मुस्ताङको नेचुङमा बीओपी भवन निर्माण शुरु

ठिनी । मुस्ताङको लोमान्थाङ गाउँपालिका–१ छोसेरको नेचुङमा सशस्त्र प्रहरी बलको बोर्डर आउट पोष्ट (बीओपी)को भवन निर्माण शुरु भएको छ । गृह मन्त्रालयका सचिव महेश्वर न्यौपाने, सशस्त्र प्रहरी बलका महानिरीक्षक शैलेन्द्र खनाल र अतिरिक्त महानिरीक्षक रामशरण बस्नेतले बुधबार भवनको शिलन्यास गर्नुभयो ।

नेचुङमा रहेको ३३ रोपनी क्षेत्रफल जग्गामा निर्माण हुने मौसम अनुकुलित भवन रु पाँच करोड ६५ लाखको लागतमा ११ महिनामा निर्माण सम्पन्न गरिने सशस्त्र प्रहरीका गुल्मपति आनन्द थापाले बताउनुभयो । सीमावर्ती क्षेत्रमा हुने संम्भावित अपराध नियन्त्रण, सीमा सुरक्षा र स्थानीय जनतालाई शान्ति सुरक्षाको प्रत्याभूति दिलाउन गत जेठ महिनामा सशस्त्र प्रहरीको बिओपी स्थापना भएको थियो ।
सुरक्षाकर्मीलाई नेचुङ भन्सारको क्वारेन्टिनमा व्यवस्थापन गर्ने गरी सशस्त्र प्रहरी निरीक्षकको नेतृत्वमा २० जना सुरक्षाकर्मी खटाइएको थियो । बीओपी स्थापना भएको छ महिनापछि भवन निर्माण शुरु भएको हो ।

मुस्ताङस्थित कोरला नाका सञ्चालन गर्ने लक्ष्यअनुसार २०७३ सालमा सशस्त्र प्रहरीसहित नेपाली सेनालाई लुङ्खुफाटमा एक हजार २७१ रोपनी, भन्सार कार्यालयलाई १०९ रोपनी, जनपथ प्रहरीलाई १३ रोपनी र अध्यागमनका लागि १२ रोपनी जग्गा उपलब्ध भएको थियो ।
कोरला नाकादेखि करिब १२ किलोमिटर नेपालतर्फ रहेको नेचुङमा भएको जग्गा उपयुक्त नभएको भन्दै पछिल्लो समय कोरला नाकाको सीमा क्षेत्रमा भन्सारलगायतका पूर्वाधार निर्माण गर्न पुनः एक हजार रोपनी जग्गा छुट्याइएको छ । यसअघि लोमान्थाङको लुङ्खुफाटमा नेपाली सेनाको शिविरसमेत स्थापना भइसकेको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button