६० करोड लगानी हुने पोखरा हेवन रिर्सोट आर्कषणको केन्द्र बन्दै

पोखरा । पोखरा हेवन रिर्सोट प्रालि आर्कषणको केन्द्र बन्दै गएको छ । त्यहाँबाट देखिने सुन्दर दृश्यका कारण विशेषगरी आन्तरिक पर्यटकको रोजाईको गन्तव्य यो रिर्सोट बन्दै गएको हो । पोखरा महानगरपािलका वडा नम्बर २८ चाल्स हिल डाँडामा यो रिर्सोट रहेको छ ।

रिर्सोटमा अहिले प्रतिव्यक्ति ३ हजार रुपैयाँको प्याकेज दिइएको छ । यो प्याकेजमा डिनर, स्न्याक्स, रुम, बार्बेक्यु र लाइट ब्रेकफास्ट हुनेछ । विभिन्न परिकारको स्वाद चाख्न, मनमोहक दृश्यहरु नियाल्न तथा फोटो भिडियो खिच्ने उद्देश्यले यो ठाउँमा पुग्नेहरु उतिकै छन् । केही सेवा सहित अनौपचारिक रुपमा सञ्चालनमा आएको यो रिर्सोट फूल फेजमा सञ्चालनमा ल्याउन थप काम भइरहेका छन् ।

पोखरा हेवन रिर्सोटको अनौपचारिक सुरुवातमा पाएको रेसपोन्स अपेक्षा गरेभन्दा राम्रो भएको रिर्सोटका मेनेजिङ डाइरेक्टर प्रवेश राजभण्डारीको भनाई छ । ‘यो हाम्रो मिनी प्रोजेक्ट हो । यतिको होला जस्तो लागेको थिएन । मिनी प्रोजेक्ट पहिला बनाएर देखाउ भनेर सुरु गर्यौ । साथ पाउदैछौ । यसले हाम्रो सोचलाई झनै व्यापक बनाउँदैछ’ उहाँले भन्नुभयो ।

पोखरा हेवन रिर्सोटबाट सुन्दर दृश्य नियाल्न पाइन्छ । यहाँ हेवन टावर छ । टावरबाट सुन्दर दृश्य नियाल्दा रमाइलो अनुभूति हुन्छ । टावरका कारण समेत यसले आर्कषित गरिरहेको छ । सुरुमा रिर्सोट आफ्नो मात्र चाहना भएपनि अहिले सबै पब्लिकको चाहना भइदिएको सञ्चालक राजभण्डारीले बताउनुभयो ।

पोखरा हेवन रिर्सोट फूल फेजमा सञ्चालनमा आउन अझै दुई वर्ष लाग्ने रिर्सोटका मेनेजिङ डाइरेक्टर राजभण्डारीले बताउनुभयो । ‘पोखरा हेवन रिर्सोट फूल फेजमा सञ्चालनमा आउन अझै दुई वर्ष लाग्छ । अहिले एउटा सानो पार्ट मात्र गरिरहेको हो’ पोखरा न्यूजसँग कुरा गर्दै उहाँले भन्नुभयो ।

चाल्स हिलमा रहेको दूई डाँडा मध्ये एउटालाई पुर्खेको डाँडा र अर्कालाई चिन्तेको डाँडा भनेर चिन्ने गरिएपनि पछिल्ला दिनमा यो चाल्स हिलका रुपमा परिचित बन्दै गएको छ । हुनत बेलायतका युवराज चाल्स २०३८ सालमा भ्रमणमा आए पश्चात यो डाँडालाई चाल्स हिल भन्न थालिएको हो । एक समय पर्यटकको केन्द्र बनेको यो ठाउँ पछिल्ला केही वर्षदेखि सुनसान जस्तो बनेको थियो । अहिले पोखरा हेवन रिर्सोटको कारण पुनः यहाँ घुम्न जानेको संख्या बढ्न थालेको छ । पोखरा हेवन रिर्सोट फूल फेजमा सञ्चालनमा आएपछि कास्कीकै मूख्य पर्यटकीय क्षेत्रको रुपमा यो ठाउँको परिचय बन्ने आकलन गर्न थालिएको छ ।

