अब पोखरादेखि सिक्लेस हुँदै कालिका हेलिकप्टरमा सरर

पोखरा न्यूज । ग्लोबल जिपाङ टुर्स एण्ड ट्राभल्स (गोजी) को औपचारिक शुभारम्भ भएको छ । शनिबार पोखरा महानगरपालिका वडा नम्बर २८ कालिकाको चाल्स हिलमा एक औपचारिक कार्यक्रमको आयोजना गरेर गोजी ट्राभल्सको औपचारिक शुभारम्भ गरिएको हो ।

‘यात्राको खोजीमा गोजी, यात्रा र गन्तव्य’ नाराका साथ गोजीले नेपालका सबै जिल्लामा सेवा दिने यसका म्यानेजिङ डाइरेक्टर प्रवेश राजभण्डारीले बताउनुभयो । दुई वर्ष अगाडिबाट थालनी गरेको भए पनि औपचारिक रूपमा बल्ल सञ्चालनमा ल्याएको उहाँले प्रस्टाउनुभयो । प्याकेजको टुर्स सहित यसको शुभारम्भ गरिएको हो । पोखराबाट सिक्लेस ताङतिङ हुँदै कालिका चाल्स हिलमा हेलिकप्टर मार्फत अवलोकन गर्ने प्याकेज गोजीले ल्याएको छ । आफ्नो उद्देश्य भनेको कालिकालाई पर्यटनको मुख्य गन्तव्य बनाउनु रहेको राजभण्डारीले बताउनुभयो ।

गोजीले दिने सेवाको बारेमा राजभण्डारी भन्नुहुन्छ–‘धेरैले प्याकेज गर्ने तर साना साना कुरा छुटाउने गरेको पाइन्छ, तर हामी गोजीबाट सबै कुरालाई समेट्ने छौँ । मुख्य गन्तव्यलाई मात्र फोकस नगरी बाटामा भेटिने सबै पर्यटकीय स्थानको प्रमोसन गर्ने गोजी ट्राभल्सको योजना रहेको छ । अब यसको सेवा ७७ वटा जिल्लामा नै विस्तार गरिने छ । घुम्नलाई मात्र हैन अफिसियल कामको लागि समेत गोजीलाई सम्झने खालको वातावरण बनाउदै छौँ, सवारी साधनबाट यात्रा गराउँदा सरसफाइ, हाइजेनिक खानेकुरालाई ध्यान दिँदै आन्तरिक पर्यटकलाई लक्षित गरेर काम गर्छौ ।’

गोजी ट्राभल्समा राजभण्डारीको एकल लगानी हो । ट्राभल्समा एक करोड पचास लाखको लगानी गरेको उहाँले खुलाउनुभयो ।
यति बेला कालिकाको लागि ३० हजारको प्याकेज आफूले ल्याएको उहाँको भनाई छ । प्रभु हेलिकप्टर मार्फत पोखरा सिक्लेस ताङतिङ हुँदै त्यहाँका रमणीय दृश्य नियाल्दै कालिकाको पोखरा हेवन रिर्सोटमा बसेर अर्को दिन पोखरा प्रस्थान गर्ने प्याकेजको लागि एक जनालाई ३० हजार रुपैयाँ लाग्नेछ । यो प्याकेजमा रिर्सोट बसेर खाना खाएर, लाइट ब्रेकफास्ट सहित बेलुका बार्बेक्यु सहितको सुविधा पाइनेछ । प्याकेज नलिई हेलिकप्टर मार्फत दृश्यावलोकन गर्नका लागि घुम्नेको लागि २५ हजार रुपैयाँ लाग्नेछ ।
सराङकोट विकल्प कालिका हुनसक्छ भनेर आफूले यो प्याकेज ल्याएको राजभण्डारीले बताउनुभयो । ‘सराङकोट विकल्प कालिका हुनसक्छ भनेर यो प्याकेज ल्याएको हुँ, अपेक्षा राम्रो छ । धेरैको माग तथा चाहना थियो । कोभिडले केही असर त परेको छ, तर राम्रो हुने अपेक्षा छ’उहाँले भन्नुभयो ।

