‘सत्यम’ चलचित्रमार्फत महानायक हमाललाई दमदार कम ब्याक गराउने तयारी

पोखरा न्यूज । नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमाललाई दमदार भूमिका मार्फत कम ब्याक गराउने तयारी गरिएको छ । लामो समयसम्म नेपाली चलचित्र क्षेत्रमा अभिनय मार्फत एकछत्र राज गर्न सफल बन्नुभएका हमाललाई ‘सत्यम’ चलचित्रमार्फत पुनः मुख्य भूमिकामा अभिनय गराउने तयारी गरिएको चलचित्रका लेखक तथा निर्माता रेसम सापकोटाले पोखरा न्यूजलाई जानकारी दिनुभएको हो ।

केही दिन अगाडि यो चलचित्रको बारेमा पोखरामा नै राजेश हमालसँग विस्तृत कुराकानी गरिसकेको सापकोटाले बताउनुभयो । उहाँका अनुसार यो चलचित्रमा काम गर्न राजेश हमाल उत्साहित हुनुभएको छ । चलचित्रको स्क्रिप्ट अध्ययन गरिसक्नुभएका हमालको सकारात्मक प्रतिक्रियाका कारण निर्माण पक्षले चलचित्रको कामलाई अगाडि बढाएको छ । यद्यपि यो समाचार तयार पार्दासम्म औपचारिक रूपमा हमालले यो चलचित्रको लागि एग्रिमेन्ट भने गरिसक्नु भएको छैन । निर्माण पक्ष भने यति बेला चलचित्र छायांकन गर्ने ठाउँको छनोटको लागि रुपन्देहीमा रहेको छ ।

राजेश हमाल स्क्रिप्ट अनुसारको चलचित्र बन्छ कि बन्दैन भन्नेमा सचेत रहेको आफूले पाएको लेखक सापकोटाले बताउनुभयो । ‘अभिनेता राजेश हमालले स्क्रिप्ट पढिसक्नुभयो । स्क्रिप्ट मन पराउनुभयो । अब उहाँलाई लेखेको कुरा पर्दामा आउँछ कि आउन्न भन्ने मात्र डर छ । एग्रिमेन्ट भइसकेको छैन । केन्द्रीय भूमिकामा रहेर काम गर्न तयार हुनुभएको छ । धेरै चलचित्रमा स्क्रिप्ट अनुसार पर्दामा नदेखिँदा आलोचना हुने गरेकोले समेत हमाल सचेत हुनुहुन्छ’ उहाँले भन्नुभयो ।

चलचित्र क्षेत्रमा पहिल्यैदेखि रुचि भएका लेखक सापकोटाको यो पहिलो चलचित्र हो । चलचित्र क्षेत्रमा केही गर्ने जोस आएर काम गर्न कस्सिएको उहाँ बताउनुहुन्छ । ‘यो चलचित्रको कथा मानिसको कल्पना हो । फेन्टास्टिक आइडिया दिमागमा आयो अनि स्क्रिप्ट तयार गरेको हुँ । राजेश हमाललाई लक्षित गरेर स्क्रिप्ट तयार गरे अहिले उहाँले स्क्रिप्ट मनपराएको कारण थप ऊर्जा थपिएको छ’ सापकोटा बताउनुहुन्छ ।

यो चलचित्र छायांकनमा जानुभन्दा पहिले टुडी एनिमेसन निकाल्ने र त्यसलाई हेरेर बल्ल फ्लोरमा जाने निर्माण पक्षको तयारी छ । टुडी एनिमेसनमा चलचित्र हेरेर बल्ल फ्लोरमा जाने आफूहरूको प्रयास नेपाली चलचित्रको इतिहासमा नयाँ प्रयोग हुने उहाँको दाबी छ । टुडी एनिमेसन आगामी मंसिरको पहिलो हप्तासम्म तयार हुनेछ । टुडी एनिमेसनमा जस्तो देखिन्छ चलचित्रमा त्यस्तै देखाउने तयारी हो । यसको लागि केही बजेट छुट्टाएरै काम गरिरहेका उहाँले जनाउनुभयो ।

अहिले लोकेसन सुटिङ गर्ने काम छ । यसपालि दशैंमा टिका नभएकोले चलचित्रकै लागि समय छुट्टाएको सापकोटाले बताउनुभयो । लोकेसन छनोटमा कलाकार प्रदीप ढकाल समेत उहाँको साथमा हुनहुन्छ । त्यसो त लेखक सापकोटा राजेश हमालको ठुलो फ्यान हुनुहुन्छ । राजेश हमालले अभिनय गरेका २ सय २० वटा चलचित्र नामै टिपेर रेकर्ड राखेको उहाँले खुलाउनभयो । सोही कारण राजेश हमाललाई केन्द्रमा राखेर ऐतिहासिक चलचित्र बनाउने जाँगर उहाँमा चलेको हो ।

चलचित्रका अन्य कलाकार छनोट गर्ने कार्य भइरहेको छ । सापकोटा भन्नुहुन्छ–‘ नाजिर हुसेन, पुष्प खड्कासँग कुरा भइरहेको छ । टुडी एनिमेसन मार्फत हेरेपछि बल्ल कास्टिङको लागि कलाकार छनोट गर्छौ । नेगेटिभ रोलमा प्रदीप ढकाल, प्रशान्त ताम्राकारसँग कुरा भइरहेको छ । तीन जना हिरोइन चाहिन्छ । एउटा कमिक छ । दुई वटा लिडिङमा छ । केही कलाकार खोज्दै छौ । दूई जना सम्भावना बोकेका नयाँ लाई डेब्यु गराउने सोच छ ।’ चलचित्र ३ करोड ५० लाख भन्दा बढीको लगानीमा निर्माण हुने निर्माण पक्षको अनुमान छ । पोखरा सहित गण्डकी प्रदेशमा ७० प्रतिशत छायांकन गरिनेछ । यसै गरी १५ प्रतिशत छायांकन तराईमा, काठमाण्डौ ९ प्रतिशत र हिमाली भेगमा ६ प्रतिशत छायांकन हुनेछ ।

