नेत्र गुरुङको ‘फर्क गाउँघर’ दशैं तिहार लक्षित गीत सार्वजनिक (भिडियोसहित)

पोखरा न्यूज । केही समय अगाडि ‘म तिम्रै हुँ माया’ बोलको गीत सार्वजनिक गर्नुभएका गायक नेत्र गुरुङको नयाँ गीत ‘फर्क गाउँघर’ आइतबार सार्वजनिक भएको छ । गीतमा रचना सङ्गीत र आवाज नेत्रको नै रहेको छ ।

विनोद रसाइलीले एरेन्ज गरेको गीतलाई उत्कृष्ट बनाउन विकास खाती, सुदिप गायक, भरत सुनार, सविन गायकले बाजामा साथ दिनुभएको छ । रेकडिङ र मिक्सिङ क्रेजि स्टुडियोमा भएको हो । गीतको बारेमा गुरुङले पोखरा न्यूजसँग भन्नुभयो –‘सर्ट फिल्म लेख्ने क्रममा दशैंको बेलामा छोरा विदेशमा हुँदा स्वदेशमा बाबु आमाको मन रोएको कथाले मन छोयो । अनि, शब्दहरू आफै आउन थाले, सर्ट फिल्म छोडेर गीत रेकर्ड गरे । आफ्ना बाबु आमा संस्कृति भुल्न हुँदैन भन्ने सन्देश गीतमा छ । गीतको शब्द लेख्दै गर्दा भिडियोको लाइन अप समेत तयार भैसकेको थियो ।’

यो दशैं तिहारलाई लक्षित गरेर तयार गरिएको गीत हो । पोखरा २२ भुम्दिकोटमा छायांकन गरिएको भिडियो समेत आकर्षक बनेको छ । प्रकाश गुरुङ कासको छायांकन, किरण राज थापाको कलरमा तयार भएको भिडियोको निर्देशन नेत्रले नै गर्नुभएको हो । नेत्र इन्टरटेनमेन्टको प्रस्तुतिमा निर्माण भएको भिडियोको निर्देशनमा उहाँलाई कृष्ण कुमार गुरुङले सघाउनुभएको छ । भिडियोमा गजेन्द्र गुरुङ, विश्वात्मा गुरुङ, प्रेमबहादुर गुरुङ, विनीता तामाङ, नवराज गिरी, पुरन क्षेत्री, अनुप अधिकारी, दुर्गा कुमारी गुरुङ, प्रतुस गुरुङ, सान गुरुङ र प्रिसा गुरुङको अभिनय रहेको छ । गीत नेत्र इन्टरटेनमेन्टको अफिसियल युट्युबमार्फत हालै सार्वजनिक भएको हो ।

नेत्रले २०५८ सालमा ‘निराशाको बादल’ बोलको गीत रेकर्ड गरेर नेपाली साङ्गीतिक फाँटमा पाइला अगाडि बढाउनुभएको थियो । २०६० मा ‘चोली तिमीलाई’ बोलको गीत रेकर्ड गर्नुभयो । २०६६ सालमा ‘माया बस्यो मुटुमा’ नामक एल्बम नै उहाँले पस्कनुभएको थियो ।

पछिल्लो समयमा चलचित्र र म्युजिक भिडियो निर्देशनमा उहाँ व्यस्त हुनुहुन्छ । नयाँ नेपाली चलचित्र निर्देशन गर्ने तयारीमा समेत रहेका उनका छोटा चलचित्र एकपछि अर्को गर्दै लगातार रिलिज भइरहेका छन् ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button