स्थापित सिनेमेट्रोग्राफर बन्न सजिलो छैन : अर्जुन तिवारी

फिल्ममा भन्दा म्युजिक भिडियोमा काम गर्न मज्जा

पोखरा न्यूज  । सिनेमेट्रोग्राफर अर्जुन तिवारीको जन्म नवलपरासी जिल्लाको देवचुली नगरपालिकामा भएको हो । बाल्यकालमा चकचक गर्ने, भनेको चिज पाएन भने झगडा गर्ने स्वभाव उहाँमा थियो । फिल्म हेर्ने रहर भएपनि फिल्म हेर्न सजिलो थिएन । फिल्म हेर्न हाइभिजन हलमा पुग्नुपथ्र्यो । सोही कारण फिल्म हेर्ने इच्छा पुरा गर्न गाउँमानै पैसा उठाउर भीसीआर ल्याउने चलन थियो । त्यसरी फिल्म हेरेको अनुभव उहाँसँग अझै ताजै छ ।

नवलपरासीका तिवारीले केही महिना पोखरामा रहेर काम गर्नुभयो । महेन्द्रपुलमा नयाँ टिभी फिट गर्ने तथा रेडियो टिभी मर्मत गर्ने काम थियो । उहाँलाई यो काममा सन्तुष्ट भएन । प्रोफेसन चेञ्ज गर्नुपर्छ की भन्ने सोच भयो । अनि पोखराको चिप्लेढुंगामा डिपार्टमेन्टल स्टोर्समा काम गर्नुभयो । तहाँ समेत चित्त बुझेन । पोखराबाट फर्केर जन्मठाउँ नवलपरासी जानुभयो । नवलपरासीमा रहेको चौधरी गूपमा सुपरभाइजरको काम पाउनुभयो । त्यहाँको काममा समेत उहाँ सन्तुष्ट हुन सक्नुभएन ।

उहाँलाई कान्तिपुर टेलिभिजनमा ‘भ्याकेन्सी’ खुलेको छ भन्ने थाहा भयो । अनि प्रयास गरौँ भनेर काठमाण्डौ जानुभयो । छनोट हुन सफल हुनुभयो । उहाँ काठमाण्डौमा बस्न थालेको २०५९ सालबाट हो । ‘प्रोडक्सन असिस्टेन्ट’ को काम बाट सञ्चार क्षेत्रको यात्रा शुरु भयो । अवसरलाई सदुपयोग गर्दै काम गर्ने र सिक्ने गर्दै आफ्नो क्षमता उहाँले बढाउदै लग्नुभयो । बाहिर म्युजिक भिडियोमा फाट्टफुट्ट काम गर्न थाल्नुभयो ।

उहाँलाई पूर्ण रुपमा क्यामरामेन बन्ने रहर थियो । सोही कारण क्यामरा कसरी खिच्ने भन्नेबारेमा रिर्सच गर्न थाल्नुभयो । त्यतिबेला अहिलेको जस्तो मोबाइल थिएन । कम्प्युटरमा हेर्ने । आफू भन्दा अग्रजहरुले कसरी खिचेका छन् हेर्ने । अहिलेको जस्तो युट्युबको जमाना थिएन गुगलमा हेरेर नयाँ जानकारी लिन थाल्नुभयो । २०६१ सालमा पहिलोपटक भिडियो खिच्ने आँट गरेको उहाँ बताउनुहुन्छ । ‘जानी–नजानी एउटा भिडियो खिचिहाले । भिडियो एकदमै ध्वस्त खिचेछु । साथीभाइले गाली गरे । यस्तो खिचाइले कहिल्यै क्यामेरामेन भइदैन भनेर गाली गरे । विशेष गरेर एडिटर भरत रेग्मीले गाली गर्नुभयो । यसरी जिन्दगीभर क्यामरामेन बनिदैन भन्ने भएपछि भएन अझै धेरै सिक्नुप¥यो भनेर फेरि सिक्न थाले । अनि २०६२ सालदेखि क्यामेरामेन बने’ पोखरा न्यूजसँग कुरा गर्दै सिनेमेट्रोग्राफर तिवारीले भन्नुभयो ।

