म्याग्दी र मुस्ताङमा हिमपातसँगै चिसो वृद्धि

पोखरा न्यूज । हिमाली जिल्ला म्याग्दी र मुस्ताङका विभिन्न ठाउँमा सोमबार हिमपात भएको छ । हिमपातसँगै बढेको चिसोले जनजीवन प्रभावित भएको छ ।

मुस्ताङका लोमान्थाङ र लोघेकर दामोदरकुण्ड गाउँपालिकाका अधिकांश भूभागमा हिउँ परेको हो । वारागुङ मुक्तिक्षेत्र गाउँपालिकामा पर्ने मुक्तिनाथ सपासका क्षेत्रमा पनि हिमपात भएको स्थानीयवासीले बताएका छन् ।

लोघेकर दामोदरकुण्ड गाउँपालिकाका अध्यक्ष राजु विष्टले छोसेर, कोरला, छोनुप, समजुङ, चुमजुङ, नाम्डो, लोमान्थाङ, चराङ, मराङलगायत बस्तीमा हिमपात भएको जानकारी दिनुभयो । “केही दिनयता बढेको चिसोले धाराको पानी जम्न थालेको थियो,” उहाँले भन्नुभयो “आजको हिउँले चिसो बढेर जनजीवनलाई प्रभावित बनाएको छ ।”

हिमपातसँगै खोला, पँधेरा र धारामा पानी जमेको छ । उपल्लो मुस्ताङको तापक्रम माइनस २० डिग्रीमा झरेको छ । सडकमा सवारी साधन आवतजावत गर्न समस्या भएको छ । हिउँले चरन क्षेत्र पुरिएपछि स्थानीयवासीले याकचौँरी, भेंडाच्याङ्ग्रा, घोडा, खच्चरलगायत पशुचौपायालाई गोठमै बाँधेर राख्न थालेका छन् ।

विगत वर्षमा उपल्लो मुस्ताङका बासिन्दा चिसो बढेपछि म्याग्दी, कास्की, काठमाडौँ, चितवन, रुपन्देही, बागलुङ, पर्वतलगायत जिल्लामा घुम्ती व्यापारका लागि आउँथे । यसपालि कोरोना महामारीको जोखिमका कारण स्थानीयवासी जाडो छल्न बेंसी झरेका छैनन् ।

मुस्ताङ सदरमुकाम जोमसोम आसपासका डाँडामा पनि हिउँ परेर सेताम्मे भएको छ । यसैगरी म्याग्दीको धवलागिरि गाउँपालिका–१ मा पर्ने गुर्जा र अन्नपूर्ण गाउँपालिका–६ घोरेपानीमा पनि चिसो बढेपछि जनजीवन कष्टकर भएको छ ।

गुर्जाका वडाध्यक्ष झकबहादुर छन्त्यालले गाउँ नजीकैका डाँडा हिउँले सेताम्मे भएको, चिसो बढेको र सर्वसाधारणले घरभित्रै बसेर तिहार मनाएको जानकारी दिनुभयो । चिसो बढेपछि म्याग्दीका कृषकले चरणका लागि लेकाली क्षेत्रमा लगेका पशु गोठ बेंसी झार्न थालेका छन् ।

गाउँलेले बर्खामा हिमालको फेदीका बुकी र चरन खर्कमा लगिएका गाई, भैँसी, चौँरी र भेडाबाख्राको गोठ चिसो बढेसँगै गाउँ बस्ती आसपासका जङ्गल र पाखामा झारेका छन् । चिसो बढे पनि पानी भने परेको छैन । आकाशमा बदली भएकाले चिसो बढेको हो । गहुँ, जौ, तोरी, आलुलगायत हिउँदे बालीको सिँचाइका लागि वर्षात् आवश्यक परेको कृषकले बताएका छन् ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button