पोखरेली युवा विकासको कथामा ३ करोडको लगानीमा चलचित्र ‘प्रकाश’ बन्दै

पोखरा न्यूज । पोखरा २४ कास्कीकोटका विकास सुवेदीको कथा, पटकथा तथा संवादमा चलचित्र ‘प्रकाश’ निर्माण हुने भएको छ । नेपाली चलचित्र क्लासिक, पर्व तथा प्रसादमा एशोसियट डाइरेक्टरको भूमिका निभाउनुभएका सुवेदी ‘प्रकाश’ चलचित्रको कार्यकारी निर्माता समेत रहनुहुनेछ ।

एक वर्षसम्म म्युजिक भिडियो तथा चलचित्रका बाँकी काम रोकेर यात्रामा निस्कपछि सोही यात्राले जन्माएको कथा हो चलचित्र ‘प्रकाश’ । यात्राको क्रममा उहाँ लामो समय कर्णाली प्रदेशमा बस्नुभयो । तहाँ बस्दाखेरी उहाँको मनमा विभिन्न अनुभूति आयो ।

पत्रकारितामा वा चलचित्रमा ‘पोइन्ट अफ भीउ जेनरेट’ गर्दाखेरी काठमाण्डौलाई केन्द्र मानेर काठमाण्डौकै नजरबाट देशलाई हेर्ने चलन व्याप्त छ । यो चलन सुवेदीलाई मनपर्दैन । उहाँ यसलाई चिर्न चाहनुहुन्छ । काठमाण्डौको ‘पोइन्ट अफ भीउ’बाट हेर्दाखेरी कतिपय सामान्य लागेका चिजहरु सर्वसाधरणका लागि असामान्य हुनसक्ने उहाँको बुझाई छ । यही कारण सुवेदी चलचित्र मार्फत कुनै ठाउँको वास्तविक कथालाई बाहिर ल्याउन खोज्दैहुनुहुन्छ ।

यो चलचित्रमा मुख्य भूमिका अहिलेका चर्चित अभिनेता प्रदीप खड्काले निभाउने लेखक सुवेदीले खुलाउनुभयो । ‘मुख्य पात्रको भूमिका प्रदीप खड्काले निभाउनुहुनेछ । सो पात्रलाई म कसैबाट सञ्चालित छु भन्ने थाहा हुँदैन । उ कर्णालीको युवा हो । एउटा सपना देखेर पुरा गर्न लागिरहेको छ । उसको जीवन भोगाईनै चलचित्रको कन्टेन हो’सुवेदीले भन्नुभयो ।

काठमाण्डौले गरेको निर्णय तथा हाम्रो आन्तरिक एवं बाह्य कारणले सो पात्रको जीवनमा पार्ने प्रभाव चलचित्रमा हेर्न पाइनेछ । कसरी उ प्रयोग हुन्छ । कसरी उसको जीवन प्रभावित हुन्छ भन्ने कुरानै चलचित्रको कथा हो । ‘उसले देखेकै छैन तर त्यस्तो ठाउँबाट गरेको निर्णयले उसलाई कति प्रभाव पार्छ भन्ने चलचित्रको कथा हो । यो शिक्षासँग सम्बन्धित छ’ सुवेदीले थप्नुभयो ।

आफू चलचित्रका लागि नै यात्रामा निस्किएर तयार पारेको कथा भएकोले दर्शकको माया पाउने उहाँको विश्वास छ । अहिलेसम्म अधिकांश कथा सतहमानै आउने गरेको उहाँको भनाई छ । पोखरा न्यूजसँग कुरा गर्दै सुवेदी भन्नुहुन्छ–‘वास्तविक फिल्डमा के हुन्छ भन्ने अनुभूतिको स्तरमा कन्टेन आएको छैन । सर्वसाधरणले भोगेका कुराले स्थान पाएको छैन । चलचित्रमा शक्ति हुन्छ । यसको दायरा फराकिलो हुन्छ । यो मुद्दा चलचित्रकै माध्यमबाट भन्नुपर्छ भन्ने लागेर कथा लेखेको हुँ । जुम्ला, कालिकोट, मुगु लगायतका ठाउँमा गएर बसेर गरेका अनुभूति चलचित्र मार्फत पस्कन्छु ।’