उहाँले कान्तिपुर टेलिभिजनमा १४ वर्ष बिताउनुभयो । ‘प्रोडक्सन असिस्टेन्ट’बाट सुरु गर्नुभएको उहाँले सिरियलहरुमा काम गर्नुभयो । २०६२/०६३ को आन्दोलनको समयबाट समाचार शाखामा काम गर्न थाल्नुभएको उहाँले समाचार शाखापछि ‘इन्टरटेनमेन्ट’ शाखामा काम गर्नुभयो । ‘इन्टरटेनमेन्ट’ शाखामा आएपछि उहाँले सिरियलहरु खिच्न थाल्नुभयो । कान्तिपुर टेलिभिजनका चर्चित टेलिसिरियल हाउसफुल, कलेज, घरबेटी बा, हर्के हवलदार, किलो ट्याङ्गो माइकमा उहाँले काम गर्नुभयो । त्यतिबेला टेलिभिजन भन्दा बाहिर म्युजिक भिडियो खिच्ने काम गर्नुहुन्थ्यो । सोही समयमा फिल्ममा काम गर्ने कुरा आयो । फिल्म थियो ‘म अनि तिमी’ । रिवेल क्रियसनले बनाउदै गरेको यो फिल्म आधा रोकिएको थियो । रोकिएको काम उहाँले पूरा गर्नुभयो । दुर्भाग्य भनौ फिल्म रिलिज भएन । त्यसपछि फिल्ममा काम गर्ने जाँगर म¥यो ।

उहाँले पोखराका नेत्र गुरुङसँग भिडियो गरिरहनुुहुन्थ्यो । नेत्रले दाई एउटा फिल्म गरौँ न भनेर प्रस्ताव गर्नुभयो । उहाँले हुन्छ भन्नुभयो । अनि फिल्म ‘नाइके’मा उहाँले काम गर्नुभयो । तर फिल्मको आउटपुट आफूलाई नै चित्तै बुझेन । ‘म फिल्मको लागि बनेको हैन भन्ने भयो । त्यसपछि पाँच वर्षसम्म फिल्मको काम गरिन । फिल्मको लागि बनेको रैनछु । मैले फिल्म राम्रो खिच्न सक्दिन भनेर फिल्म लाइन छोडे । अफर त आएका थिए । आफ्नो आउटपुट देखेर आफैलाई नराम्रो लाग्यो’ उहाँले भन्नुभयो । उहाँ म्युजिक भिडियोमा भने व्यस्त हुँदै जानुभयो । उहाँले व्यस्तता बढेपछि कान्तिपुर छोड्नुभयो । फेरि उहाँलाई ‘कोहलपुर एक्सप्रेस’ फिल्ममा काम गर्ने अफर आयो । चिनजाचका साथीहरुको फिल्म भएकोले गर्न तयार हुनुभयो । यो फिल्म सकाएर काठमाण्डौ नर्फकदै निर्देशक सुव्रत आचार्यले फिल्म ‘सुश्री सम्पत्तिमा काम गर्ने प्रस्ताव गर्नुभयो ।

यि दुई फिल्ममा काम गरेपछि समेत उहाँलाई आफू फिल्मको लागि बनेको रैनछु भन्ने लाग्यो । तिवारी भन्नहुन्छ–‘म्युजिक भिडियोमा मैले भनेको चिजहरु पाउँछु । यो प्रयोग गरौँ भनेपछि त्यही प्रयोग गर्न तयार हुन्छन् । तर फिल्ममा दिँदा रहेन्छन् । किनभने कतिपय कुरा मिल्दो रहेनछ । मलाई फिल्ममा त्यति विश्वास गर्दैनन् जस्तो लाग्यो । हैन मलाई म्युजिक भिडियोमानै ठिक छ । म्युजिक भिडियोमा काम देखाउन पाउँछु भन्ने लाग्यो । अनि निरन्तर म्युजिक भिडियोमानै लागे ।’ तिवारीले अहिलेसम्म तीन हजार भन्दा बढी म्युजिक भिडियोमा सिनेमेट्रोग्राफरको रुपमा काम गरिसक्नुभयो । उहाँले काम गरेको पहिलो म्युजिक भिडियो प्रदीप रानाभाटको गीतको थियो ।

उहाँले रियालिटी सो भ्वाइस अफ नेपालको सिजन १, सिजन २ मा काम गरिसक्नुभयो । ‘सुरुमा म गर्न सक्दिन भनेको थिए । लक्ष्मणको सर्पोटमा गरे । कार्यक्रम राम्रो बनाउन धेरै कुरा सिके । रियालिटी सो कसरी गर्छ भनेर हेर्नको लागि मुम्बई गए । के कसरी गर्ने सिके । आएर सेकेन्ड सिजन गरे’ उहाँले सुनाउनुभयो । मुम्बई गएर आएपछि भ्वाइस नेपालको सिजन २ पहिलो भन्दा राम्रो गर्न सकेको उहाँको अनुभव छ । अहिले डान्सिङ स्टारको फस्ट सिजन रनिङ भइरहेको छ । यसमा ‘डिओपी’मा तिवारी हुनुहुन्छ । उहाँलाई फिल्मको लागि अफर आउन भने छोडेको छैन । ‘यो समयमा समेत फिल्ममा कुरा आइरहेको छ । तर मैले गर्दिन भनेको छु । किनकी मैले भनेको चिज फिल्ममा पाउँदिन म्युजिक भिडियोमा पाउँछु’ उहाँ भन्नुहुन्छ ।

