पर्वत जिल्ला अदालतमा मुद्दा फैसलामा ढिलाइ

पर्वत । जिल्ला अदालतमा न्यायका लागि पुगेका पीडितहरू समयमा मुद्दा फैसला हुन नसक्दा झनै पीडित बन्दै गएका छन् । कोभिड-१९ को सङ्क्रमण फैलिएर अदालतको काम प्रभावित भएपछि न्यायका लागि अदालत पुगेका सर्वसाधारणले समयमा न्याय पाउन सकेका छैनन् ।

पर्वत जिल्ला अदालतमा अघिल्लो आर्थिक वर्ष २०७६/७७ मा ४७२ मुद्दा दर्ता भए पनि असार मसान्तसम्ममा २७१ मुद्दामा मात्रै सुनुवाइ भएको छ । त्यस्तै अघिल्लो आर्थिक वर्षबाटै चालु आर्थिक वर्ष २०७७/७८ मा जिम्मेवारी सरेर आएका २०१ र चालु वर्षको असोज मसान्तसम्म नयाँ दर्ता भएका मुद्दा ७० गरी अहिले पर्वत जिल्ला अदालतमा २७१ मुद्दा कानूनी प्रक्रियामा छन् ।

लामो समयसम्मको कोभिड-१९ को प्रभावका कारण विभिन्न प्रकृतिका मुद्दामा दुवै पक्ष उपस्थित हुन नसक्दा मुद्दा फैसला हुन ढिलाइ भएको पर्वत जिल्ला अदालतका तहसिलदार नन्दप्रसाद आचार्यले बताउनुभयो । “दुवै पक्ष उपस्थित हुन सम्भव भएका केही मुद्दा मेलमिलाप कक्षबाट फछ्र्योट भए पनि लामो समयसम्मका मुद्दा प्रक्रियागतरूपमा नै छन्”, आचार्यले भन्नुभयो । उहाँका अनुसार विशेषगरी जिल्लाबाहिर रहेर न्यायिक प्रक्रियामा रहेका व्यक्ति बन्दाबन्दीका कारण उपस्थित हुन नसक्दा समस्या भएको हो ।

विसं २०७६ चैत ११ बाट असार मसान्तसम्म मात्रै २२ मुद्दा पर्वत जिल्ला अदालतमा दर्ता भएको तथ्याङ्क छ । सोअनुसार यो बन्दाबन्दीको अवधिमा तीनवटा मुद्दा मात्रै फछ््र्योट भएका छन् । चालु आर्थिक वर्षको साउनदेखि असोजसम्म सामान्य प्रकृतिका २५ मुद्दा फैसला भए पनि न्याय खोज्दै अदालत आएका व्यक्तिहरू कोभिड-१९ को प्रभावले लामो समयदेखि पर्खाइमा नै रहनुपर्ने अवस्था छ ।

पर्वतको जलजला गाउँपालिकाकी २२ वर्षीया बलात्कार घटना पीडित युवतीले पाँच महिनादेखि आफू फैसलाको पर्खाइमा बसिरहेको बताउनुभयो । “लामो समयसम्म मुद्दा फैसला नहुँदा दोषीले सजाय पाउने हो कि होइन भन्ने चिन्ता लाग्न थाल्यो”, उहाँले गुनासो गर्नुभयो । कतिपय मुद्दामा निर्दोष व्यक्ति पनि आरोपित बनेर कानूनी दायरामा आएको र लामो समयसम्म मुद्दा विचाराधीन रहँदा ती व्यक्ति पनि समस्यामा रहेको पर्वत जिल्ला अदालत बार एकाइका अध्यक्ष चन्द्रबहादुर क्षेत्रीले बताउनुभयो ।

 

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button