निष्कर्ष व्यान्डको डेब्यु गीत तयार

पोखरा। पोखराको निष्कर्ष व्यान्डको डेब्यु गीत तयार भएको छ । ‘आभाष’ बोलको यो रक शैलीको पप गीत हो । गीतमा आवाज दिनेश विश्वकर्माको रहेको छ । रचना र कम्पोजिसन समेत दिनेशले नै गर्नु भएको हो । म्युजिक एरेन्जको जिम्मा सरोज राहपल विश्वकर्माले पुरा गर्नु भएको छ । गीत कार्तिक २८ गते शुक्रबार साँझ ५ बजे सार्वजनिक गरिनेछ ।

निष्कर्ष व्यान्डमा मुख्य भोकलिष्टको रुपमा पोखरा लेकसाइडका दिनेश विश्वकर्मा, गीतारमा विरौटाका रुमित भान्छाकार्य, वेस गीतारमा फूलवारीका संगम सिंह ठकुरी र ड्रमरमा फूलवारीका सञ्जय राना मगर रहनुभएको छ । शुक्रबार रिलिज हुने गीतको लागि गीतारमा रत्नचोकका सरोज राजपल विश्वकर्मा र किवोर्डमा उमेश थापाले व्यान्डलाई साथ दिनुभएको छ ।

‘आभाष’ रोमान्टीक शैलीको रक पप गीत भएको गीतको रचनाकार समेत रहनुभएका दिनेशले बताउनुभयो । गीतको बारेमा उहाँ भन्नुहुन्छ–‘गीत रोमान्टिक छ, गीतलाई उत्कृष्ट बनाउन सबैले उतिकै मेहनत गरेका छौँ, आशा छ दर्शक श्रोताको माया पाउँछौँ ।’
अब निरन्तर नयाँ गीत पस्कने आफूहरुको अबको योजना रहेको मुख्य भोकलिष्ट दिनेशले बताउनुभयो । ‘अब निरन्तर नयाँ गीत पस्कने हाम्रो योजना हो, हामी दर्शकको अपेक्षा अनुसारका सांगीतिक कोसेली प्रस्तुत गर्नेछौँ’ उहाँले भन्नुभयो ।

निष्कर्ष स्थापना भएको सन् २०१८ मे २१ तारेखमा हो । यस अगाडि दिनेश र संगम रावण व्यान्डमा आवद्ध हनुुहन्थ्यो । रुमित र सञ्जय ट्रायमाइल्स व्यान्डमा आवद्ध हुनहुन्थ्यो । दुई फरक व्यान्ड मर्ज भएर निष्कर्ष व्यान्ड निर्माण भएको व्यान्डका भोकलिष्ट दिनेशले जनाउनुभयो ।

व्यान्डले लेकसाइडका रेष्टुरेन्ट तथा बारमा मात्र नभएर पोखरा बाहिर आयोजना भएका विभिन्न कार्यक्रममा समेत प्रस्तुति राखिसकेको छ । अहिलेसम्म अरुका गीत सुनाउदै आएको व्यान्डले अब आफ्नै ओर्जिनल गीत मार्फत दर्शक श्रोतामाझ स्थापित हुन खोज्दैछ ।

निष्कर्ष व्यान्डको गीत पोखरामा जारी रहेको सांगीतिक श्रृङ्खला बि.एस.रिदम ब्लाष्ट मार्फत सार्वजनिक हुनेछ । बि.एस. ईन्टरटेण्टमेन्ट पोखराले संचालन गरेको सांगीतिक श्रृङ्खला मार्फत पोखरामा रहेका स्थापित एवं नयाँ व्यान्ड तथा गायकहरुका गीत सार्वजनिक भइरहेका छन् । सिजनको पहिलो श्रृङ्खलामा द ड्रिमर्ज व्याण्डको गीत, दोस्रो श्रृखलामा युवराज पुर्जाको, तेस्रो श्रृखलामा प्रज्वल जोजीजुको, चौथो श्रृखलामा अडियो फार्म व्यान्डको, पाँचौ श्रृखलामा द इन्फ्लेम व्यान्ड तथा छैटौ श्रृखलामा निर्भिक व्यान्डको गीत सार्वजनिक गरिएको थियो ।

नयाँ पुस्ताका श्रोता तथा दर्शकको सांगीतिक तृष्णा मेटाई नयाँ प्रतिभाहरुलाई अवसर प्रदान गर्ने रिदम ब्लाष्ट अन्र्तगत आत्म सर्ग, ब्लाक सीप, वेभ, स्पर्श, विट्नेश, ब्लुमाइण्ड, ब्लाक रोज ब्यान्ड र सुजन पुर्जा, संगम पहाडी, र सब्बुको प्रस्तुति बाँकी नै रहेको छ । यो कार्यक्रमले पोखराको सांगीतिक माहोललाई जगाउन सघाउने आयोजकले विश्वास गरेका छन् । रिदम व्लाष्ट पहिलो सिजन १७ श्रृङ्खलासम्म चल्ने बि.एस.ईन्टरटेण्टमेन्ट पोखराका संचालक सन्जु सुनारले बताउनुभयो ।

आफ्नो गीत सुनेर र हेरेर प्रतिक्रिया दिन निष्कर्ष व्यान्डले सबै संगीत पारखीहरुमा आग्रह गरेको छ । दर्शकका सुझाब तथा प्रतिक्रियाको आधारमा नयाँ सांगीतिक कोसेली निरन्तर पस्कने तयारी यो व्यान्डले बनाएको छ ।

 

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button