
पोखरा न्यूज । ‘चार्ल्स हिल’ पोखरा महानगरपालिका वडा नम्बर २८ मा पर्दछ । विगतमा चिन्तेको डाँडाको रुपमा परिचित यो डाँडा पछिल्ला दिनमा चार्ल्स हिलका रुपमा चिनिन थालेको छ ।
बेलायतका युवराज चार्ल्सले २०३८ सालमा यो ठाउँको भम्रण गर्दा एक रात विताएको कारण यो ठाउँलाई चार्ल्स हिल भनिएको हो । यहाँ दुईवटा डाँडा रहेका छन् । दुई डाँडा मध्ये एउटा पुर्खेको डाँडा र अर्काे चिन्तेको डाँडा हो । तर धेरै जनाले यसलाई चिन्तेको डाडाँको नामले नै चिन्ने गर्नुहुन्थ्यो । पछिल्ला दिनमा यहाँ पुग्ने आन्तरिक पर्यटकको कारण यो ठाउँ ‘चार्ल्स हिल’का रुपमा चिनिन थालेको हो ।
राजकुमार चार्ल्सले विजयपुरबाट पैदल यात्रा शुरु गरि पहिलो दिन चिन्तेको डाँडामा बास बस्नुभएको थियो । कालिका, सौरे, लिप्यानी हुदै स्याक्लुङ कोटमा पुगेर उहाँले दोस्रो रात बिताउनुभयो । रुपाकोटको चिसापानीमा तेस्रो रात र वेगनासतालको जंगलमा चौथो रात विताएर उहाँले यात्रा पुरा गर्नुभएको थियो । कालिका देखि स्याकलुङ लिप्यानी हुँदै वेगनास ताल निस्कने यो ट्रेक हो । बेलायतका राजकुमारले यात्रा गरेको रुट भएको कारण यो ट्रेक रोयल ट्रेकको रुपमा चर्चित छ ।
राजकुमार चार्ल्सले पहिलो रात बिताएको यस डाँडाबाट देखिने सुन्दर दृश्यका कारण यहाँ पूग्नेलाई लोभ्याउने गरेको छ । केही वर्ष सुस्ताएको भएपनि अहिले पुनः यो ठाउँमा चहलपहल बढ्न थालेको छ ।
माछापुच्छ्रे, अन्नपूर्ण, गणेश, लमजुङ लगायतका हिमाल एकैपटकमा दृश्यावलोकन सकिने यो ठाउँको विशेषता हो । यहाँबाट कास्कीका सुन्दर डाँडा, गाउँ मात्र नभएर पोखरा र लेखनाथका दृश्य समेत एकैठाउँबाट नियाल्न पाइन्छ । पोखरा बजारबाट नजिकै रहेको कारण समय थोरै हुने व्यक्तिको लागि घुम्न यो ठाउँ सहज बन्दछ । यो ठाउँ सन सेटको दृश्य हेर्नेको रोजाइमा समेत पर्दछ ।
पृथ्वीराजमार्ग अन्र्तगत लेखनाथको कालिकाचोकबाट ६ किमिको यात्रा गरेपछि यहाँ पुग्न सकिन्छ । यहाँ पुग्न नियमित रुपमा स्थानीय मिनीबस उपलब्ध हुन्छ । निजी कार, मोटरसाइकलमा सजिलै यहाँ पुग्न सकिन्छ । बस्नको लागि रिर्सोट तथा रेष्टुरेन्टको सुविधा यहाँ रहेको छ ।
केही समय घुमघाममा निस्किएर मुड फ्रेस गरी पुन पोखरा फर्कन सकिने भएकोले पनि छोटो समयमा पोखराको व्यस्त बजार भन्दा केही शान्त रमणीय ठाउँमा बस्न रुचाउन खोज्नेको गन्तव्य चार्ल्स हिल हुन थालेको छ । यहाँ ठाउँमा चलचित्र तथा म्युजिक भिडियो छायाकंनका लागि समेत पुग्ने गर्दछन् ।
नेपाली चलचित्र आफन्त, चमेली सहितका केही चलचित्र तथा म्युजिक भिडियोको छायाकंन यहाँ भइसकेको छ । शान्त वातावरणमा बसेर प्राकृतिक सुन्दरतासँग लुकामारी खेल्दै रमाउनेहरुको मन यस ठाउँले जितिरहेको छ ।
चाल्सलाई चार्ल्स बनाई करेक्सन गरिएछ। सुझाउ मनन गरी करेक्सन गरेकोमा लेखक महाशयलाई धन्यवाद। तर गल्ती औंलाई दिएकोमा मलाई पनि धन्यवाद टक्राए हुने नी !