कास्कीमा वडा भवन निर्माणमा तीव्रता

पोखरा । कास्कीका तीन गाउँपालिकामा १५ वटा वडा कार्यालय निर्माण कार्य भइरहेको छ । जिल्ला समन्वय समिति कास्कीको मौज्दात कोषबाट ती कार्यालय निर्माण भइरहेका हुन् ।

समन्वय समिति र गाउँपालिकाको लागत साझेदारीमा मादी, अन्नपूर्ण र माछापुच्छ«े गाउँपालिकामा वडाका भवन केही निर्माण सम्पन्न भएका छन् भने केही निर्माणाधीन रहेको जिल्ला समन्वय समितिका प्रमुख बैनबहादुर अधिकारी क्षेत्रीले बताउनुभयो ।

उहाँले भन्नुभयो, “भवन नभएको ठाउँमा वडा भवन हाम्रो पहिलो प्राथमिकता हो । जिल्ला समन्वय समितिको मौज्दात कोषको रकमबाट गाउँपालिकासँग लागत साझेदारी गरेर जिल्लाभर १५ वटा वडा कार्यालयहरु निर्माण हुँदै गर्दा खुुशी लागेको छ ।”

मादी गाउँपालिकाको वडा नं ४ र १२ को वडा भवन निर्माण सम्पन्न भएर हालै उद्घाटन गरिएको छ । त्यसैगरी वडा नं ५,६,७,८,९ को निर्माणाधीन छ । वडा नं ३ र १० को प्रक्रिया शुरु भएको बताइन्छ । त्यसैगरी अन्नपूर्ण गाउँपालिकाको वडा नं ४,५,७,८ र ९को भवन निर्माणाधीन छन् । माछापुच्छ«े गाउँपालिकाको वडा नं ९ को वडा भवन निर्माण सम्पन्न भइसकेको सोही वडाका वडाध्यक्ष दुर्गाबहादुर क्षेत्रीले जानकारी दिनुभयो ।

जिल्ला समन्वय समितिको ६० र गाउँपालिकाको ४० प्रतिशत लागत साझेदारी वडाका भवन निर्माण गरिएको हो । समन्वय प्रमुख अधिकारीका अनुसार रु ६० लाखदेखी ९० लाखसम्म लागतमा भवन निर्माण गरिएको हो । सङ्घीयता कार्यान्वयन अघिको साविकको जिल्ला विकास समितिको खातामा रहेको ३० करोड हाराहारीको रकम सङ्घीयतापछि जिल्ला समन्वयको खातामा बचत हुन आएको हो । सोही रकम समन्वय समितिले जिल्लाका स्थानीय तहहरुको प्रशासकीय भवन तथा वडा भवन निर्माणमा लगाएको हो ।

पोखरा महानगरलाई रु आठ करोड तथा अन्य चार गाउँपालिकालाई रु चार करोड नघट्ने गरी मौज्दात रकम विनियोजन गरिएको थियो । सो रकम पालिकाहरुले साझेदारीमा वडा भवन नभएका ठाउँमा भवन निर्माणका लागि माग गरेका हुन् । विनियोजित रकम कतिपय पालिकाले भने गाउँपालिकाको प्रशासकीय भवन निर्माण गर्ने भएका छन् । समन्वयले सटर तथा जग्गा भाडा लगायतबाट वार्षिक रु एक करोड बराबर आन्तरिक आय गर्दै आएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button