म्याग्दीका रावल दाजुभाइलाई लकडाउनले जुराको व्यवसाय

म्याग्दी । कोरोना भाइरस सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले बन्दाबन्दीको घोषणा गरेलगत्तै पृथ्वी राजमार्गअन्तर्गत तनहुँको एक्लोफाँटमा रेष्टुरेष्ट ब्यवसाय गर्दै आएका बेनी नगरपालिका-१ रत्नेचौरका रमेश र दिनेश रावल आत्तिएर घर फर्किए ।

विगत पाँच वर्षदेखि राजमार्गमा यात्रुलाई खाना तथा खाजा खुवाउने रेष्टुरेष्ट चलाएर राम्रै सफलता हात पारेका रावल दाजुभाइ घर फर्किएपछि त्यत्तिकै बस्न सकेनन् । होटेलका अरू मजदूरहरुलाई पनि घर बोलाएर वर्षौंदेखि बाझिएको भुवानेको बारीमा झाडी फाँडेर खेतीसँगै पशुपालन फार्मको पूर्वाधार बनाउन थाले ।

“लकडाउनमा घर आएको बेलामा पशु फार्म खोलेर गाईभैँसी, बाख्रा र कुखुरा पाल्ने योजना बन्यो”, दिनेशले भन्नुभयो, “रेष्टुरेन्टमा काम नपाएर बसेका मजदूरलाई पनि यतै बोलाएर पूर्वाधार तयार पारी चार महिनामै पशु फार्म शुरु ग¥यौँ ।”

राजमार्गका दुईवटा रेष्टुरेन्टलाई एकै ठाउँमा गाभेर आफन्तलाई चलाउने जिम्मा दिएका रावल दाजुभाइ अब भुवानेमा पशुपालनसँगै होटेल व्यवसायसमेत शुरु गर्ने तयारीमा छन् । रावल पशुपालन तथा कृषि फार्मभित्रै सञ्चालन हुन लागेको खाजाघरलाई गोठालो रेष्टुरेन्ट नामकरण गरेका छन् । “हाम्रो रेष्टुरेन्ट पूरै अर्गानिक र गाउँले जीवनशैलीको भएकाले गोठालो नामकरण गरेका हौँ”, रमेशले भन्नुभयो, “छिट्टै होटेलको पूर्वाधार निर्माण शुरु गर्छु ।” उनीहरुको फार्ममा अहिले सातवटा भैँसी र दुईवटा होलस्ट्यान जातका गाई छन् ।

दैनिक ६० लिटर दूध उत्पादन हुन्छ । साँझको दूध बेनी र बिहानको रत्नेचौर तथा बागलुङको कुडुलेमा लगेर बेच्ने गरेका छन् । होलसेल प्रतिलिटर रु ८० र फुटकर रु १०० प्रतिलिटरका दरले दूध बिक्री हुन्छ । रेष्टुरेन्टमा पनि दूध खपत हुन्छ । दूधका परिकार रेष्टुरेष्टको आकर्षण हो । सो फार्ममा २० वटा बाख्रा र स्थानीय जातका कुखुरा पनि पालिएको छ । गाउँका कृषकले पालेका खसीबोका र कुखुरा खरिद गरेर बजार पु¥याउने सञ्चालकहरुले बताएका छन् । रु ५० लाखभन्दा बढी लगानी भएको फार्ममा ६ जनाले रोजगारी पाएका छन् । फार्मको क्षमता बढाएर पाडापाडी हुर्काउने तयारी गरेका छन् ।

भुवानेमा रावल दाजुभाइको पुख्र्यौली जग्गा उपभोग हुन नसकेर बाझिएको थियो । अहिले घाँससँगै तरकारी खेती गरेर हराभरा बनाएका छन् । १० रोपनी जग्गामा हिउँदे र बर्खे घाँस खेती गरेका छन् । बेनी–बागलुङ सडकखण्डअन्तर्गत पर्ने भुवानेमा पछिल्लो समय कृषिको हब बनेको छ । यहाँ चारवटा तरकारी र दुईवटा गाईभैँसी फार्म स्थापना भइसकेका छन् । दुईवटा होटेल र दुईवटा कुखुरा फार्म खुल्ने तयारीमा छन् । सिँचाइको सुविधा भए पनि भुवानेमा खानेपानी र विद्युत्को समस्या छ । खानेपानीको व्यवस्था र नयाँ ट्रान्सफर्मर राखेर विद्युत् आपूर्ति गराउन पहल गरिएको बेनी-१ का वडाध्यक्ष टेकबहादुर रावलले बताउनुभयो ।

 

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button