गण्डकीपर्वतसमाचार

कोरोनाका कारण पर्वतका सञ्चारमाध्यम धराशायी

पर्वत । विश्वव्यापी महामारीका रूपमा फैलिएको कोरोना भाइरसका कारण पर्वत जिल्लामा सञ्चालित सञ्चारमाध्यमहरु धरासायी बन्दै गएका छन् ।

नेपालको चौथो सानो जिल्लाका रूपमा रहेको पर्वतमा सञ्चालित विद्युतीय, छापा र अनलाइन सञ्चारमाध्यमको अवस्था दयनीय बन्दै गएको हो । पर्याप्त उद्योग कलकारखालाको अभाव र बन्दाबन्दीका कारण बजारसमेत बन्द भएकाले दैनिक आउने व्यावासायिक विज्ञापन बन्द हुनु र अन्य आम्दानीका स्रोतसमेत नभएपछि सञ्चारमाध्यम र त्यहाँ आबद्ध सञ्चारकर्मी दिनप्रतिदिन समस्यामा पर्दै गएका छन् ।

प्रेस काउन्सिल नेपालले कुश्मा बजारमा आयोजना गरेको ‘कोभिडले मिडियामा पारेको प्रभाव’बारे अन्तरक्रिया कार्यक्रममा सहभागी स्थानीय सञ्चारमाध्यम सञ्चालक तथा पत्रकारहरुले स्थानीय मिडियामा काम गरेर बिहान बेलुकाको छाक टार्नसमेत मुस्किल परेको जनाएका छन् । पर्वतमा सात एफएम रेडियो स्टेशन, एक दैनिक पत्रिका, आठ साप्ताहिक पत्रिका, तीन त्रैमासिक पत्रिका नियमितरूपमा सञ्चालन हुँदै आएका छन् । त्यसैगरी झण्डै डेढ दर्जनको हाराहारीमा अनलाइन पत्रिका रहेका छन् ।

साँघुरो विज्ञापनको बजार र बढ्दो सञ्चारमाध्यमको चुनौतीका बीच भित्रिएको कोभिड-१९ को महामारीले गर्दा भएको आर्थिक अभावका कारण सञ्चारमाध्यम बन्द गर्नुको विकल्प नरहेको स्थानीय पञ्चासे एफएमका स्टेशन म्यानेजर लक्ष्मण सापकोटाले बताउनुभयो । उहाँले भन्नुभयो, “रेडियोहरुमा कार्यरत झण्डै दर्जनको सङ्ख्याका सञ्चारकर्मीलाई नियमित पारिश्रमिक, घरभाडा र विद्युत् महसुल तिर्न ऋण खोज्नुपर्ने अवस्था आएको छ ।” महामारीको बेला राज्यबाट समेत कुनै सहयोग नपाउँदा झनै पीडा हुने गरेको उहाँले बताउनुभयो ।

चैत ११ गतेपछि भएको बन्दाबन्दीका कारण रेडियोमा बजिरहेका अधिकांश स्थानीय विज्ञापनको व्यवसायीहरुले भुक्तानी दिन सकेका छैनन्, यस्तो अवस्थामा रेडियो प्रसारणलाई निरन्तरता दिन नसकिने रेडियो शालिग्रामका स्टेशन म्यानेजर ओमप्रसाद घायलको दुखेसो छ । उहाँले भन्नुभयो, “कि त बन्द गर्नुपर्यो, कि राज्यले तत्कालका लागि अनुदानको व्यवस्था गर्नुपर्यो ।” सरकारी निकाय र स्थानीय सरकारसमेत सञ्चारमाध्यमप्रति अनुदार बन्दा निरन्तरता दिन समस्या परेको उहाँको भनाइ छ ।

नेपाल पत्रकार महासङ्घ गण्डकी प्रदेशका महासचिव गणेश पौडेलले भोको पेटले समाज र नागरिकको सेवामा हिँडिरहनुपरेको भन्दै कोभिडले मुलुकमा सबैभन्दा ठूलो समस्या मोफसलका सञ्चारमाध्यममा परेको बताउनुभयो । उहाँले यसका लागि तीनवटै तहका सरकारले आवश्यक सहयोग गर्नुपर्नेमा उहाँको जोड छ । प्रेस काउन्सिल नेपालका सदस्य दुर्गा भण्डारीले कोभिड-१९ ले मुलुकभरका सञ्चारमाध्यम समस्यामा परेको बताउनुभयो । बन्दाबन्दीका कारण विज्ञापन रोकिँदा सञ्चार संस्थाहरु ठूलो आर्थिक मन्दिमा परेको उल्लेख गर्दै उहाँले यसका लागि काउन्सिलले आवश्यक पहल गर्ने बताउनुभयो । उहाँले सञ्चारमाध्यम पनि जिम्मेवार बनेर महामारीलाई न्यूनीकरण गर्न राज्यको साझेदारका रूपमा काम गर्नुपर्छ भन्दै सञ्चारमाध्यम र सञ्चारकर्मीहरुले भोगेको समस्याबारे माथिल्लो तहमा छलफल गर्ने बताउनुभयो ।

कार्यक्रममा फलेवास नगरपालिकाका प्रमुख पदमपाणि शर्माले कोरोना भाइरसका कारण मुलुक चौतर्फी समस्यामा परेको बताउँदै स्थानीय सरकारले स्रोतले भ्याएसम्म सञ्चारमाध्यमलाई सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो । उहाँले राज्यले सञ्चारमाध्यमलाई वास्तविक चौथो अङ्ग मान्ने हो भने समस्या नहुने बताउँदै स्थानीय सरकारलाई सञ्चारमाध्यमप्रति उत्तरदायी बन्न आग्रहसमेत गर्नुभयो । उहाँले सूचना विभाग र प्रेस काउन्सिलले काठमाडौँ र बाहिरका मिडियालाई एउटै नजरले हेर्नुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा प्रेस काउन्सिल नेपालका वरिष्ठ प्रशासन सहायक महेन्द्र सिंहले प्रेस काउन्सिलको आचारसंहिता र यसको कार्यान्वयको अवस्थाका बारेमा जानकारी गराउनुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर

Back to top button