आफूहरुले यतिबेला २२ रुमको सुपर डिलक्स विल्डिङ बनाउदै गरेको राजभण्डारीले जनाउनुभयो । अहिले रिर्सोट रहेको ठाउँ भन्दा केही माथी टपमा भन्ने यो विल्डिङ चार तलाको हुनेछ । सोही ठाउँमा एउटा पृथ्वी आकारको रेष्टुरेन्ट समेत बन्दैछ । जहाँ दृश्यावलोकनका लागि एउटा टावर रहनेछ । टावरमा पुग्ने व्यक्तिलाई टावरमा बसेर खानेकुरा खान मिल्नेगरी रेष्टुरेन्ट बन्दैछ । ‘टावरमा बसेर फोटो मात्र खिच्दैनन् । टावरमानै बसेर खान पाइने हिसाबले पृथ्वी आकारको बनाउदैछौँ’ सञ्चालक राजभण्डारीले भन्नुभयो । पृथ्वी आकारको रेष्टुरेन्टलाई घुम्ने खालको बनाइनेछ । कार्यक्रम आयोजना गर्नेको लागि ठूलो हल समेत त्यहाँ बन्दैछ । ग्लास बिज्र मात्र नभएर स्वीमिङ पुलको मजा लिन चाहनेको मागलाई ध्यान दिँदै तहाँ स्वीमिङ पुल समेत निर्माण गरिनेछ ।

१४ वर्ष अगाडि फोटो खिच्न कालिकामा पुग्दाबाट यस ठाउँले आफ्नो ध्यान खिचेको राजभण्डारी बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ–‘सन सेट र सन राइज अवलोकन गर्ने उत्कृष्ट ठाउँ कालिका हो । ठूलाकोटबाट सनराइज र चिन्तेको डाडाबाट सनसेट साह्रै मनमोहक देखिन्छ । मैले यो ठाउँलाई ओल्टाई पोल्टाई हेरे, यसरी हेर्दाखेरी पर्यटन व्यवसायका लागि यो ठाउँ अतिनै उत्तम हुने ठाने । मोतीको समेत एउटा क्वालिटि हुन्छ, मैले यस ठाउँलाई डाइमण्ड भन्दा माथि कोहिनुरको स्थितिमा देखे । सोही कारण यहाँ लगानी गर्दैछु ।’

आफ्नो उद्देश्य गाउँको अर्गानिक खानाहरुलाई समेटेर शुद्ध घ्यु, विषादीरहित उत्पादन सागसब्जी लगायतका गाउँकै उत्पादनलाई प्रोत्साहन दिने रहेको उहाँले खुलाउनुभयो । त्यस्ता उत्पादनलाई रिर्सोटमा ल्याएर प्रयोग गरिनेछ जसले गर्दा स्थानीयलाई बजार खोज्न अन्यत्र जान नपर्ने उहाँ बताउनुहुन्छ । गाउँमानै उत्पादित सामाग्री खपत हुँदा रिर्सोट गाउँलेलाई आम्दानीको श्रोत बन्नेछ । त्यहाँ पशुपंक्षीको लागि छुट्टै सेक्सन बन्दैछ ।