यतिबेला कोरोना महामारीका कारण चलचित्रको छायाकंन तथा प्रर्दशन गर्ने कार्य रोकिएको छ । सोही कारण चलचित्र फ्लोरमा जान नसकेको सुवेदीले बताउनुभयो । सरकारले चलचित्र छायाकंन गर्न खुल्ला गर्नेवित्तिकै फ्लोरमा जाने सम्पूर्ण तयारी निर्माणपक्षले गरेको छ । चलचित्र छायाकंनको लागि ‘पब्लिक’सँग हेलमेल गर्नुपर्नेछ । एउटा ‘लोकेसन’ लिएर खिच्ने मात्र यो चलचित्रको ‘कन्टेन’ हैन । छायाकंनको लागि एउटा दुर्गम गाउँमा जानुपर्नेछ । गाउँलेलाई समेत अहिलेको अवस्थामा डर त्रास नहोस् भन्नेमा चलचित्र युनिट सजग छ ।

जुम्लाको कहानी भएको कारण जुम्ला सहित कर्णाली प्रदेशमा जाने निर्माण पक्षको भनाई छ । जसको लागि तीनवटा गाउँ हेरिएको छ । तीन गाउँ मध्ये कुनै एकलाई छनोट गरेर छायाकंन गरिने लेखक सुवेदीले जनाउनुभयो ।

यो चलचित्रको निर्देशन दिनेश राउतले गर्नुहुनेछ । यसको कास्टिङ डाइरेक्टर अनुप बराल हुनुहुन्छ । यही चलचित्रको लागि भनेर अभिनेता प्रदीप खड्काले कास्टिङ डाइरेक्टर बरालसँग अभिनय सिक्नुभएको छ ।  चलचित्रको सिनेमेट्रोग्राफर जिम्मा राजेश श्रेष्ठलाई दिइएको छ ।  निर्मातामा महेन्द्र अधिकारी हुनुहुन्छ ।

सिनेमा अडियो सोसाइटीमा नाम निकाल्न सफल नेपालको पहिलो साउण्ड इञ्जिनियर उत्तम न्यौपानेलाई साउण्डको जिम्मा दिइएको चलचित्रमा  ‘सिङ्क साउण्ड’को प्रयोग गरिनेछ ।

‘साउण्डको काम चलचित्रको फस्ट फेजबाट गराउदैछौ । जसले गर्दा हतारमा साउण्डको काम गर्नु नपरोस् । वास्तविक साउण्ड राख्न पाइयोस् । यसो गर्न सकिए अडियोले न्याय पाउँछ । साउण्डलाई चलचित्रको ६० प्रतिशत भन्छौ तर रिलिज हुनुभन्दा १५ दिन वा ७ दिन अगाडि फायल दिदाँ साउण्डले कसरी राम्रो काम गर्न सक्छ । सोही कारण हामी सीन साउण्ड गराउछौँ । जसका कारण वास्तविक साउण्ड आउँछ डविङ गर्नुपर्दैन’ लेखक सुवेदी भन्नुहुन्छ ।

नेपालमा निर्माण हुने ९९ प्रतिशत चलचित्रमा सिङ्क साउण्ड नहुने सुवेदीको दावी छ । आफूहरुले अडियोको छुट्टै ‘डिपार्टमेन्ट’ तयार पारेको र यो सबै राम्रो हुने आशामा प्रयोग गर्न लागिएको उहाँको भनाई छ ।

चलचित्र निर्देशन ठूलो जिम्मेवारी भएपनि आर्थिकदेखि धेरै कुराका कारण निर्देशकले भनेजस्तो चलचित्र निर्माण हुन नसकेको अवस्थामा आफूहरुले त्यसलाई चिर्दै निर्देशकलाई ढुक्कले आफ्नो क्षमता देखाउने वातावरण प्रदान गरिने कार्यकारी निर्माता समेत रहनुभएका सुवेदीले बताउनुभयो । असिस्टेन्ट डाइरेन्टर भएर काम गर्दा चलचित्रको बारेमा चाडो बुझिने अनुभव आफूसँग रहेको सुवेदीको भनाई छ । आफ्ना अनुभवलाई प्रयोग गर्दै हर दृष्टिकोणले चलचित्रलाई सुन्दर बनाउने तयारी आफ्नो रहेको उहाँले खुलाउनुभयो ।

हाम्रो समाजका वास्तविक कथा ओझेलमा पार्न नहुनेमा लेखक सुवेदीको जोड छ । हाम्रो समाजमा धेरै कथा भएकोले कथाको लागि विदेशी चलचित्र हेर्नु नपर्ने सुवेदी बताउनुहुन्छ । आफू लेखकको रुपमा आउनुको कारणबारे सुवेदी भन्नुहुन्छ–‘हाम्रो समाजमा हजारौ कहानी छन् । जुन कुरा आजसम्म एक्सोपोज भएको छैन । काठमाण्डौमा बसेर धारणा बनाउदा समस्या भएको हो । हाम्रो माटोमा वास्तविक के घटना घटिरेहको छ भन्ने कमै ध्यान दिइएको छ । सोही कारण आज आएका चलचित्रले हाम्रो जीवनलाई कनेक्ट गर्न सक्दैन । हामीले भोगेका वास्तविक कुरा चलचित्रमा आएनन् । मैले कहानी भन्नुपर्छ । म डाइरेक्टर भएर भन्दा पनि लेखक भएर भन्न पाए भने झनै दमदार तरिकाले भन्नसक्छु भन्ने सोचेर लेखकको रुपमा आए ।’

