लमजुङका भेडिगोठ बेँसी झरे

लमजुङ । चरनका लागि लेकमा लगिएका भेडीगोठ चिसो बढेसँगै बेँसी झार्न थालिएका छन् । अहिले जिल्लाका उच्च हिमाली भेगमा रहेका चरन क्षेत्र पूरै हिँउले ढाक्न थालेका छन् । गोठालाले आ-आफ्ना भेडाका बथान बेँसी झार्न थालेका हुन् ।

घलेगाउँ, भुजुङ, सिउरुङ, पसगाउँ, सिङ्दी, दूधपोखरी, घनपोखरा, इलमपोखरी, पाचोक, ताघ्रिङ, बन्सार, फलेनी, ढोडेनी र भुलभुलेलगायतका स्थानीयका भेडीगोठ रहेका छन् । उनीहरुले अहिले गाउँबस्ती नजिकै भेडीगोठ ल्याउन थालेका छन् । विशेष गरी गुरुङ समुदायको पुर्खौली पेशाका रुपमा भेडीगोठलाई लिइन्छ ।

घलेगाउँको भेडीगोठ लेकबाट झरेर गाउँमै आइपुगेको घलेगाउँका केशबहादुर गुरुङले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “घलेगाउँको दुई भेडीगोठ रहेका छन् । यी भेडीगोठमा एक हजार २०० भन्दा बढी भेडाबाख्रा रहेका छन् । ” हिमालको काखमै रहेको ठूले लेकमा पुगेर केहीहप्ता अघि गाउँ फर्किएको र अब गर्मीयाम शुरु भएपछि सोही स्थानतर्फ लाग्ने उहाँको भनाइ छ ।

त्यस्तै कास्कीको सिमाना डाँडा तिङ्जेमा रहेको पसगाउँको भेडीगोठ यतिबेला केहीे क्युबे-ल्हेदे आइपुगेको र केही भेडीगोठ गाउँसम्म आएको स्थानीयवासीको भनाइ छ । भुजुङको भेडीगोठ खोला फाल्न्हेसम्म पुग्ने गरेकोमा अहिले क्युबारमा रहेको भेडीगोठालाले जानकारी दिएका छन् ।

जिल्लाको उत्तरी ताघ्रिङका भेडीगोठ यसअघि थुर्जुलेक पुगेकोमा अहिले ठूलागीमा झरेको छ । जिल्लाको पूर्वी भेगमा पर्ने विगट दूधपोखरी आसपासमा पुगेका भेडीगोठ यतिबेला बेँसी झरिसकेका छन् । यहाँका भेडीगोठ छ महिना लेकमा र छ महिना बेँसीमा रहन्छ । बेँसी झरेको भेडीगोठ गर्मी सिजन शुरु भएपछि मात्रै लेकमा फर्किन्छन् ।

जिल्लामा घुम्ती भेडीगोठ ९० रहेको र यी भेडीगोठ लेकबाट बेँसी झरिसकेको भेटनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका प्रमुख डा रुपेश श्रेष्ठले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “भेडीगोठबाट निस्किएको मलबाट खेतबारीमा प्रयोग गरिन्छ ।” त्यस्तै, भेडाको ऊन निकालिन्छ । केन्द्रका अनुसार जिल्लाभर २३ हजार भेडीगोठ रहेका छन् । वार्षिक १० हजार केजी ऊन निस्कने र ऊनको प्रतिकेजी रु ३०० मूल्य रहेको छ । त्यस्तै, वार्षिक १६० मेट्रिक टन भेडाको मासु उत्पादन हुन्छ । मासु बिक्रीबाट रु आठ करोड आम्दानी हुने गरेको जनाइएको छ ।

वार्षिक घुम्ती भेडीगोठमा रहेका बाख्राको मासु १२० मेट्रिक टन तथा घुम्ती र घरमा पालिएको बाख्रा गरी वार्षिक एक हजार २०० मेट्रिक टन मासु उत्पादन हुँदा रु ६० करोड आम्दानी हुने गरेको केन्द्रका प्रमुख डा श्रेष्ठले जानकारी दिनुभयो ।

 

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button