त्यसोत यसका मूख्य सञ्चालक प्रवेश राजभण्डारीको व्यवसायिक इतिहास भने लामो छ । उहाँले व्यवसायिक यात्रा सुरु गरेको २१ वर्षको उमेरदेखि हो । जुन बेला उहाँ लुम्बिनी वाणिज्य क्याम्पस पढदै हुनुहुन्थ्यो । उहाँको पुख्र्यौली घर बाग्लुङ भएपनि म्याग्दीमा ठूलो पसल थियो । किराना सामान मात्र नभएर कपडा लगायतका सामाग्री त्यहाँ पाइन्थ्यो । बेनी बजारकै मूख्य पसलको रुपमा रहेको यो पसलमा राजभण्डारीले कहिलेकाही गएर सहयोग गर्नुपथ्र्यो । पसल बस्ने क्रमम उहाँ विभिन्न व्यक्तिसँग हेलमेल हुनुभयो । साथीहरु बन्दै गए । उहाँका साथीहरु मध्ये धेरैको हातमा सुनको बाला थियो । सुनको बाला देख्दा उहाँलाई लगाउन मन लाग्यो । सुन कसरी आयो भनेर साथीहरुसँग प्रश्न गर्नुभयो । यसरी प्रश्न गर्दा जापान गएर तीन महिना काम गरेपछि वाला लगाउन सकिन्छ भन्ने उहाँलाई बताइयो । अनि उहाँ बाला लगाउने लोभले जापान जान खोज्नुभयो । अनि भिजिट भीसामा जापान हानिनुभयो ।

जापान पुगेपछि यहाँ भनेजस्तो भएन । जापानिज भाषाको ज्ञान नहुँदा र कुनै तालिम बीना जापान पुगेकोले उहाँलाई समस्या भयो । अनि उहाँका सर्घषका दिन सुरु भए । काम पाउन धेरै गाह्रो थियो । खोज्दै जाने क्रममा समेत जापानिज अक्षरहरु नबुझ्दा समस्या भयो । धेरै ठाउँमा हिड्दा अचानक अग्रेजी अक्षरमा मोती महल इण्डियन रेष्टुरेन्ट भनेर लेखेको देख्नुभयो । यो नाम देख्दा उहाँलाई खुसी लाग्यो । काम पाइन्छकी भन्ने आशामा उहाँ यो रेष्टुरेन्टमा छिर्नुभयो । उहाँ गएर बसेपछि रेष्टुरेन्टका व्यक्तिहरुले उहाँ ग्राहक हो भन्ने ठाने ।

ग्राहककै रुपमा नै व्यवहार गर्न थाले । आफू कामको खोजीमा आएको हुँ खान हैन भनेर भन्नुभयो । उहाँसँग कुरागरिरहेका व्यक्तिले काम छैन भन्ने जवाफ दिए । यो जवाफ सुनेर उठेर हिड्ने क्रममा भित्र किचनबाट आवाज आयो । किचनबाट सेफले रोक्न लगाए । अनि बाहिर निस्किएर सेफले हिन्दीमा भने ‘शनिबार बस् एक दिनका दो घण्टेका काम हे वर्तन माझ्ना हे ।’ राजभण्डारीलाई सेफ भगवान जस्तै लाग्यो । किनकी भएको खर्च सकिएर भुक्का भइसक्नुभएको थियो । गरेको लगानी डुब्दा र काम नपाउदा निरास बनेको समयमा केही उर्जा थपियो । अनि डिस वासबाट काम सुरु भयो । डिस वासको काम गर्दैगर्दा कुक सिक्नुभयो । सिकेपछि कुकको काममा प्रमोसन भयो । उहाँको कामबाट प्रभावित भएपनि हलमा वेटरको जिम्मा दिइयो । वेटरपछि वेटरहरुको क्याप्टेन जिम्मा मात्र नभएर हलको मेनेजर उहाँ हुनुभयो ।

यसरी प्राप्त अवसरले उहाँलाई धेरै कुरा सिकाइसकेको थियो । उहाँको मनमा आफै केही गर्ने हुटहुटी बढ्यो । अब यसरी इन्डियन रेष्टुरेन्ट चल्छ भने म आफै सुरु गर्छु भन्ने उहाँमा भयो । अनि जापानमा लुम्बिनी रेष्टुरेन्ट सुरु गर्नुभयो । झण्डै तीन दशक जापानमा बिताउनुभएका राजभण्डारीका अहिलेपनि दुईवटा रेष्टुरेन्ट जापानमा चलिरहेको छ । त्यहाँ रेष्टुरेन्ट मार्फत इण्डियन, नेपाली, थाई र इण्डोनियसन परिकार पस्किनुहुन्छ । लुम्बिनी रेष्टुरेन्ट स्वादिष्ट परिकारका कारण त्यहाँ परिचित बनिसकेको उहाँले सुनाउनुभयो ।