पछिल्ला दिनमा कर्मथलो काठमाण्डौमा बनाउनुभएका सुवेदी अब जन्मथलो पोखरामानै फर्केर कम्पनी शुरु गर्ने तयारीमा हनुहुन्छ । रंगकर्मी अनुप बराल पोखरा फर्किए जसरी चलचित्रको टिम समेत फर्कनेकी भन्ने भएको सुवेदीले खुलाउनुभयो । यसको लागि केही ठाउँ हेरीसकिएको छ । सबै नआएपनि साउण्डमा काम गर्ने राम्रो डाइरेक्टर, राम्रो सिनेमेट्रोग्राफर, राम्रो लेखक पोखरा भयो भने चाहिने मानिस सोतह पोखरामानै आउँने उहाँको बुझाई छ । ‘अनुप दाईसँग एकखालको कुरा भइरहेको छ । हामी जोइन्टली प्रोजेक्ट गर्ने भन्नेमा छौँ । यो कुरा छलफलकै क्रममा छ’उहाँले भन्नुभयो ।

चलचित्र ‘प्रकाश’ झण्डै ३ करोडको लगानीमा निर्माण गर्ने तयारी गरिएको छ । यसको अधिकांश छायाकंन जुम्लामा हुनेछ । बाँकी छायाकंन पश्चिम नेपालमा पर्ने तराईभेगका ठाउँमा गर्ने निर्माण युनिटको तयारी छ । सीन साउण्ड र लोकेसनको कारण खर्च बढी लाग्ने निर्माण पक्षको अनुमान हो ।

लेखक सुवेदी समाजका कथा सञ्चार माध्यमबाट तथा चलचित्रको माध्यमबाट निरन्तर भन्ने आफ्नो सपना रहेको बताउनुहुन्छ ।
मानिसका जीवनका धेरै अनुभव छन् । हामीले भोगेकै कुराहरु पनि कति मानिसलाई भन्नुपर्नेछ । सोसाइटीलाई गाइड गर्नलाई सोसाइटीलाई मोटिभेट गर्ने जिम्मेवारी हरेक नागरिकमा हुन्छ । नेपालको प्रतिनिधित्व गर्न नेपालमा त्यस्ता धेरै कहानी छन् । हाम्रै कथालाई सिनेमाको माध्यमबाट मासलाई भन्ने रहर हो । हामी नेपाली हौ तर हामीले राम्रोसँग नेपाललाई नै चिनेका छैनौ । सबैजना सबै गाउँमा पुग्न पनि सक्दैन । सबै कल्चरलाई अध्ययन गर्न सकिदैन । त्यो अध्ययन गर्ने र बुझाउने जिम्मेवारी सिनेमाको हो । कति कुरा रेडियो, टेलिभिजन र डकुमेन्ट्रीबाट समेत भन्न सक्छौँ । उहाँले भन्नुभयो ।

सञ्चार क्षेत्रमा लामो अनुभव संगाल्नुभएका सुवेदीले झण्डै पाँच सय म्युजिक भिडियो निर्देशन गरेर आफूमा निखारता थप्नुभयो । उहाँले अञ्जु पन्तको आवाजमा रहेको गीत ‘तिमी आफै पग्लिएर’को भिडियोबाट म्युजिक भिडियो निर्देशनमा डेब्यु गर्नुभएको थियो । यसका अलावा सुवेदीले ‘डकुमेन्ट्रि’ मार्फत समेत आफ्नो क्षमता प्रर्दशन गरिसक्नुभएको छ । पोखराको हिमचुली एफएमबाट उहाँले सञ्चार क्षेत्रको यात्रा आरम्भ गर्नुभएको थियो । काठमाण्डौ हानिएपछि उहाँले टेलिभिजन कार्यक्रमको माध्यमबाट समेत आफ्नो बेग्लै परिचय बनाउनुभयो । यतिबेला चलचित्र क्षेत्रमा क्रियाशिल बन्न खोज्नुभएका सुवेदीले पोखरा न्युजसँगकको कुराकानीमा पुनः टेलिभिजनमा फर्कने संकेत समेत गर्नुभयो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button