चलचित्र फ्लोरमा आगामी मंसिरको अन्तिम हप्ताबाट जाने तयारी छ । नवयुग सिनेमा प्रालिको ब्यानरमा ‘सत्यम’ निर्माण हुनेछ । यो ब्यानरमा निर्माण हुने यो पहिलो चलचित्र हो । शंकर कार्कीको निर्देशनमा बन्ने चलचित्रको सिनेमेटोग्राफर विदुर पाण्डे, प्रोडक्सन हेड प्रकाश महरा, प्रोडक्सन मेनेजर प्रकाश हमाल, एशोसिएट डाइरेक्टर सुवास सुवेदी, कार्यकारी निर्माता श्याम मल्ल रहनुहुनेछ । रेसम गौतम, गणेश पौडेल र कृष्ण अधिकारीको समेत प्रोडक्सन डिपार्टमेन्टमा महत्त्वपूर्ण भूमिका हुनेछ । चलचित्रमा सङ्गीतकार भूमिका योगेश काजीलाई दिइनेछ ।

चलचित्रको कथा केही पहिलाको भए पनि गएको फागुनबाट लेख्न सुरु गरेको लेखक सापकोटाको भनाई छ । यो चलचित्रको कथा रातमा मात्र लेखिएको उहाँले सुनाउनुभयो । ‘राती १२ बजेपछि बल्ल स्क्रिप्ट लेख्थे । सबै रातीमा लेखे, दिउँसोमा कहिल्यै लेखिन’ उहाँले भन्नुभयो ।

चलचित्र प्यासनको क्षेत्र भएको सापकोटा बताउनुहुन्छ । मेरो एक नम्बरको प्यासनको क्षेत्र चलचित्र हो, दोस्रो नम्बरको बल्ल शिक्षण पेसा, शिक्षण पेसामा सफल भए । दोस्रोमा सफल भइसकेपछि पहिलोमा कसरी नभइएला भनेर आँट गरेको छु । पहिल्यै गर्ने सोच हो तर विभिन्न कारणबाट वातावरण बनेको थिएन । अहिले सबै क्षेत्रबाट नयाँ वातावरण बनेको छ । उहाँले बताउनुभयो ।

यो चलचित्रमा अतिथि कलाकारको रूपमा अभिनय गर्ने उहाँको तयारी छ । चलचित्र छायांकनदेखि तयार नहुँदासम्मको अवधिभर लेखकको रूपमा निर्देशकको साथमा रहनेछु । लेखेको कुरा पर्दामा आयो की आएन भन्नेमा मात्र ध्यान दिन्छु । अरू पाटोमा बरु ध्यान दिन्न ।

यो चलचित्रमा राजेश हमालको सकारात्मक हस्तक्षेप हुने लेखक सापकोटाको भनाई छ । हमालले अरू कलकारले कस्तो अभिनय गरेका छन् त्यसलाई समेत ध्यान दिएर हेर्नुहुनेछ । यो चलचित्र हमालको करियरको सवाल रूपमा रहनेछ । हमालको ३० वर्षको चलचित्र क्षेत्रको अनुभवलाई सुझावको रूपमा लिएर काम गर्न तयार छौँ भनेर प्रतिबद्धता निर्माण पक्षले गरिसकेको छ । हमालले अभिनय गर्ने चलचित्र कमजोर आउनुहुन्न भन्नेमा सचेत छौँ । महानायकको विवाद नआउँदै उहाँलाई सोचेर लेखेको सापकोटाले खुलाउनुभयो ।

स्याङ्जा जिल्लाको आधिखोला गाउँपालिका चिलाउनेवासमा जन्मिनुभएको लेखक सापकोटाले चलचित्र हेर्न थालेको उच्च शिक्षा अध्ययनको लागि पोखराको पृथ्वीनारायण क्याम्पसमा भर्ना भएपछि हो । एकै दिन ४ सो सम्म चलचित्र हेरेको अनुभव उहाँसँग छ । ‘चलचित्र प्रति यस्तो क्रेजी थिए की एकै दिन मर्निङ सो, फस्ट सो, सेकेन्ड सो र इभिनिङ सो सम्म हेर्ने गरेको थिए’ उहाँले भन्नुभयो । राजेश हमालले अभिनय गरेको कुनै चलचित्र नछुटाउने उहाँको बानी थियो । नवयुग सिनेमा प्रालिको सिइयो रहनुभएका सापकोटा हिमालय कलेज अफ म्यानेजमेन्टको एकेडेमीक डिन, विग बजार सेल्स प्रालिको निर्देशक, नेपाल किड्स मन्टेश्वरीको अध्यक्ष तथा बार्दली ऋण सहकारी संस्थाको अध्यक्ष समेत हुनुहुन्छ ।

सत्यम चलचित्रको मुख्य विषयवस्तु सामाजिक र राजनीतिक हुनेछ । दर्शकले कमेडी सहितको मनोरञ्जन यसमा पाउनेछन् । गीत सङ्गीतलाई उतिकै फोकस गरिनेछ । सत्यम शीर्ष गीत दमदार बन्नेछ । कुनै कुरामा कम्प्रमाइज नगरी यो चलचित्र मार्फत नेपाली चलचित्र क्षेत्रमा सकारात्मक सन्देश प्रवाह गर्ने निर्माण पक्षको योजना छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button