म्याग्दीका दुर्गममा स्थापना भएका स्वास्थ्य एकाइबाट सेवामा पहुँच बढ्यो

म्याग्दी । म्याग्दीको धवलागिरि गाउँपालिका–४ बगरका नरप्रसाद पुन बिरामी हुँदा पूरै दिन हिँडेर मुदीस्थित स्वास्थ्यचौकीमा पुग्नुपर्ने समस्या हटेकामा खुशी हुनुहुन्छ । गाउँपालिकाले भौगोलिकरूपमा विकट र दुर्गम क्षेत्रमा पर्ने बगरमा सामुदायिक स्वास्थ्य एकाइ स्थापना गरेपछि ६० घरधुरीका बासिन्दा लाभान्वित भएका छन् ।

“वडास्तरको स्वास्थ्यचौकी भएको मुदी पुग्न बगरबाट पूरै दिन भिर र जङ्गलको बाटो हिँड्नुपर्ने भएकाले पीडा सहेर, रोग पालेर बस्नुपरेको थियो”, पुनले भन्नुभयो, “स्वास्थ्य एकाइ खुलेपछि समयमै सहजरूपमा स्वास्थ्य सेवा पाएका छौँ ।” बगरलगायत म्याग्दीका दुर्गम र विकट बस्तीमा स्थानीय तहहरुले स्थापना र सञ्चालन गरेका सामुदायिक स्वास्थ्य एकाइ प्रभावकारी भएका छन् ।

वडास्तरमा रहेको स्वास्थ्य संस्थामा पुगेर आधारभूत सेवा सुविधा लिन नसकेका दुर्गमका नागरिकसमक्ष स्वास्थ्य सेवाको पहुँच बढाउन सामुदायिक स्वास्थ्य एकाइ प्रभावकारी बनेका हुन् । पायक पर्ने ठाउँमा स्वास्थ्य एकाइ स्थापना भएपछि सामान्य बिरामी पर्दासमेत तीन÷चार घण्टादेखि पूरै दिन हिँडेर स्वास्थ्यचौकीमा पुग्नुपर्ने बाध्यता हटेको छ ।

गाउँमै नियमित स्वास्थ्य परीक्षण र औषधि पाएपछि दुर्गमका नागरिकको स्वास्थ्य सेवामा पहुँच बढेको धवलागिरि–४ खिवाङकी चनमाया घर्तीले बताउनुभयो । सातवटा वडा रहेको धवलागिरिले खिवाङ, आरबाङ र बगरमा तीनवटा सामुदायिक स्वास्थ्य एकाइ सञ्चालन गरेको छ । मालिका गाउँपालिकाले रुमको पात्लेखर्क र डाँडागाउँ, मङ्गला गाउँपालिकाले हिदी र बुकेनीमा सामुदायिक स्वास्थ्य एकाइ सञ्चालन गरेका छन् । सिङ्गा, थाकनपोखरी र फुर्केसल्लामा शहरी स्वास्थ्य केन्द्र सञ्चालन गरेको बेनी नगरपालिकाले वडा नं ७ मा अर्को केन्द्र स्थापनाको तयारी गरेको छ ।

रघुगङ्गा गाउँपालिकाले सातवटा सामुदायिक स्वास्थ्य एकाइ सञ्चालन गरेको अध्यक्ष भवबहादुर भण्डारीले बताउनुभयो । “बादुक, राममन्दिर, मौवाफाँट, दर्मीजा, रायखोर, पात्लेखर्क र कुइनेखानीमा स्वास्थ्य एकाइ स्थापना भएको छ”, उहाँले भन्नुभयो, “सबै स्वास्थ्य एकाइ स्थापनाका लागि रु पाँच÷पाँच लाखमा भवन बनाएका छाँै ।” औजार, उपकरण र औषधिका साथै स्वास्थ्यकर्मी व्यवस्थापन गरिएको छ ।

एकाइमा एक अहेव र एक कार्यालय सहयोगी खटाइएको छ । एकाइबाट स्वास्थ्य परीक्षण, निःशुल्क औषधि वितरण, परामर्श, गर्भ परीक्षण, खोपलगायतका सेवा दिने गरेको दर्मिजा सामुदायिक स्वास्थ्य एकाइका अहेब बिना पाइजाले बताउनुभयो । “हामीले नसक्ने बिरामीलाई स्वास्थ्यचौकी र जिल्ला अस्पताल सिफारिस गर्छौैँ”, उहाँले भन्नुभयो, “आधारभूत तहको सेवा र परामर्श हामीबाटै हुन्छ ।”

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button