म्युजिक भिडियोबाट आएकाहरुले सस्तोमा गर्छ भन्ने फिल्मी क्षेत्रकालाई हुने उहाँको बुझाई छ । पैसा डिमाण्ड गर्दा अर्काले यतिमा खिच्छ तपाइँले धेरै भन्नुभयो भन्ने टाइपको कुरा आउँने उहाँले सुनाउनुभयो । काम गर्न मज्जा म्युजिक भिडियामानै हुने उहाँको अनुभव छ । भिडियोमा कति लाइट राख्छु आफ्नै हातमा छ । खुलेर काम देखाउन पाइन्छ । हुनत म्युजिक भिडियोमा समेत केही बाध्यता भने छन् । पर्याप्त समय दिन पाइदैन एकदिनमा भ्याउनुपर्छ । आफूले भने अनुसार गर्न पाइयो भने फिल्ममा समेत राम्रो आउटपुट दिन सक्ने उहाँको विश्वास छ । ‘टाइमको लिमिटेसन हुन्छ । लोकेसन भनेजस्तो नपाउदाँ कम्प्रमाइज गरेर फिल्ममा गर्नुपर्ने हुन्छ । कम्प्रमाइज नै गर्ने हो भनेत भिडियोमानै गर्छु किनकी आउटपुट राम्रो निकाल्न सकिन्छ । फिल्ममा म्युजिक भिडियोको जसरी आउटपुट निकाल्न सकिएन । आफूले भने अनुसार गर्न नपाएर होला भन्ने लागेर फिल्ममा रुचि राखेको छैन’ उहाँले थप्नुभयो ।

उहाँ अहिले पाइरहेको आम्दानी प्रति सन्तुष्ट हुनुहुन्छ ।  सिनेमेट्रोग्राफर तिवारीको सपना ‘डिओपी’ बनेर काम गर्ने रहेको छ । ‘सिनेमेट्रोग्राफरको अर्कालाई दिएर पुरै ‘डिओपी’मा काम गर्ने सपना छ । नयाँ पिढीलाई अवसर दिनुप¥यो । मैले पछाडि बसेर डिओपी बनेर सघाउँछु । बलिउड हलिउडमा ‘डिओपी’ छुट्टै हुन्छ । सिनेमेट्रोग्राफर छुट्टै हुन्छ । नेपालमा त्यही चिज गर्न खोजिरहेको छु । अबको डेढ वर्षमा गर्छु । डेढ वर्षपछि खिच्न छोड्छुहोला’ उहाले भन्नुभयो ।

काम गर्दा केही नयाँ प्रयोग गर्न खोजेको उहाँको भनाई छ । सुरुमा सिनेमेट्रोग्राफर भएर काम गर्दा दिनभरि काम ग¥यो बेलुका एकैचोटी गएर खाना खाने चलन थियो । त्यसलाई अन्त्य गरी किचन राख्न थालेको उहाँले बताउनुभयो । ‘म अनि हरि हुमागाँइ हामीले किचन राख्ने सिस्टम बनाम भनेर सुर गरेउ । किचन भए सुटिङ गर्ने नत्र नगर्ने भन्न थाल्यौ । खानैकै लागि दुःख गर्ने हो । पहिला पेट भर्ने अनि बल्ल काम गर्ने भनेर । किनकी खाली पेटमा कुनैपनि क्रियशन हुँदैन । क्रियशन गर्न भरी पेट नै हुनुपर्छ भन्ने हिसाबले गर्छौ । आजकाल किचन राख्न थालेपछि सबैले टाइममा खान पाए । स्वास्थ्यको लागि राम्रो हुने भयो’ उहाँले भन्नुभयो ।