अर्काको देशमा मात्र कति पसिना बगाउने अब आफ्नै देशमा केही गर्नुपर्छ भन्ने भावनाको विकास भयो । अनि नेपाल फर्कनुभयो । उहाँ भन्नुहुन्छ– ‘कति अर्काको देशमा बस्ने, यही नेपालमा केही गरौ । नेपाल आमाको कोखबाट जन्मिएको भएपछि नेपालमानै केही गर्नुपर्छ । बेरोजगारलाई रोजगार दिदै केही गरौ भन्ने भयो । अनि साढे तीनवर्ष अगाडिबाट नेपालमानै केही गर्न खोजेको छु । लेकसाइड खोले, पानस खोले, होटल खोले, अहिले यो ठाउँमा म सन्तुष्ट छुँ ।’

उहाँ यात्रामा रमाउनुहुन्छ । कुन गन्तव्यमा जाने, यात्रा कसरी गर्नेभन्ने हिसाबले काम गरिरहनुभएको छ । तर पर्यटन व्यवसायमा अहिले कोभिड १९ का कारण असर परेकोमा भने उहाँ चिन्तित हुनुहन्छ । ‘लेकसाइड सुनसान छ, सिरानदेखि पुछारसम्म हिड्दाहिड्दै आँशु झर्छ । किनभने रेष्टरेन्ट त खुले ग्राहक खै त ? उहाँ प्रश्न गर्नुहुन्छ ।

अब व्यवसायीले आन्तरिक ग्राहकलाई टार्गेट गर्नुपर्ने उहाँको बुझाई छ । विदेशीको मात्र मुख हेरेर भएन अब आन्तरिक पर्यटनकलाई कसरी सहज एवं सुलभ ढंगले देशका राम्रा पर्यटकीय स्थल छानेर लान सकिन्छ भनेर आफूले काम गरिरहको उहाँले बताउनुभयो । विभिन्न प्याकेज बनाएर आन्तरिक पर्यटकको ध्यान खिच्न आफू व्यस्त बन्दै गरेको उहाँले खुलाउनुभयो ।

कोरोनाको कारण प्रभावित भएको पर्यटन व्यवसाय रिकोभर हुन दुई वर्ष लाग्ने उहाँको अनुमान छ । नेपालमा कृषि भन्दापनि पर्यटन क्षेत्रनै अगाडि बढाउनुपर्नेमा उहाँको जोड छ । ‘कृषि योग्य जमिन घडेरी भैसके । सोही कारण अर्को विकल्प पर्यटन व्यवसाय हो । अरु उपाय छैन’उहाँले भन्नुभयो ।

अबको सरकारी नीति पर्यटकलाई कसरी लोभ्याउने भन्ने हुनुपर्ने उहाँको तर्क छ । थाइल्याण्ड, इण्डोनेसिया, हवाईमा पर्यटक कसरी बढे भन्ने सरकारले बुझ्नुपर्छ । दूई हजार इन्ट्रि शुल्क मात्र फ्रि गरिदिने हो भने समेत धेरै सहज हुन्छ । यहाँ पोलिसी छैन । दूई हजारको लोभले पर्यटक बढेभने उसले यहाँ गर्ने विभिन्न खर्चका कारण सबैलाई आम्दानी गर्ने बाटो बन्छ । सोही कारण भीसा फ्रि मात्र गरिदिए सजिलो हुन्छ ।

पोखरा हेवन रिर्सोटको फुल फेजको लागि झण्डै ६० करोडको लगानी हुने अनुमान उहाँ गर्नुहुन्छ । यो रिर्सोटको लागि एउटा संस्था सहितको समुह भएको र संस्थाको मेनेजिङ डाइरेक्टरको रुपमा कार्य गर्दै साथीहरुको सहयोगमा काम गरिरहेको उहाँले खुलाउनुभयो ।

 

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button