चाडपर्व लक्षित सुपथ मूल्यका पसल बन्द

पोखरा न्यूज । चाडपर्वलाई लक्षित गर्दै कैलालीमा सञ्चालनमा आएको सुपथ मूल्य पसल शनिबारदेखि बन्द भएको छ ।

कैलालीमा असोज १५ गतेदेखि सुपथ मूल्य पसल सञ्चालन गरिएको थियो । स्थानीयले भने सुपथ मूल्य पसललाई चाडपर्वमा मात्र केन्द्रीत नगरी अन्य समयमा पनि सञ्चालन गरिनुपर्ने माग गरेका छन् ।

कैलालीको धनगढी र अत्तरियामा दशैं, तिहार र छठ पर्वलाई लक्षित गर्दै सञ्चालनमा आएका सुपथ मूल्य पसल बन्द भएका छन् । पसल सञ्चालनको अन्तिम दिन शनिबार पनि उपभोक्ताको बाक्लो भीड लागेको थियो । असोज १५ गतेदेखि सञ्चालनमा आएको सुपथ मूल्य पसलबाट १ करोड रुपैयाँ भन्दा बढीको कारोबार भएको साल्ट  ट्रेडिङ कर्पाेरेशन धनगढी शाखाले बताएको छ ।

चाडपर्वको समयमा सुपथ मूल्य पसलबाट ४० हजार बढी उपभोक्ताले लाभ लिएका छन् । शनिबारदेखि सुपथ मूल्य पसल बन्द हुने भएपछि स्थानीयहरु सामान खरिद गर्नका लागि लामो लाइनमा बसेका देखिन्थे । अन्य पसलमा भन्दा सस्तोमा खाद्य वस्तु उपलब्ध हुने भएकाले यो पसल चाडपर्वको समयमा मात्र नभएर सधैका लागि सञ्चालन गरिनुपर्ने माग उनीहरुको छ ।

यस वर्ष सुदूरपश्चिमको धनगढी र अत्तरियामा मात्रै सुपथ मूल्य पसल सञ्चालनमा आएको थियो । सुपथ मूल्य पसललाई अव भने स्थायी बिक्री केन्द्रका रूपमा राख्ने योजना अनुसार काम भइराखेको साल्ट  ट्रेडिङ कर्पोरेशनले जनाएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button