म्युजिक भिडियोमा नयाँ प्रयोग गरिरहेका छौँ । भिडियोमा लाइटहरु टन्नै राख्नुपर्छ भनेर गर्न थाल्यौ । राम्रा क्यामेरा प्रयोग गर्न थाल्यो । फिल्म र म्युजिक भिडियोमा प्रयोग हुने क्यामेरा एउटै हुन थाले । म्युजिक भिडियोमा प्रविधिको प्रयोग बढ्दै गएको छ । म्युजिक भिडियो र फिल्म भनेको एउटै हो । जसले राम्रो गर्न सक्छ उही अगाडि बढ्ने हो भन्ने बुझाउदैछौँ ।
अहिले कोरोनाको समयमा सबैलाई म्युजिक भिडियोले बाच्न सहज बनाइदिएको छ । यतिबेला धेरै म्युजिक भिडियो निर्माण भएका छन् । उता फिल्मी क्षेत्र भने ठप्प छ ।

‘फिल्मतिरका मानिसले हामीलाई यो त म्युजिक भिडियोबाट आएको हो यसले गर्न सक्दैन भनेर हेप्ने चलन थियो । कोरोना आएपछि फिल्म लाइनको मानिस म्युजिक भिडियोमा आउनुभएको छ । खुशी लाग्छ । जसले हेप्नु भएको थियो उहाँहरुले म्युजिक भिडियोमा काम गर्नुभयो । अहिले जीत हासील गरेजस्तो लाग्छ’ उहाँले सुनाउनुभयो । पछिल्लो क्रममा म्युुजिक भिडियो २, ३ दिन लगाएर निर्माण गर्ने चलन आएको छ । २५, ३० लाखका भिडियो बन्न थालेका छन् । राम्रो लोकेसन छनोट गरिन्छ । स्थापित कलाकार तथा राम्रो ‘क्र’ु राखेर फिल्म भन्दा कम नगरौ भनेर लागिरहेका छन् । किनभने यतिबेला फिल्मी गीत छैनन् ।

नेपालमा सुटिङ गर्ने राम्रो ठाउँको अझै कमी भएको उहाँ बताउनुहुन्छ । स्टुडियो सबै सुविधा भएको ठाउँ छैन । बेलुका ८ बजेपछि दिन्न भन्यो भने जर्वजस्ती ८ बजे सकाउनुपर्ने हुन्छ । भोलिपल्ट खर्च गर्न सक्दैनन । विग्रिदापनि छोडदेउ भनेर खिचिन्छ । बढी समय दिँदा बजेट कुरा आउँछ । अहिले समय र बजेट बढाउदै गएका छौँ । म्युजिक भिडियोलाई हेर्ने नजर राम्रो हुँदा प्राविधिकलाई सहज बनाएको छ । यो समयमा समेत राहत माग्न परेको छैन । प्राविधिक स्र्पोट व्वाईले काम गरेर दैनिक गुजारा गरिरहेको छन् ।

विगतमा फिल्ममा खेल्ने रहर हुने गरेपनि अहिले फिल्म खेल्ने रहर उहाँको मनबाट हराइसक्यो । आफू खिच्नका लागिनै जन्मिएको हुँ भन्ने धारणा विकास भएको छ । सिनेमेट्रोग्राफर दर्शकको नजरमा खासै नपर्ने गरेपनि उहाँ खुशी हुनुहुन्छ । ‘दर्शकले जसलाई चिन्नुहुन्छ उनीहरुले हामीलाई चिन्छन् । त्यसमानै खुशी लाग्छ । राम्रो गर्दै जाने हो । प्रोडक्ट निकाल्दै जान्छौ । कलाकारले रेक्सपेक्ट गर्नुहुन्छ, दर्शकको नजरमा नपरेपनि खुशी छौँ’ उहाँले सुनाउनुभयो । उहाँलाई म्युजिक भिडियो र फिल्म निर्देशन गर्ने प्रस्ताव समेत आइरहेकाछन् । तर उहाँलाई आफूले गरिरहेको काममानै पोख्त हुँ भन्ने भावना छ । उहाँले सर्ट मुभी, वृत्तचित्र सहित झण्डै ४० वटा विज्ञापन मा काम गरिसक्नुभएको छ ।

स्थापित सिनेमेट्रोग्राफर बन्न सजिलो नभएको उहाँको अनुभव छ । ‘सिनेमेट्रोग्राफर बन्न सजिलो छैन अवसर पाउनको लागि धेरै मेहनत गर्नुपर्छ । भिडियोमा नाम आइदिए भन्ने रहर हुन्छ । नयाँलाई झ्याप्पै काम दिदैनन् । काम देखाए अवसर पाउने हो । सर्घषको बेला निःशुल्क समेत काम गर्नुपर्छ । मैले त्यस्तै गरे’ उहाँ सुनाउनुहुन्छ । घर परिवारकै सर्पोटका कारण निरन्तर काम गर्न सकेको उहाले बताउनुभयो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button