पोखरा महानगरपालिका वडा नम्बर २८ का अध्यक्ष निर्मल दियाली सुनारले पोखरा २८ पर्यटकीय दृष्टिकोणले धनी रहेको बताउनुभयो । पछिल्ला दिनमा पोखरा २८ लाई प्रमोसन गर्न पोखरा हेवन रिर्सोटले भूमिका खेलेको र अब नयाँ प्याकेज सहित गोजी ट्राभल्सले सेवा आरम्भ गरेसँगै कालिकाको प्रचारमा थप सघाउ पुग्ने उहाँको भनाई थियो । रोयल ट्रेकको प्रमोसन लागि निर्माण भएका विभिन्न समितिले भन्दा रिर्सोटले वडाको रोयल ट्रेकको प्रमोसन गर्ने उद्देश्यमा महत्त्वपूर्ण भूमिका खेलेको वडाध्यक्ष दियालीको तर्क थियो । ‘पर्यटकको हब बनाउने भिजन राजभण्डारीसँग भएकोले वडाले यसलाई पुँजीको रूपमा लिएर सहयोग गर्नेछ, दुरीको हिसाबले समेत कालिका पोखराको मुख्य बजारदेखि नजिक छ, यहाँ २०१८ सालमा नै बाटो आएको थियो, अब बाटो थप व्यवस्थित बनाउँदै छौँ, सोही कारण चाल्स डाँडाको प्रचारप्रसारको लागि वडाले समेत थप सहयोग गर्नेछौँ’ वडाध्यक्ष दियालीले भन्नुभयो ।

लायन्स क्लब इन्टरनेसशल वि २ का इमिडेट पास्ट गभर्नर अनुप पहारीले पर्यटन क्षेत्रमा पोखरा हेवन रिर्सोट प्रालिका अध्यक्ष समेत रहनुभएका गोजी ट्राभल्सका प्रवेश राजभण्डारीले गर्न थाल्नुभएको कार्य प्रसंसनिय रहेको बताउनुभयो । चाल्स हिललाई आन्तरिक तथा बाह्य पर्यटकमाझ परिचित गराउँदै यो ठाउँको विकासमा गोजी ट्राभल्सले महत्त्वपूर्ण भूमिका खेल्ने उहाँको विश्वास थियो ।

जनज्योति माविका पूर्व प्राचार्य समेत रहनुभएको माधव प्रसाद पौडेलले चाल्स हिलमा रहेको दुई डाँडा मध्ये एउटालाई पुर्खेको डाँडा र अर्कालाई चिन्तेको डाँडा भन्ने गरिएको बताउनुभयो । विगतमा रोयल ट्रेकमा यात्रा गर्ने पर्यटकको रोजाइमा पर्ने गरेको यो ठाउँ पछिल्ला वर्षहरूमा सुस्ताएको भए पनि यहाँ रिर्सोट स्थापना भएपश्चात् पुनः आशा जगाएको उहाँले सुनाउनुभयो ।

युवराज चाल्स २०३८ सालमा भ्रमणमा आए पश्चात् यो डाँडालाई चाल्स हिल भन्न थालिएको हो । कालिका देखि स्याकलुङ लिप्यानी हुँदै बेगनास ताल निस्कने यो ट्रेक हो । बिस्तारै यो ट्रेक रुटलाई बिर्सन थाले पनि अब पुन यो रुटमा आन्तरिक तथा बाह्य पर्यटकको आकर्षण थपिने आशा उहाँले गर्नुभयो । औपचारिक कार्यक्रमको सञ्चालन पूर्णबहादुर भुजेलले गर्नुभएको थियो । औपचारिक कार्यक्रम अगाडि पोखरा देखि सिक्लेस हुँदै कालिकासम्म प्रभु हेलिकप्टर पुगेको थियो । चाल्स हिलमा हेलिकप्टर अवतरण गर्दा स्थानीयले पञ्चेबाजाले स्वागत गरेका थिए ।

गोजी ट्राभल्सको हेड अफिस काठमाण्डौको खिचापोखरीमा रहेको छ । शाखा कार्यालय पोखरा सहित देशका पर्यटकीय क्षेत्र सबै ठाउँमा पु¥याउने सञ्चालकको भनाई छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button