चलचित्र क्षेत्रमा औपचारिक रूपमा आउनुभएको हो । त्यसपछि प्रेम गीत, प्रेम गीत–२, मेरी मामु हुँदै प्रेम गीत–३ मा काम गर्नुभयो । फिल्म प्रेम गीत–२ मा अभिनय गर्नुभएका सेनले प्रेम गीत–३ मा चेतन गुरुङसँग मिलेर निर्देशनको भूमिका समेत निभाउनुभयो ।

अब उहाँको एकल निर्देशनमा फिल्म ‘हु.तु.तु.’ निर्माण हुँदै छ । यो फिल्मको स्क्रिप्टको काममा आफू व्यस्त रहेको उहाँले सुनाउनुभयो । उहाँले निर्देशन गर्न लागेको ‘हु.तु.तु. ’ कमेडी फिल्म हुनेछ । हरिवंश आचार्य, प्रदीप खड्का, पल शाह नाजिर हुसेन आदि कलाकारले यसमा अभिनय गर्नेछन् । यसको छायांकन पोखरामा गर्ने तयारी गरेको उहाँले खुलाउनुभयो ।
सेनमा वर्तमानमा जे छ त्यसैमा रम्न मन पर्छ । भविष्य सोचेर चिन्ता लिने बानी छैन । अहिले खुसी भएर काग गरियो भने भविष्य राम्रो बन्दै जान्छ भन्ने उहाँको विश्वास हो । उहाँको सपना नेपाली फिल्मलाई विभिन्न भाषामा धेरै देशमा एकैपटक रिलिज गर्ने दिनमा पुर्याउन सक्ने दिन आओस भन्नेछ । ‘नेपाली फिल्म अन्तर्राष्ट्रिय लेभलमा पुगेको देख्ने सपना छ’ उहाँले भन्नुभयो ।

कोरोना महामारीका कारण हाल चलचित्र प्रदर्शन हुन सकिरहेका छैनन् । निर्माता तथा निर्देशक सेन भने अहिले हल खुलाउने बेला नभएको बताउनुहुन्छ । ‘हल खुलाएर प्रभाकारी हुँदैन । दिनदिनै महामारी बढ्दै छ । कोभिड १९ को समाधान खोज्नुपर्छ । विश्वमा प्रभाव परेको छ । कसरी हुन्छ आफू बाच्ने हो’ उहाँले भन्नुभयो ।

यो समयमा आफूले आफूलाई बिजी बनाएर क्रियटिभ कामतिर ध्यान दिनुपर्ने उहाँ बताउनुहुन्छ । अहिले नै हल खुलोस् र फिल्म लगाऊ भन्नु ठिक नहुने उहाँको बुझाइ छ । मानव जाती पहिलाकै नर्मल अवस्थामा फर्कनुप¥यो । त्यसपछि मात्र के गर्ने सोच्न सकिन्छ । किनकि गाँस, बास र कपास पछि मनोरञ्जन अन्तिममा आउने उहाँको तर्क छ ।

यति बेला भने उहाँको कथा तथा निर्देशनमा साङ्गीतिक फिल्म रिलिज भएको छ । कोभिडको फ्रन्ट लाइनमा काम गर्ने स्वास्थ्यकर्मी तथा सुरक्षाकर्मीलाई समर्पित गरेर साङ्गीतिक फिल्म बनाएको उहाँले बताउनुभयो । डाक्टर हस्पिटलबाट फर्केपछि उहाँहरूलाई देखेर लुक्ने, उहाँहरूलाई छि छि दुरदुर गर्ने कोभिड सर्छ भनेर हिँडेको पाइलामा स्यानिटाइजर छर्कने । त्यो बाटो नहिँड्ने गरेका दृश्य समाजमा देखिसकेपछि यो कथा उहाँको दिमागमा आएको हो ।

डाक्टरले हस्पिटलमा सिकिस्त बिरामीलाई नहेर्ने हो भने त सबैको ज्यान खतरामा पर्छ । डाक्टर आफैलाई पनि कोभिडको खतरा छ । आफ्नो ज्यान जोखिममा राखेरै सेवा दिइरहनुभएको डाक्टरलाई सर्पोट गर्नुपर्छ भन्ने उहाँमा भयो । सोही विषयलाई आधार बनाएर उहाँले लव स्टोरी लेख्नुभयो । यो कोभिड १९ प्रतिको स्टोरी हो । साङ्गीतिक फिल्मको छायांकन नेपाल क्यान्सर हस्पिटल र स्वयम्भूमा भएको हो । साङ्गीतिक फिल्ममा सेनको पहिलो निर्देशन हो । यो साङ्गीतिक प्रेम कथा हो तर म्युजिक भिडियो नभएको उहाँले बताउनुभयो । कथा बनाइसकेपछि गीतलाई भिडियोमा जोडेको उहाँले जनाउनुभयो ।

यो साङ्गीतिक फिल्ममा समावेश निदाउँछे सपना बोलको गीतमा आवाज सुगम पोखरेल र कविता श्रेष्ठको सुन्न सकिन्छ । गीतको रचना राजेश कुमार श्रेष्ठले गर्नुभएको हो । एलिश कार्कीले सङ्गीत भर्नुभएको छ । साङ्गीतिक फिल्ममा मनिष राउत, रेश्मा घिमिरे, नेरिस्का स्थापित, युसिन चन्द्र, कमलेस बरालको मुख्य अभिनय रहेको छ । आँशुसेन फिल्मसको प्रस्तुतिमा बनेको फिल्मको निर्देशनमा सन्तोषलाई सुदिप पौडेल, जीवन स्वार, आर्यन अधिकारीले सघाउनुभएको छ । साङ्गीतिक फिल्म आँशुसेन फिल्मस युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो । ११ मिनेट २३ सेकेन्डको फिल्मले सन्देशमूलक कथा बोकेको छ ।
अलि मार्मिक किसिमको विषयवस्तुमा क्याप्टेन सिप लिँदै अडियन्सलाई खुराक दिनपर्छ भन्ने मनबाट लागेकोले यो साङ्गीतिक फिल्ममा काम गरेको उहाँले खुलाउनुभयो । मार्मिक सामाजिक विषयवस्तुलाई उजागर गर्ने तरिकाले निर्देशन मार्फत अब निरन्तर काम गर्ने योजना बनाएको उहाँको भनाई छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button